चितवनको माडी, पर्यटन र सोमेश्वर पर्वत
के.बि. मसाल

नेपालीमा आजभोली घुम्ने सस्कार धेरैमा भएको छ। फुर्सदमा घरपविार अथवा साथी भाईहरुसंगको घुमफिरको मज्जा छुट्टै हुन्छ । घुमफिरको प्याकेज बनाउदा कहा जाने ? पुग्ने ठाउमा अध्यन अवलोकनका बस्तु र ठाउ के–के छन र खर्च कति लाग्दछ ? भन्ने कुरा पर्यटकहरुले थाहा भयो भने घुम्नलाई सजिलो पनि हुन्छ । यसरी बनाएको प्याकेज कार्यक्रममा घुम्दा नयाँ कुराको ज्ञान र घुमफिरको अबधिमा मनोरञ्जन समेत लिन सकिन्छ ।
चितवनको देवघाट र सौराह पुगेका धेरै पर्यटकहरुलाई चिवनमा घुम्ने अर्को उपच्यका पनि छ भन्ने कुरा थाहा नहुन सक्छ । चितवनमा राप्ती र रिउ खोलाले बनाएको दुई उपत्यकालाई बिचमा राष्ट्रिय निकुन्जले छुट्टाएको छ । भरतपुर चौबिसकोटीबाट दक्षिणमा माडी उपत्यका ४० कि.मी.को दुरीमा पर्दछ । भरतपुरको चौबीसकोठीबाट दक्षिणतर्फ लागेपछि कृष्णपुर, यज्ञपुरी, प्रेमबस्ती, चोकबजार, गीतानगर, पकौडी, पटिहानी, जगतपुर हुँदै चितवन राष्ट्रिय निकुञ्ज पार गरेपछि आउने उपत्यकानै माडी क्षेत्र हो । माडी उपत्यकामा जाँदा १० कि.मी. निकुञ्जको जंगल पार गर्नु पर्दछ । माडी उपत्यकाको चारैतिर चुरे पहाडले घेरेको छ । चितवनको दक्षिण भेगमा भारतसँग सिमाना जोडिएको माडी उपत्यका पर्यटनका लागि ऐतिहासिक धार्मिकस्थल, थारु संस्कृति जैविक बिबिधता र राष्ट्रिय निकुन्ज पर्दछ ।
चितवनको माडी उपत्यका पुगेपछि पर्यटकहरु नेपाल र भारतको सीमाको सबैभन्दा अग्लो चुरे पर्वत सोमेश्वर गढीमा पुग्न खोज्दछन । सोमेश्वर गढीमा माडीको दक्षिण चुरे पर्वतको नेपाल र भारतको सिमाना दशगजामा पर्दछ । सोमेश्वर गढीको कालिका मन्दिर नेपाल र भारत दुबै देशका नागरिकहरुको आस्थाको केन्द्र हो । पर्यटनको बिकासका लागि ऐतिहासिक सोमेश्वर गढीलाई नेपाल सरकारले एक सय पर्यटकीय गन्तव्यभित्र राखेको छ । आजभोली सोमेश्वर गढी जान सडकको सुबिधा भएपछि पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको छ । सोमेश्वर पर्वतको चुरे पहाड करिवन १०० कि.मी. लम्वाई नो–म्यानस्ल्याण्ड अर्थात भारत तर्फ वाल्मीकि टाइगर आरक्षण र पश्चिम तर्फ चम्पारण पर्दछ ।
नेपाल तर्फ चितवन राष्ट्रिय निकुञ्ज पर्सा निकुञ्ज र ठोरी गाउँपालिकाको सिमा पर्दछ । सोमेश्वर पर्वत ऐतिहासिक स्थल हो। इतिहासमा रुचि राख्ने पर्यटकहरु सोमेश्वर पर्वतको बारेका इतिहास खोज्दछन। इतिहासमा लिच्छवि काल प्राचीन नेपालमा सन् ४०० देखि ७५० सम्म करिव ३५० वर्ष रहेको छ । नेपाल प्रवेश गर्नु अघि लिच्छविहरुले बिहार राज्यको गंगा नदीको उत्तरमा बैशालीमा राज्य चलाएका थिए। कौटिल्यको अर्थशास्त्र अनुसार तथा चिनियाँ यात्री हुयान साङको यात्रा वृत्तान्त अनुसार वैशालीबाट भागेर आएका सोम वंशी केही वीर पुरुषले सुर्य वंशी किराँतहरुलाई खेदेर लिच्छवि वंशको स्थापना गरेका थिए । चाँगुनारायण मन्दिरको अभिलेख अनुसार मानदेव लिच्छवि वंशका प्रथम ऐतिहासिक राजा थिए । लिच्छवि कालमा सोमेश्वर पर्वत नेपाल–भारतको प्रमुख व्यापार नाकाका रुपमा रहेको थियो । काठमाडौंमा लिच्छवी वंशको शासन शुरु भएपछि लिच्छवि राजा मानदेवले तत्कालीन मल्लपुरी आक्रमण गरी काठमाडौँ फर्कने क्रममा माडीमा थारु जातिको बसोबास गराएका थिए । चितवनमा सुरुमा मानिसहरुको बसोबासको सुरुवात माडी क्षेत्रबाट भएको मानिन्छ ।
पछि पाल्पाका राजा मुकुन्द सेनले माडी क्षेत्रलाई आफ्नो बनाए पछि सोमेश्वर पहाडमा गढी निर्माण गरेका थिए। नेपाली बृहत शब्दकोशमा गढी शब्द गढबाट बनेको उल्लेख छ । गढको अर्थ लेखिएको छ प्राचीन राज्य–व्यवस्थामा सुरक्षाको बन्दोबस्त मिलाउने ठाउँ वा गौंडो, सेना वा हातहतियार तैनाथ गरिएको ठाउँ, गढी, किल्ला, दुर्ग आदी भन्ने छ। अहिले गढीको शिरमा नेपाल–भारतको ४५ नम्बरको सीमा स्तम्भ रहेको छ । स्तम्भदेखि करिब पाँच सय मिटरको दूरीमा सोमेश्वर कालिकाको मन्दिर छ। मन्दिरकै आसपासमा पहिले गढी रहेको मानिन्छ। गढीको केही अवशेषहरु त्यहाँ देखिए पनि पुरातत्व विभागले उत्खनन भने गरेको छैन। अहिले पनि सोमेश्वर पर्वतमा विभिन्न किसिमका हातहतियार, भाँडाकुँडा तथा ढुंगामाटाका आकृतिहरु फेला पर्ने गरेको छ । नेपाल र अंगे्रज बीच लडाइँको समयमा अंग्रेजी सेना रोक्नका लागि गढी निर्माण गरी नेपाली सेना तैनाथ गरिएको थियो । तर पछि पानीको समस्याले गर्दा सेनालाई त्यहाँबाट उपरदाङगढी सारिएको इतिहास छ । माडी नगरपालिकाले २०७५ सालमा सोमेश्वर गढीको पर्यटन विकासका लागि उद्यान, सूचना घरदेखि हेलिप्याड, भ्यूटावर, मन्दिरहरु निर्माण गर्ने गुरुयोजना तयार पारेको थियो । तर हाल सम्म ति योजनाले पूर्णता पाएको छैन ।
सोमेश्वर पर्वतको शिरमा रहेको कालिका मन्दिरमा चैते दसैंमा तीर्थाटन पर्यटकहरुको घुइँचो लाग्छ । राम नवमीका दिन कालिका मन्दिरको दर्शन गर्न ठूलो संख्यामा भारतीय तीर्थाटनका पर्यटकहरु सोमेश्वर कालिका मन्दिरमा आउने गर्दछन। मौसम सफा भएको बेला सोमेश्वर पहाडबाट पर्यटकहरुले हिमश्रृंखला समेतको अवलोकन गर्न सक्दछन । सोमेश्वरगढी चरा अवलोकनका लागि पनि धेरै पर्यटकहरु समेत पुग्ने गर्दछन । आजभोली सोमेश्वरगढी पुग्ने पर्यटकहरुले बाटोको दावा बाया छेउमा ढुंगाका शिव र पार्वती लगायत अन्य धेरै आकृतिका मूर्तिहरु देख्न सक्दछन। चर्चित मूर्तिकारहरुले कुँदेका ती मूर्ति देख्दा पर्यटकहरुलाई अचम्म मान्दछन । कोहिले फोटो खिच्दछन, कोही टिकटक र भिडिओ बनाउन आतुर देखिन्छन । माडी उपत्यका चितवन राष्ट्रिय निकुञ्जले तीनतर्फ र दक्षिणमा सोमेश्वर पर्वतले घेरिएको छ । वरिपरिबाट वनले घेरिएको माडी नगरपालिका हरियाली र मनोरम छ । प्रकृतिले सिँगारेको माडी उपत्यका पर्यटनको हब बन्दै गएको छ । माडी क्षेत्रको वनजंगल, ताल, मठ–मन्दिर, ऐतिहासिक, धार्मिक स्थल, थारु बस्ती र उनीहरुको संस्कृति, तरकारी तथा फलफूल खेती, माछापालन, रेशम खेती आदि पर्यटकका लागि आकषर्णका केन्द्र बनेका छन ।
माडीको कल्याणपुरमा रहेको शहीद स्मारक टावरबाट समग्र माडी र पश्चिम चितवनका धेरै भूगोल अवलोकन गर्न सकिन्छ। रातको समयमा टावरबाट बस्तीहरुमा बलेका बत्तीहरु हेर्दाको आनन्द पर्यटकहरुलाई छुट्टै हुन्छ । माडी उपत्यका भित्र पर्ने जंगलमा घुम्दै विभिन्न चराचुरुङ्गी र जंगली जनावारहरु देख्न पाइउदा पर्यटकहरु रमाउछन । माडी क्षेत्र तीर्थाटन पर्यटकहरुलाई पनि उत्तिकै महत्व मानिन्छ । माडी क्षेत्रमा गोद्धकधाम, पाण्डवनगर गाउँ, वाल्मीकी आश्रम, सोमेश्वरगढी, गर्दी र बघौडाका थारु गाउँ, वैकुण्ठे ताल, चमेरे गुफा, रेवापारिको सिमरा गाउँ, गोपालनगरको माछापालन, लक्ष्मीनिवास गाउँ आदि रहेका छन । जुन कारणले पर्यटनका लागि माडी एउटा सानो खुल्ला संग्रहालय जस्तो मानिन्छ। अयोध्यापुरीको जंगल क्षेत्रभित्र पर्ने रमाइलो डाँडाबाट मेघौली र आसपासका केही क्षेत्र देख्न सकिन्छ । कल्याणपुर गाउँको गोपालनगरमा रहेको पाँच सय क्षेत्रफलमा फैलिएको माछापोखरी पनि आजभोलि पर्यटकीयस्थल बनेको छ ।
माडी नगरपालिका बागमती प्रदेशको चितवन जिल्लामा पर्दछ । चितवनको साबिक बघौडा, गर्दी, कल्याणपुर र अयोध्यापुरीलाई समेटेर माडी नगरपालिका भएको हो । अहिले माडी नगरपालिकाको केन्द्र भने बसन्तपुर बजार रहको छ । माडीभित्र गोद्धक, छरछरे, गोविन्देश्वर महादेव, वैकुण्ठ ताल, परशुराम कुण्ड, रेवा नदी, कुकुरनाथ, बिरालोनाथ आदि धार्मिक महत्वका स्थान, ताल, नदी, र मन्दिर रहेका छन । गर्दीमा रहेको पाण्डवनगर पनि नेपालकै मुख्य धार्मिक स्थलमा पर्दछ । युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल, सहदेव र द्रौपदी रेवा नदी किनार आई बसेका हुनाले नै त्यो ठाउँलाई पाण्डवनगर भनिएको हो भन्ने धार्मिक मान्यता छ। यहाँ अझै पनि अर्जुनले वाणले खोपेर बनाएको भनिने इनार र उनीहरुका मूर्तीहरु देख्न सकिन्छ। अयोध्यापुरीमा रहेको वैकुण्ठ ताल पनि पवित्र धार्मिक स्थल मानिन्छ । जहाँ वैशाख शुक्ल पूर्णिमा र बालाचतुर्दशी गरी वर्षको दुई पटक मेला लाग्ने गर्दछ । जुन ठाउँ भगवान गौतम बुद्धले पनि एक रात बिताएका स्थल मानिन्छ ।
माडी क्षेत्रको वाल्मीकी आश्रम नेपालकै एक मुख्य धार्मिक स्थल हो। तर वाल्मीकी आश्रम पुग्न भने माडी उपत्यकाबाट भन्दा सजिलो यात्रा नवलपरासीको बरघाट हुँदै त्रिवेणी भएर जादा सजिलो हुन्छ। माडी नगरपालिका वडा नम्बर १ बरुवा बजारबाट २३ किलोमिटर पश्चिम चितवन राष्ट्रिय निकुञ्जबाट चुरे पर्वतमा रामायणमा उल्लेखित वाल्मीकि आश्रम रहेको छ । त्यसैगरी त्रिवेणीधामबाट दुई किलोमिटर पूर्व पर्ने ऐतिहासिक धार्मिक केन्द्र वाल्मीकि आश्रममा हरेक भग्नावशेषहरुले तीर्थयात्रीलाई उत्सुकता प्रदान गर्दछ । यहाँ वाल्मिकी, लव, कुश, सीता, हरिहरनाथका मन्दिरहरु, मन्दिरको भित्री पर्खालमा शिवलिङ्ग, बराह अवतार, नवग्रह, विष्णु, लक्ष्मीनारायण, बामन अवतार, हनुमान आदिका प्रस्तर मूर्तिहरु राखिएका छन । यसैगरी अग्निकुण्ड, सीतावाटीका, लवकुश पाठशाला, यज्ञशाला, गौशाला, धर्मशाला आदि विभिन्न रुपका भग्नावशेषहरु वाल्मीकीका सम्पदाहरु हुन । वाल्मीकि आश्रममा भारतीय पर्यटकहरुको समेत पुग्ने गर्दछन ।
धेरै पर्यटकहरु माडी पुगेपछि ठोरीमा पुग्न खोज्दछन । चितवनको सदरमुकाम भरतपुरबाट ६८ र पर्साको सदरमुकाम विरगंजबाट ७० किलोमिटरको दुरीमा रहेको ठोरी अहिले पर्सा जिल्लामा पर्दछ। जुन चितवनको माडी नगरपालिकासँग जोडिएको छ । ठोरी नेपालको राजनीतिमा ऐतिहासिकस्थल मानिन्छ । माडी उपत्यकाबाट ठोरी जान ९ कि.मी. निकुञ्ज भित्रको सडक यात्रा गर्नु पर्दछ । ठोरी लौहपुरुष गणेशमानको जीवनका महत्वपूर्ण घटनासँग जोडिएको स्थल पनि हो । गणेशमान सिंहले धनुर्वाणको प्रशिक्षणदेखि राजनीतिक प्रशिक्षण दिएको स्थलको रुपमा ठोरीको इतिहास छ । राणा शासन विरोधी अभियानको क्रममा पेस्तोलसहित सिंह ठोरीबाटै पक्राउ परेका थिए। राणा र पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा पटकपटक ठोरी पुगेका सिंहले मुलुकमा प्रजातन्त्र बहाली भएपछि आफैंले इच्छाएर ठोरीमा आमसभा राख्न लगाएका थिए । त्यो बेलामा काठमाडौं मकवानपुर–ठोरी र गोरखा, तनहुँ र चितवन–ठोरी क्रान्तिकारीहरुको भूमिगत पैदल मार्ग थियो ।
बि.स. १९८५ बाट ठोरीमा बस्ति शुरु भयो भने २०२१ सालबाट पहाडी जिल्लाका विभिन्न ठाउँबाट ठोरीमा आएर बसोबास गरेका थिए। ठोरीको निर्मलबस्ती २०३४ साल अघि चितवन जिल्लामा थियो। सदरमुकाम भरतपुरबाट त्यस समय ठोरी पुग्न हिडेर जानुपर्ने थियो । चितवन राष्ट्रिय निकुन्जमा जिवजन्तुको डर, राप्ती, रेवा जस्ता नदीले गर्दा ठोरी पुग्न कठिन थियो । ठोरी ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल हो । ठोरी पर्सा जिल्लाको पश्चिममा पर्दछ । अहिले ठोरी गाउँपालिकामा पर्दछ । ठोरी गाउँपालिकाको पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज, पूर्वमा जिरा भवानी गाउँपालिका, उत्तरमा चितवन र पर्सा राष्ट्रिय निकुन्ज तथा दक्षिणमा छिमेकी मुलुक भारतको विहार राज्य पर्दछ । विगतको इतिहासमा ठोरीदेखि मध्य पहाडी तथा हिमाली क्षेत्रसम्म नुन तेल किनमेल गर्ने नाका थियो। त्यसैले ठोरीलाई नुन थलोको रुपमा पनि लिने गरिन्छ । त्यो समयका तनहुँ, लमजुङ, गोरखा र धादिङ जिल्लाका मानिसहरुको नुनतेल र अन्य आवश्यक सामग्री खरिद गर्ने नाकाको रुपमा पनि ठोरी थियो । ठोरीदेखि पूर्वतर्फ वीरगंज नाकाको विस्तार भएपछि यो ठाउँ विस्तारै ओझेलमा पर्न गयो ।
ठोरी मिनी उपत्यका पनि हो। तराई क्षेत्र भएपनि ठोरी क्षेत्रमा रहेका सिनेही पर्वत, गोलेडाँडा, सेतो पहाड, उत्तरतर्फ चुरे श्रृंखला र दक्षिणतर्फको संसारी डाँडाका भएका कारण प्राकृतिक दृष्टिले ठोरी धनी मानिन्छ। ठोरीको प्राकृतिक मनोरम क्षेत्र घुमफिरका लागि विशेष गरेर आजभोलि दैनिक सयौँको संख्यामा भारतीय पर्यटकहरु पुग्ने गर्दछन । ठोरीको रानीवन, राइधारा, अमृतधारा, क्यामुनाघारी, बुलबुले, गोलेडाँडा, सिनेहीपर्वत, सेतापहाड पर्यटकहरुका लागि आकर्षणका केन्द्र हुन। धार्मिक रुपले वनशक्ति मन्दिर, बाघमोर्चामाई मन्दिर, सिद्धेश्वर मन्दिर, सीता गुफा, कृष्णमन्दिर लगायतका मन्दिरहरु ठोरीमा तीर्थाटन पर्यटकहरुको लागि गन्तव्य बनेका छन । ऐतिहासिक रुपले गणेशमान पार्क, मनमोहन पार्क पनि पर्यटकहरुका लागि घुमफिरका स्थल भएका छन ।
माडी उपत्यकामा घुमफिर गर्दा बस्ने खानेको कुनै समस्या पर्दैन। पर्यटकहरूलाई सेबा दिन होमस्टे सञ्चालनमा आएका छन । माडी नगरपालिका–८ शिवद्वारमा मगर समुदायले ०७२ सालदेखि होमस्टे सञ्चालन गरेका छन् । शिवद्वारमा ११ वटा घरमा होमस्टे सञ्चालन गरी पर्यटकहरूलाई पारिवारिक वातावरणमा राख्ने गरिन्छ । वन्यजन्तु, वनजंगल, प्राकृतिक सुन्दरता र संस्कृति हेर्न जाने पर्यटकहरूलाई होमस्टेले सुविधा दिएको छ । बाह्य पर्यटकहरू लुम्बिनी, पोखरा घुमेपछि माडी पुग्ने गर्दछन । होमस्टेमा बस्ने, स्थानीय संस्कृति हेर्ने, गाउँघरको जनजीवन अवलोकन गर्न पाउदा पर्यटकहरू खुशी हुन्छन् । शिवद्वारमा मात्र होइन माडीकै पाण्डप नगरमा पनि बोटे जातीले होमस्टे सञ्चालन गरेका छन ।
कसरी पुग्ने ?
माडी उपत्यका घुमफिर गर्न भरतपुरको चौबिसकोटीबाट सार्वजनिक बस तथा साना गाडीहरु समेतको सेवा छ । माडीको वसन्तपुर बजारबाट करिव ११ किमि यात्रा पछि सोमेश्वर फेदी पुगिन्छ ।