सूर्योदय, हिमश्रृंखला, दमौली बजारको मनोरम दृष्य अवलोकनका लागि मानहुँकोटमा आन्तरिक पर्यटकको ओइरो

पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार पर्यटक पुग्ने गरेका छन् । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ ।

मानहुँकोटमा आन्तरिक पर्यटकको भिड । तस्विर : रासस

चितवनका मनिष थापाले सामाजिक सञ्जालमा एकदमै चर्चा भएपछि बिहानै मानहुँकोट आइपुगेको जानकारी दिनुभयो । “बिहानको समयमा सूर्योदय र कुहिरोको दृश्यले मनै लोभ्याउँछ”, उहाँले भन्नुभयो, “मानहुँकोट साँच्चिकै मनमोहक रहेछ ।” पोखरा र चितवनको बीच भागमा रहेको र राजमार्गबाट पनि नजिक भएकाले मानहुँकोटको भविष्य उज्ज्वल रहेको थापाले बताउनुभयो ।

चितवनबाटै आइपुग्नुभएका विनेश थापाले मानहुँकोटबाट बिहानको समयमा देखिने दृश्य सुन्दर र मनमोहक रहेको बताउनुभयो । “भिडियोमा मात्रै देखेकोभन्दा आफ्नै आँखाले हेरेपछि अझ मोहित भएँ”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा यसको जति चर्चा छ, त्यति नै आकर्षणयुक्त रहेछ यो ठाउँ ।”

मानहुँकोटमा आन्तरिक पर्यटकको भिड । तस्विर : रासस

पछिल्लो एक हप्ताको अवधिमा मानहुँकोटमा पर्यटकको घुइँचो बढेको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । “दैनिक करिब एक हजार पर्यटक मानहुँकोट आएका छन्”, उहाँले भन्नुभयो, “सञ्चारमाध्यमबाट मानहुँकोटको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग मिलेको छ ।” व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानहुँकोटको प्रचारप्रसारका लागि नगरपालिकाको तर्फबाट पहल भइरहेको बताउनुभयो । “मानहुँको पर्यटनले एउटा गति लिइसकेको छ, यसको विकासका लागि थप योजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता महसुस भएको छ”, न्यौपानेले भन्नुभयो ।

मानहुँकोटमा आन्तरिक पर्यटकको भिड । तस्विर : रासस

मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको छ । व्यास नगरपालिकाले रु ३६ लाख ५० हजारको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिसकेको छ । थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ । मानहुँकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । साथै दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य यहाँबाट देखिन्छ ।

फोहरमैला सरसफाइ

फोहरमैला व्यवस्थापनका लागि बुधबारबाटै मानहुँकोटमा एक जना कर्मचारी राख्ने तयारी गरिएको छ । मानहुँकोटमा दैनिक पर्यटक बढेसँगै फोहर पनि जथाभावी रुपमा फालिएको छ । मानहुँकोट आएर फोहर नगरिदिन र फोहरमैला निश्चित ठाउँमा राखेर व्यवस्थापन गरिदिन वडाध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयो ।

मानहुँकोटमा सरसफाई गरिदै । तस्विर : रासस

“मानहुँकोट घुम्न आउनुस्, तर जथाभावीरुपमा फोहर गरेर यसको सौन्दर्य घटाउने काम नगरिदिनुहोस्”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । व्यास नगरपालिकाले आज उक्त ठाउँमा सरसफाइसमेत गरेको छ । सरसफाइका लागि व्यास नगरपालिकाका प्रमुख न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, वडाध्यक्ष श्रेष्ठ मानहुँकोट पुग्नुभएको थियो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker