खाजाखर्च बचाएर विद्यार्थीले तीन सय जनालाई वितरण गरे कपडा

दमौली : तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित गोरखकाली आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले खाजा खर्च बचाएर जम्मा गरेको रकमबाट ३०० जना सर्वसाधारणलाई निःशुल्क कपडा वितरण गरेका छन् ।
विद्यालयमा गठित इन्ट्र्याक्ट क्लबमा सहभागीहरूले पूर्वविद्यार्थी स्वर्गीय प्रजिता श्रेष्ठको स्मृतिमा आज व्यास–५ पाटनमा १५० र व्यास–३ प्रशासनचोकमा १५० जना सर्वसाधारणलाई निःशुल्क कपडा वितरण गरेका हुन् ।
तीन वर्षदेखि प्रत्येक दसैँको पूर्वसन्ध्यामा निःशुल्क कपडा वितरण गर्दै आइएकाले यस वर्ष पनि निरन्तरता दिइएको क्लबका अध्यक्ष निजल आलेले बताए । विपन्न वर्ग लक्षित कार्यक्रममा आफूलाई मन परेको पाँच–पाँच थान कपडा वितरण गरिएको उनको भनाइ छ ।
उहाँले भन्नुभयो, “विद्यालयमा गठित क्लबमा रहेका विद्यार्थीले खाजा खर्च कटाएर रकम संकलन गरेका थियौँ । सोही रकमबाट विपन्नलाई कपडा वितरण गरेका हौँ ।” विद्यार्थीले खाजा खर्च कटाएर रु १२ हजार संकलन गरेका जनाउँदै आलेले केही सहयोगी दाताहरूले पनि कपडा प्रदान गर्नुभएको उल्लेख गरे ।
दसैँलाई लक्षित गरी विद्यार्थीले अतिआवश्यक हुनेलाई निःशुल्क कपडा वितरण गर्ने गरिएको विद्यालयका वीणा कैनीले बताए । उनले भनिन्, “विद्यार्थीमा सहयोगको भावना अभिवृद्धि गर्ने उद्देश्यले पनि यो अभियान सञ्चालन गरेका हौँ ।”










