दमौलीमा होली महोत्सव हुने
भञ्ज्याङ समाचारदाता/दमौली

रोटर्याक्ट क्लब अफ दमौलीले विविध कार्यक्रमका साथ चौथो होली महोत्सव गर्ने भएको छ । क्लबले फागु पूर्णिमाका अवसरमा फागुन २२ गते दमौली स्थित खुल्ला चौरमा होली महोत्सव गर्ने भएको हो ।
होली महोत्सव बारे क्लबले बिहीवार दमौलीमा पत्रकार सम्मेलन गरी एक आपसमा रंग आदनप्रदान गर्दै सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी गराए ।
सबै उमेर समूहका मानिसले रमाइलो अनुभुति गर्ने गरी एकै साथ एकै ठाउँमा फागु खेल्ने वातावरण बनाउन हामीले हरेक वर्ष होली महोत्सव आयोजना गर्दै आएका उनले बताए । मनोरञ्जनको माध्यमबाट स्थानीय व्यापार व्यवसायको प्रवर्द्धनमा सहयोग पुर्याउनु पनि होली महोत्सवको उद्देश्य रहेको श्रेष्ठले बताए ।
महोत्सवका अवसरमा विभिन्न रमाइला खेलकुद प्रतियोगिता समेत सञ्चालन गरिने भएको छ । आयोजकका अनुसार रंगसँगै डोरी तान्ने, घैंटो फुटाइ, बासको लिङ्गोबाट भाले झिक्ने लागयतका खेलहरु पनि जोडेर होलीलाई विशेष बनाइने भएको छ ।
स्थानीय जातजातीका सांस्कृतिक कार्यक्रमलाई समेत समावेश गर्ने आयोजकले बताएको छ । साथै ख्याती प्राप्त डिजे तथा व्याण्डको प्रस्तुती समेत रहनेछ । विभिन्न प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट हुनेलाई आकर्षक पुरस्कारद्वारा पुरस्कृत गरिने भएको छ ।










