तनहुँको व्यास नगरपालिकाद्वारा छात्रवृत्ति विवरण पेश नगर्ने निजी विद्यालयलाई कारबाही
भञ्ज्याङ समाचारदाता/दमौली

छात्रवृत्ति वितरणको विवरण नबुझाउने निजी विद्यालयलाई तनहुँको व्यास नगरपालिकाले कारवाही गर्ने भएको छ । नगरपालिकाको शिक्षा शाखाले कक्षा १० सम्मका विद्यार्थीलाई शैक्षिक सत्र २०७९ मा भर्ना भएकालाई गरिएको छात्रवृत्ति वितरणको विवरण असार ७ गतेभित्र पेस गर्न सूचित गरेको थियो ।
नगरपालिकाले उक्त सूचना जारी गरेपनि हालसम्म ८ वटा निजी विद्यालयले मात्र विवरण पेश गरेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । व्यास नगरपालिका भित्र ४५ वटा निजी विद्यालयहरु सञ्चालनमा रहेका छन् । नगर शिक्षा नियमावली २०७६ को परिच्छेद १० मा निजी विद्यालयमा अध्ययनरत १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था छ ।
नगरपालिकाले जेठ ३२ गते छात्रवृत्ति वितरणका लागि विद्यालयहरूलाई परिपत्र गरेको थियो । कक्षा ११-१२ सहित उच्चशिक्षामा शिक्षा नियमावली अनुसार स्कुल, क्याम्पसले उक्त छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
शिक्षा मन्त्रालयले समेत नियमित अनुगमन नियमन गरेर कानुनी प्रावधान कार्यान्वयनमा ल्याउन सकेको छैन । पछिल्लो समय विद्यालय शिक्षा स्थानीय तहको अधिकार भन्दै शिक्षा मन्त्रालय पन्छिने गरेको छ । विश्वविद्यालयले पनि निजी क्याम्पसमा त्यसको कार्यान्वयन गराउन सकेका छैनन् ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेले विवरण पेश नगर्ने विद्यालयलाई पहिलो चरणमा लिखित स्पष्टीकरण माग गरिने बताए । ‘छात्रवृत्ति वितरणलाई पारदर्शी गराउन विवरण माग गरिएको हो, तर अहिलेसम्म सबै विद्यालयले विवरण पेश गरेका छैनन्’, नगरप्रमुख न्यौपानले भने, ‘पहिलो चरणमा हामीले पुनः पत्र पर्ठाई विवरण माग गरेका छौं, विवरण नपठाए हामी कारबाहीको प्रक्रिया अगाडी बढाउछौं ।’
नगरपालिका भित्र अध्ययनरत विद्यार्थीले नियमअनुसार पाउनु पर्ने अधिकारको बारेमा गम्भीर रहेको उनको भनाइ छ । नगरपालिकाले शिक्षा क्षेत्रमा मात्र नभई स्वास्थ्य क्षेत्रको सुधारका लागि पनि प्रक्रिया अगाडी बढाएको छ । नगरपालिकाले व्यास नगर भित्र रहेका निजी स्वास्थ्य संस्थाहरुको अनुगमन समेत गर्ने भएको छ । निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुले दिने सेवा र प्रयोगशालाका प्रति जनगुनासो आउन थालेपछि नगरपालिकाले अनुगमन गर्ने तयारी गरेको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।
नविकरण, दर्ता नगरी स्वास्थ्य संस्था सञ्चालन गरिएको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय तनहँुको सहयोगमा बुधबारदेखि शुक्रबारसम्म स्वास्थ्य संस्थाको अनुगमन गर्ने तयारी गरिएको छ ।
यस्तै नगरपालिकाले नगरभित्र रहेका सहकारीहरुको पनि अनुगमन गर्न थालेको छ । नगरभित्र रहेका विभिन्न सहकारीहरुलाई पारदर्शी गराउन अनुगमन थालेको नगरप्रमुख न्यौपानेले बताए । नगरभित्र सञ्चालित रहेका ८४ वटा सहकारी अनुगमन गर्दा धेरै जसो सहकारीले प्रतिवेदन तयार नगरको, सेयर सदस्य भन्दा बाहिरका व्यक्तिसंग कारोबार गरेको पाइएकाले तत्काल सुधार गर्न निर्देशन दिएको उनले बताए ।










