अपडेट : तनहुँको डुम्रेमा बस र स्कुटर ठोक्किँदा घाइते दुई जनाको मृत्यु

तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगरमा भएको बस र स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
गत शनिबार दिउँसो करिब १२:१० बजे आँबुखैरेनीबाट डुम्रे तर्फ आउँदै गरेको ग १ ख ९७०८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग २६ प ९२८७ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए ।
घाइतेमध्ये स्कुटर चालक गोरखा जिल्ला धार्चे गाउँपालिका–७ का २८ वर्षीय पुनराम गुरुङ र सोही स्कुटरमा पछाडि सवार ३२ वर्षीय मनोज गुरुङ दुवै जनालाई प्रारम्भिक उपचारका लागि लक्ष्मी सि.टी. अस्पताल डुम्रे ल्याइएको थियो ।
गम्भीर अवस्थामा रहेका पुनराम गुरुङलाई डुम्रे अस्पतालमा उपचारकै क्रममा चिकित्सकले सोही दिन दिउँसो १:४८ बजे मृत्यु घोषणा गरेका थिए ।
त्यस्तै, गम्भीर घाइते मनोज गुरुङलाई थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज अस्पताल रिफर गरिएको थियो ।
उनको सोमबार राति करिब ११:०० बजे उपचारकै क्रममा मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।










