नेपाल धर्मसंस्कृति र पहिचानले भरिपूर्ण देश : नेता भण्डारी

- भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेपाल सनातन धर्मसंस्कृति र पहिचानले भरिपूर्ण देश भएको बताएका छन् । तीनखोलेदेवी पुजा व्यवस्थापन तथा विकास समितिको शनिबार आयोजित नवौ बार्षिक साधारण सभा तथा चौथो अधिवेशनलाई सम्बोधन गर्दै नासाका वैज्ञानिकले वेद पढेर नयाँ नयाँ खोज अनुसन्धान गरिरहेको तथ्य रहेको भएपनि नेपालमा पछिल्लो राजनीतिले सनातन धर्म संस्कृतिलाई महत्व नदिएको गुनासो गरे ।
‘नेपाल सनातन धर्म संस्कृतिले भरिपूर्ण देश हो, तर यहाँ हाम्रो राजनीतिले सनातन धर्मलाई महत्व दिएको छैन, यसै कारण नयाँपिढीहरुले सनातन धर्म संस्कृतिबारे जान्नेबुझने वातावरण छैन’, उनले भने, ‘विश्व तथ्यांकमा ३० करोड बौद्धिष्ट र १० करोड हिन्दुहरु हरेक बर्षभ्रमणमा निस्कने गरेको छन्, ती पर्यटकहरुलाई हाम्रो तीनखोले देवी, ढोरबाराही, छाब्दीबाराही लगायत प्रसिद्ध धार्मिक स्थलमा ल्याउन सक्नु पर्दछ ।’
भाषणले देश नबन्ने भन्दै नेता भण्डारीले काम गरेर देखाउनु पर्नेमा जोड दिए । हाम्रो नियती के हो, देशमा यति धेरै सम्भावना छ, हामीमा न लाज भयो, न सरम रहृयो, जे कुरामा पनि जनता भनेछ, जनताले केही नपाएको बताए । फरक प्रसंगमा नेता भण्डारीले भने, ‘अहिले देश इतिहासमै सबैभन्दा ठुलो संकटमा रहेको टिप्पणी गरे । उनले भने २०६२/६३ को परिवर्तनपछि २०७२ सालमा संविधान जारी भएपछि अब देशमा राजनीतिक आन्दोलन गर्न पर्दैन, फेरि सडकमा राजनीतिक विषय लिएर आउनुपर्ने छैन, भनेर यी नै नेताले बोल्या होइन, लेख्या होइन, तर आज के भो, मेरो बुझाईमा अहिले देश इतिहासमै सबैभन्दा ठुलो राजनीतिक संकटमा छ, सारा नेपालीको भविष्य अन्धकार छ ।’
‘देशलाई अब कसरी जोगाउने, कसरी सम्हाल्ने, नेताहरुबीचको गाली गलौज देख्दा दुख लाग्छ’, उनले भने, ‘हिजो केपी ओली र प्रचण्डले गरेको अंकमाल नाटक मात्र थियो ? स्वार्थ मिल्दा प्रेम र अंगमाल गर्ने तर स्वार्थ नमिलेपछि सकेसम्म र जानेसम्मको शब्दकोषमै नभएको शब्द प्रयोग गरी गालीगलौजमा उत्रने अनि देशलाई भड्खालोमा हाल्ने ?’
कार्यक्रममा शुक्लागण्डकी-६ का वडाध्यक्ष कृष्णबहादुर पौडेलले तीनखोले देवीको विकासमा वडाले पहिलो प्राथमिकता दिएको बताए । उनले मन्दिरको विकासका लागि बाटोदेखि विभिन्न संरचना निर्माणमा लगानी गरेको तर नगर कार्यपालिकाले मन्दिरमा लगानी गर्न चासो नदिएको गुनासो गरे ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस तनहुँका कार्यवाहाक सभापति जीतप्रकाश आले, विश्व हिन्दु महासंघ शुक्लागण्डकीका अध्यक्ष नारायण घिमिरे, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका समुन्द्रराम श्रेष्ठ, शुक्लागण्डकी उद्योग वाणिज्य संघका सुजित हिराचन, खैरेनीटार बजार इकाईका सभापति पुर्ण कायस्थ, समितिका पुरुषोत्तम लामिछाने, सचिव पदमराज बराल लगायतले धर्म र संस्कृतिका विषयमा बोलेका थिए ।










