राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती

के.बि.मसाल

पुस २७ गते पृथ्वीनारायण शाहको जन्म दिन आयो कि प्रत्येक वर्ष, कोही उनको पक्ष र कोही उनको विपक्षमा एक पक्षीय कुरा गर्छन् । यी दुई पक्ष–विपक्षका कुराहरु नेपाली राष्ट्रियता र समावेशी संस्कारको सन्दर्भमा बडो संवेदनशील चर्चा भएको हुन्छ । पृथ्वीनारायण शाहका पक्षधरहरुले उनलाई र उनको कार्यलाई राष्ट्रिय एकीकरणकर्ता र राष्ट्रिय एकीकरणको काम भन्ने गर्छन् । भने उनको विपक्षमा कुरा गर्नेहरुले पृथ्वी नारायणले गोर्खा राज्यको विस्तार गरेको मात्र हो, राष्ट्रिय एकीकरण गरेको होइन भन्छन । अझ भनौँ भने पुर्वाग्रहबाट प्रेरित भई इतिहासको सत्यतथ्यलाई समेत ओझेलमा पारेर वा अतिरञ्जित गरेर आ–आफ्ना तर्कहरु प्रस्तुत गर्छन । जसले गर्दा पृथ्वी नारायण शाह र उनको कार्यको कुरालाई यथार्थमा बुझ्न अलमल पर्छन् र बुझे पनि भ्रममा पर्छन ।

मुलुक गणतन्त्रमा पुगेपछि भने शाहप्रति दुई थरी विचार सतहमा नै देखिएको छ । एकथरी भन्छन् उनी मुलुक एकीकरण गरेर आफूलाई राष्ट्र निर्माता बन्न सफल भए भने अर्को थरीले उनलाई पहिचान विरोधी तानाशाहको रुपमा चित्रित गरेका छन् । तर गणतन्त्र आएपछि पृथ्वीनारायण शाहको अवमूल्यन भयो । नेपालका धेरै शहर बजारका चोकहरुमा राखिएका पृथ्वीनारायण शाहका सालिक फुटाइए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, गृहमन्त्री कृष्णप्रसाद सिटौला गृहसचिव उमेश मैनालीलगायतले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको अपमान गर्दै राष्ट्रिय एकता दिवस खारेज गरे । यसो गर्नमा विशेषतः माओवादी र क्रिश्चिनरी मिसनको मुख्य हात थियो । पृथ्वीनारायण शाहले केपुचिन पादरीलाई क्रिश्चियन धर्म प्रचार गर्न नदिई उपत्यकाबाट लखेटेका थिए । त्यहि कारण क्रिश्चियनहरुले पृथ्वीनारायण शाहलाई अपमान गर्न तत्कालीन सरकारलाई समेत प्रभावमा पार्न सफल भए । गणतन्त्रमा खारेजीमा परेको एकता दिवस आम जनदवाव पछि केहिबर्ष अगाडी देखि पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने चलनलाई ब्युँताउँदै सरकारले पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन थालेको छ ।

विगत नै वर्तमानको आधार हो । तर गणतन्त्रवाद आत्मसात गर्ने कतिपय मानिस विगतलाई स्वीकार्न तत्पर छैनन । यसले गर्दा पनि राष्ट्रिय एकता दिवस मनाउन राज्यले कज्युस्याईं गरिरहेको छ । कसैकसैको मान्यता छ, एकता दिवस र पृथ्वी जयन्ती मनाउनु भनेको शाहवंश वा राजतन्त्रलाई प्रवद्र्धन गर्नु हो । दिवस र जयन्ती मनाउने सन्दर्भलाई शाहवंशको जगेर्ना र राजतन्त्र फर्काउनेसँग जोडनु गलत बुझाइ हो । पृथ्वीनारायण शाह नेपाल र नेपालीहरुका गौरव हुन् । विशाल–नेपाललाई उनले एकीकरण गरेर यस क्षेत्रका स–साना हिन्दु राज्यहरुको अस्मिता जोगाए । अहिले हामी नेपाली भएको र नेपाल सार्वभौम राष्ट्र भएको जुन गर्व गर्छाैं त्यो पृथ्वीनारायण शाहकै देन हो ।

नेपालमा समावेशी राजनीतिक, सामाजिक र सांस्कृतिक चेत जगाउने समय सापेक्ष दृष्टिकोण उनैले उत्तिबेलै प्रक्षेपण गरेका थिए । समय बदलियो, राजनीतिक सन्दर्भ बदलिए, सत्तामा पुग्नेहरु, शक्तिमा रम्नेहरुको अनुहार बदलियो । योसंगै नेपालको एकीकरणको आधार भत्काउने काम भए, राष्ट्रिय एकता छिन्नभिन्न पार्ने काम भए । यसको सुरुवात पृथ्वीनारायण शाहको सालिक भत्काउने, उनको जन्मोत्सव नमनाउने, उनलाई राजतन्त्रको जननीका रुपमा अपव्याख्या गर्दै उनले नेपाल राष्ट्र बनाउन र नेपाली जनतालाई एकताको सूत्रमा बाँध्न निर्वाह गरेको भूमिकाको अपव्याख्या गर्दै घृष्णा पैदा गराउने काम राजनीतिक तहबाट भयो । यसैको प्रतिफल हो भन्दा पनि हुन्छ नेपालमा अहिले उत्पन्न जटिल परिस्थिति, राष्ट्रिय भावना मर्दै गएको दुर्दान्त स्थिति, जातीय सदभाव विथोलिएको परिस्थिति भन्दा पनि हुन्छ ।

इतिहासको अर्काे पाटो के छ भने लिच्छवीकालमा नेपाल विशाल थियो । मध्यकालमा आएर विशाल नेपाल खण्डित हुँदैगयो र कमजोर भयो । यो भूखण्ड बाइसे–चौविसे राज्यमा विभक्त हुनपुग्यो । तर पृथ्वीनारायण शाहले नेपाल रक्षाको आत्मबोध गरी विखण्डित नेपालको पुनः एकीकरण गरे । एसियाकै पहिलो स्वतन्त्र राष्ट्रका रुपमा यो देशको अस्मिता जोगाए । विगतमा पृथ्वीनारायण शाहले विच्छिन्न नेपाललाई एकीकृत गरेर यो देशको स्वतन्त्र अस्तित्व जोगाएका थिए । सो कठिन सत्कार्यका लागि जनताको साथ लिएका थिए । उनको दूरदृष्टि र आत्मबललाई जनताले साथ दिएका थिए । सानो गोर्खा राज्यबाट विशाल नेपालको पुनः एकीकरण त्यसैको परिणाम थियो । यतिखेर नेपालमा राष्ट्रियताको विषय दलअनुसारको फरक र राजनीतिक स्वार्थसंग जोडने गरेको छ । नेपालमा राष्ट्रियता बचाउने आन्दोलनले मूर्तरुप लिनै पाएकै छैन । अहिले राष्ट्रिय एकता खलबलिएको अवस्था छ । समग्र मुलुकको अस्तित्वसंग कसैले पनि आफूलाई जोडन चाहेका छैनन् । भाषा, संस्कृति, भेष भुषा जेजस्तो भए पनि हामी नेपाली हौं भन्ने भावनाको विकास हुन सकेको छैन । जातजातिबीच रहेको सौहार्दपूर्ण सम्बन्ध कटुतामा परिणत भैरहेको बेला विदेशीले चलखेल गरिरहेका छन् । सीमा मिच्ने क्रम रोकिएको छैन । राजनीतिक हस्तक्षेपको त कुरै नगरौं । सत्तामा बस्दा विदेशी हस्तक्षेपलाई सहयोग ठान्नेहरु विपक्षमा बस्दा त्यसलाई हस्तक्षेप नै हो भन्ने गर्दछन् । सत्तामा रहँदा र नरहँदा राष्ट्रियताको विषय नै फरक हुने गरेको छ ।

मुलुक संगीन परिस्थितिमा पुगिरहेका बेला राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायण शाहको स्मरण गर्नु हरेक नेपालीको कर्तव्य हो । छिन्नभिन्न रहेको नेपाललाई एकीकृत गरी बेलायती साम्राज्यवादबाट बचाएको नेपालको इतिहासको अर्काे पाटो के छ भने पन्ध्र सय वर्ष अगाडि पनि विशाल नेपाल थियो । समयक्रममा विशाल नेपाल खण्डित हुँदैगयो र कमजोर भयो । यो भूखण्ड बाइसे–चौविसे राज्यमा विभक्त हुनपुग्यो । तर पृथ्वीनारायण शाहले नेपाल रक्षाको आत्मबोध गरी विखण्डित नेपालको पुनः एकीकरण गरे एसियाकै पहिलो स्वतन्त्र राष्ट्रका रुपमा यो देशको अस्मिता जोगाएका हुन् । अहिले नेपाललाई विच्छिन्न अवस्थामा पु¥याउने, यो देशको सार्वभौम अस्तित्वमाथि नै धावा बोल्ने र राजनीतिक, सामाजिक, सांस्कृतिक सद्भाव तोड्ने उत्कर्षमुखी गतिविधिहरु निर्देशित रुपमा परिचालित भैरहेका छन । नेपालको राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकता जोखिममा पर्दैगएको चिन्ता अहिले सर्वत्र जागेको छ । यस्तो चिन्ता उत्पन्न हुनुको पछाडि नेपालका सत्ता प्रतिको मोह राजनीतिक नेताहरुको आन्तरिक राजनीतिक समस्याको निराकरण र परिवर्तनका लागि बाहिरी शक्तिलाई गुहार्ने परनिर्भरतावादी सोच नै प्रमुख कारण छ ।

केही समयदेखि पृथ्वीनारायण शाहलाई राज्यले बिर्सिएको छ तर यो होइन कि जनस्तरमा पनि उनलाई बिर्सिने काम भएको छ । जनयुद्धको १० वर्षे कालखण्डमा तत्कालीन माओवादीले नुवाकोटको देवीघाटमा रहेको पृथ्वीनारायण शाहको शालिकमाथि तोडफोड र बम हान्ने समेत काम ग¥यो, गोरखामा पनि यस्तै काम भए तर ती भत्काइएका शालिकहरु आज पुनः ठडिएका छन् । राज्यले पुनर्निर्माण नगरे पनि जनस्तरबाटै उनीप्रति भावपूर्ण आस्था राख्नेहरुको कमी छैन । यस्तै राजनीतिक स्तरमा एउटा तत्वले बिर्सिए पनि अन्य धेरै पक्षले सम्झिरहेकै छन । पछिल्लो समय पृथ्वीनारायणप्रति पूर्वाग्रह राखेर आफ्नो राजनीतिक जीविका चलाउने संस्कार नेपाली नेतामा विकसित हुँदा नेपाल र नेपालीका लागि आजीवन संघर्ष र बलिदान गर्ने राजा पृथ्वीनारायण शाहलाई अपमानित बनाइएको छ । विदेशी आईएनजीओ र पादरी कर्क प्याट्रिकहरुले लेखेका अनि लगाएका झूटा आरोपहरुलाई तथ्य मानेर पृथ्वीनारायण शाहले कीर्तिपुरका जनताको धार्नीका धार्नी नाक कान काटयो रे भन्नेहरु आज देशका सत्तामा रहेका छन् । जबकि त्यतिका धार्नी नाक कान हुन पुग्नुपर्ने जनताको संख्या नै त्यतिबेला कीर्तिपुरमा नभएको विद्वानहरुको भनाइ छ ।

विद्वान् एवं प्राचीन संस्कृति र इतिहासका अध्येता डा. रामेश ढुंगेल भन्छन– पृथ्वीनारायण शाहको राष्ट्र निर्माण अभियानलाई साम्राज्यवादी राज्यविस्तारका रुपमा एकात्मक ढोल पिटनु र चित्रण गर्नु अन्यायपूर्ण हुन्छ । उनका अनुसार तात्कालिक परिवेश, उनका नीति तथा क्रियाकलापले गर्दा पृथ्वीनारायण शाह एउटा राजा मात्र नभई राष्ट्र निर्माता तथा भविष्यद्रष्टा युग पुरुषका रुपमा देखिन्छन् । पृथ्वीनारायणकालीन समाज आजभन्दा झण्डै तीन सय वर्षअघिको हो । त्यतिबेलाको अविकसित कालखण्डमा पनि एकताको आह्वान गर्दै आजको नेपालको परिकल्पना गरेर त्यसलाई कार्यान्वयन गर्ने सोच र व्यवहारकै उपज आज हामी आफूलाई नेपाली भनेर गर्व गरिरहेका छौँ । उनको उल्लेखनीय योगदानले नै आजको नेपालको सृजना भएको हो । भुरेटाकुरे राज्यलाई विस्तार गरेर अंग्रेजी साम्राज्यको अगाडि कहिल्यै घुँडा नटेकेका पृथ्वीनारायणको साहस नै आजको नेपाली राष्ट्रियता र विश्वमानचित्रमा कोरिएको नेपालको सगौरव नक्साको परिचायक हो । जहिल्यै पनि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो देख्ने राज्यव्यवस्था मात्रै जनताको लागि उपयुक्त शासनपद्धति हुन्छ । पृथ्वीनारायण शाहले उठाएको भाला तरबारलाई कांग्रेसले प्रजातन्त्रअघि उठाएको हतियार र तत्कालीन माओवादीले १० वर्षसम्म गणतन्त्रका लागि मच्चाएको नरसंहारसँग कुनै पनि हालतमा तुलना गर्नै मिल्दैन ।

पृथ्वीनारायण शाहले गुरिल्ला युद्धद्वारा नेपाल एकीकरणको आरम्भ गरे । यस अभियानको नेतृत्व उनले गरे । बिसे नगर्चीदेखि कालु पाँडे समेतले उनको एकीकरण अभियाननलाई साथ दिए । नेपालमा सैनिक संरचनाको सुरुवात पनि उनले गरे । एकीकरण अभियान उनले एक्लै गरेका होइनन । उनलाई जनताले पनि साथ दिएका थिए । भलै उनले नेपाल एकीकरणको नाम दिएर युद्ध लडेनन राज्य विस्तार गरे । त्यही राज्य विस्तार अभियान नै नेपाल एकीकरणको ऐतिहासिक अभियान थियो । आज हामीले टेकेको धर्ती उनकै नेतृत्वमा भएको जनबाहुबलको परिणाम हो । पृथ्वीनारायण शाहको राज्य विस्तारको अभियानलाई खुनी हमला देख्नेहरु उनलाई द्रव्यपिसाचका रुपमा व्याख्या गर्नेहरु, विलासी एवं क्रुर शासकको रुपमा उनको व्याख्या गर्नेहरुले नेपाल राष्ट्रको एकतालाई खारेज गर्नुपर्ने भाषाहरु परोक्ष रुपमा बोलिरहेका छन । अर्थात फेरि जातीय राज्यहरूको अस्तित्व स्थापित हुनुपर्ने घुमाउरो तर्क गरिरहेका छन । लोकतन्त्रको प्राण नै कानुनी राज्यको अवधारणाको सफल कार्यान्वयन हो । हाम्रो इतिहास र परम्परालाई हेर्ने हो भने राजा राम शाह, राजा जयस्थिति मल्ल, राजा महेन्द्र मल्लका पालादेखि नै न्याय र कानुनको समुचित व्यवस्था गरी जनतामा रीतिस्थिति सञ्चालन भइरहेको र न्याय एवं कानुनको क्षेत्रमा राज्यहरु पूर्ण रुपले विकसित अवस्थामा रहेको पाइन्छ । पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरण गरी जनतालाई सुशासनको प्रत्याभूति गराएका थिए । उनको सिंगो जीवन सिपाही सरह युद्ध मोर्चामा बिते पनि उनले अदालत, न्याय र कानुनको क्षेत्रमा आस्था राखी कानुनी राज्यको अवधारणालाई पूर्णरुपमा लागू गर्न प्रयत्नशील रहेको इतिहासले बताउँछ ।

पृथ्वीनारायण शाहको दिव्योपदेशले प्रमाणित गर्छ कि उनले अदालतको संगठन, कानुनको निर्माण र न्याय सम्पादनमा विशेष नीति निर्देशन कायम गरी न्यायप्रति आस्थावान राजाका रुपमा शासन सञ्चालन गरेका थिए । अदालतको संगठन सम्बन्धमा पृथ्वीनारायणको उपदेश थियो– अदालतमा पनि ठकुरी जाँची डिठ्ठा राख्नु, मगर जाँची विचारी थाप्नु, कचहरीपिच्छे एक एक पण्डित राखी न्यायशास्त्र बमोजिम अदालत चलाउनु । यसरी ठकुरी, क्षेत्री, मगर अर्थात वैश्य पण्डित ब्राह्मण तीनै जातको गुण कर्म विभागका आधारमा नै श्रीमदभागवत गीताको उपदेशको आधारमा अदालतको जनशक्ति निर्माण गरी अदालतको संगठन गर्नुपर्ने उनको सिद्धान्त देखिन्छ । यसका साथै दिव्योपदेशमा ‘निआशास्त्र बमोजिम अदालत चलाउनु भनिएको छ । यसरी संविधान र कानुनको कार्यान्वयन भएमा न्यायिक अराजकता, अन्याय, पक्षपात र दूषित निर्णय र फैसला हुने कुनै गुन्जाइस रहँदैन । यसैलाई भनिन्छ विधिको शासन । यदि पृथ्वीनारायण शाहले भनेजस्तो निआशास्त्र बमोजिम अदालत चलेको भए नेपालको कानुनी इतिहासमा विवादमा न्यायलय तानिने नै थिएन ।

पृथ्वीनारायण शाहले न्यायपालिकाको संगठन र न्याय सम्पादनमा विधिशास्त्रसम्मत व्यवस्था मात्र गरेनन, त्यही सिद्धान्तलाई मध्यनजर राखी न्यायपालिका र शासन व्यवस्थामा भ्रष्टाचार र घूसखोरीलाई समेत निषेध गरेका थिए । यदि न्यायपालिका र शासन व्यवस्थामा भ्रष्टाचार र घूसखोरी बढयो भने त्यसले न्याय कानुन र शासन व्यवस्थालाई नै समाप्त पार्छ भन्ने कुरामा उनले गम्भीरतापूर्वक सतर्कता र निगरानी राखेका थिए । तब राजाले ठूलो न्याय निसाफ हेर्नु, अन्याय मुलुकमा हुन नदिनु, नियाँ निसाफ बिगान्र्या भन्याको घुस दिन्या र घुष खान्या हुन, ईन दुईको ता जिउधन गरिलियाको पनि पाप छैन, इ राज्यका महासतुर हुन भन्ने दिव्योपदेशबाट राज्य र न्यायपालिकालाई भ्रष्टाचारको घेराबाट मुक्त राख्नुपर्ने अनिवार्यतालाई विशेष जोड दिएको देखिन्छ । यदि उनको दिव्योपदेशको अनुशरण गर्ने हो भने न्यायपालिका मात्र होइन सम्पूर्ण प्रशासन र शासन संयन्त्र नै भ्रष्टाचारको दलदलमा फस्ने थिएन ।

पृथ्वीनारायण शाहको गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए । वि.सं. १७७९ मा यिनको जन्म भएको थियो । वि.सं. १७९९ मा नरभुपालको मृत्यु पछि बिस बर्षको उमेरमा पृथ्वी नारायण शाह गोरखाका राजा भएका थिए । यिनले नै साना साना राज्यहरुमा विभाजित नेपाललाई एकिकृत गर्न शुरु गरे । हुन त पृथ्वी नारायण शाह अगाडी पनि उपत्यकाका राजा यक्ष मल्ल पाल्पाका राजा मणीमकुन्द सेन तथा जुम्लाका राजा जितारी मल्लका पालमा एकीकरण भएको थियो तर एकीकृत नेपाललाई ती राजाहरुले लामो समय बचाइ राख्न सकेनन । ती राजाले एकीकृत भएको राज्य आफ्ना भाइ छोरा हरुमा आफ्नै जीवनकालका बाडेर थिए । वि.सं. १८३१ मंसिरको मध्यतिर नुवाकोट दरबारमा पृथ्वीनारायण बिमारी भए र स्वास्थ्य अवस्था बिग्रदै गयो । दरवारमा वैद्यहरुको उपचारबाट सन्चो नभए पछि पृथ्वीनारायणको इच्छाअनुसार देवीघाट लगिएको थियो । नौ दिनसम्म देवीघाटममा जलाश्रयमा राखियो । अनन्त पुस २७ गते बिहान सात बजे ५२ वर्षको उमेरमा पृथ्वीनारायण शाहको मृत्यु भयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker