सेवाको भावना भए मात्रै विकास सम्भव हुन्छ : नेता पौडेल
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सेवाको भावना भए मात्रै विकास सम्भव रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिका लागि बुधबार आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनप्रतिनिधि शासक नभई सेवक बन्नुपर्ने उल्लेख गरे ।
जनताले सेवक बन्नका लागि निर्वाचनमार्फत मत दिएकाले जनताको सेवक बनेर काम गर्न वरिष्ठ नेता पौडेलले आग्रह गरे । उनले भने, ‘जनप्रतिनिधिले हामीहरू जनताको शासक होइन, सेवक हौँ भन्ने भावना जागृत गर्नुपर्छ, त्यसो भएको खण्डमा मात्रै विकास गर्न सकिन्छ।’
वरिष्ठ नेता पौडेलले व्यास नगरपालिकालाई सौन्दर्य भर्ने काममा अग्रसर हुन जनप्रतिनिधिलाई आग्रह गरे । जनप्रतिनिधिको काँधमा ठूलो जिम्मेवारी भएकाले उक्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्न उनले जोड दिए । उनले भने, ‘समाज विकासका लागि आफैँ अग्रसर हुनुपर्छ, त्यसको जिम्मेवारी जनताले दिएका छन । समाजका लागि केही गर्नुपर्छ भन्ने संकल्प बोक्नुपर्छ ।’
वरिष्ठ नेता पौडेलले समाजलाई उन्नतिको बाटोमा डोर्याउनेतर्फ अगाडि बढ्न आग्रह गर्दै भने, ‘आत्मज्ञान सबैभन्दा ठूलो कुरा हो, पहिला आफैँले आफैँलाई चिन्नर्ुपर्छ, आफूभित्र के छ त्यसलाई चिन्नुपर्छ । राजनीतिक रुपमा मात्र नभई सामाजिक र आर्थिक रुपमा समेत परिवर्तन भइरहेको छ ।’
कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले आर्थिक समृद्धि र विकास एउटै मात्र लक्ष्य रहेकाले त्यसलाई पूरा गर्नेतर्फ लाग्न आग्रह गरे । व्यास नगरपालिकाको फोहरमैला समस्याका रुपमा रहेकाले त्यसलाई समाधान गर्नेतर्फ जनप्रतिनिधि लाग्नुपर्ने बताए। केन्द्रीय सदस्य गोविन्द भट्टराइले कांग्रेसको नेतृत्वमा देशमा विकास भएको र त्यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे ।
गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विक, प्रदेश सांसद सरिता गुरुङ, नेपाली कांग्रेसका जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, नेकपा -(माले)का उपसचिव प्रदीपराज अधिकारी, नेकपा (एकीकृत समाजवादी)का सचिव श्रीराम कार्की लगायतले व्यास नगरपालिकाको विकास र समृद्धिमा लाग्न आग्रह गरे । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जनताको भावना बुझेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।










