शुक्लागण्डकी नगरपालिकाले पसलको मापदण्ड बाहिर सामन राख्नेलाई कारबाही गर्ने

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजारका पसलहरुले मापदण्ड भन्दा बाहिर व्यापारीक सामग्री राखे कारबाही गर्ने भएको छ । नगरपालिकाले विहीबार एक सूचना जारी गर्दै आफ्नो व्यवसायिक परिधिमानै रहेर व्यवसाय नगरे कारबाही गर्ने जनाएकोे हो ।
अव्यवस्थित तवरले पसल बाहिर सामान राख्दा सवारी आवगमन साथै पैदल यात्रीलाई समेत बाधा पुगेको हुँदा यस्तो कार्य रोक्न पहिलो चरणमा सूचना प्रवाह गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज चापागाईले बताए ।
नगरको बजार क्षेत्रमा अव्यवस्थित रुपमा मालसामान राख्ने, ठेलागाडा राख्ने, घुम्ति व्यवसाय सञ्चालन गर्नेलाई कारबाही गरिने प्रशासन शाखा प्रमुख युवराज पौडेलले बताए ।
नगरपालिकाले ‘शुक्लागण्डकी नगरपालिकाको बजार निर्देशिका–२०७५’ बमोजिम बजार क्षेत्र अनुगमन गर्दै आएको हुँदा नियम उल्लंघन गर्नेलाई सोही बमोजिम कारबाही हुने उनले बताए ।










