शुक्लागण्डकीको कृषि नीति : बाँझो जमिन उपयोगका लागि प्रोत्साहन अनुदान

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँको शुक्लागण्डी नगरपालिकाले बाँझो जमिन उपयोगमा प्रोत्साहन अनुदान कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउने नीति लिइएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा कृषिको विविधीकरण र व्यवसायिकरणमा जोड दिन बाँझो जमिनलाई निरुत्साहित गर्दै उत्पादनमुलक क्षेत्रको रुपमा प्रयोग गरी कृषि उत्पादन तथा उत्पादकत्व बढाउन प्रोत्साहनका लागि यो नीति अवलम्बन गरेको हो ।
गत वर्षसम्म वडा नं. ८, ९, १०, ११, १२ का २ हजार ६०० कृषक सूचीकरण गरी डाटावेश तयार गरेको नगरपालिकाले अन्य वडाका कृषकहरूको पनि डाटावेस तयार गरी कृषक परिचयपत्र वितरण गर्न किसान सूचीकरण कार्यक्रम निरन्तरता दिने भएको छ ।
नगरपालिकाको विभिन्न क्षेत्रहरू मौरीको विशेष पकेट क्षेत्र रहेका र गत वर्ष ६३ जना कृषकहरूलाई १८३ मौरीघार वितरण गरिएको र यसबाट थप वर्षेनी ३ हजार किलोग्राम मह उत्पादन भइ कृषकलाई मुनाफा हुनुका साथै मौरी र प्राङगारिक खेती एकअर्काका परिपुरक भएकाले सो को प्रवर्द्धन गर्नका साथै मौरीको चरन व्यवस्थापन गर्ने खालका कार्यक्रमहरूलाई निरन्तरता दिने नीति लिइएको नगरप्रमुख कृष्णराज पण्डितले बताए ।
‘रसायानिक मलले पार्ने नकरात्मक असरहरू बारेमा जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरी स्वस्थ र स्वच्छ खाद्यपदार्थ उत्पादन वृद्धि गर्नका लागि प्राङ्गारिक जैविक खेतीलाई जोड दिदै प्राङ्गारिक क्षेत्र स्थापना गर्ने हाम्रो लक्ष्य छ’, उनले भने, ‘प्राङ्गारिक जैविक मलको उत्पादन तथा बजारीकरणमा प्रोत्साहनको लागि प्याकेजिङका लागि आवश्यक यन्त्र उपकरणको व्यवस्था मिलाउने छौं ।’
‘कृषि, पर्यटन र पूर्वाधार समृद्ध शुक्लागण्डीको मूल आधार’ नारा तय गरेको नगरपालिकाले कृषि र पशुपालन क्षेत्रलाई मुख्य आर्थिक विकासको आधार मानेको छ । कृषि उपजहरूमा प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न तथा कृषकको लगानी सुनिश्चित गर्न कृषि ज्ञान केन्द्रसँग समन्वय गरी कृषि बीमा गर्ने कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउने योजना बनाएको नगरपालिकाले एक वडा एक उत्पादनलाई कायम राख्दै अन्य क्षेत्रको हकमा जलवायु अनुकुलित स्थानीय रैथाने जातका बालिका संरक्षण तथा सम्बर्द्धन गर्ने नीति अगाडि ल्याएको छ ।
यस्तै, धानबाली प्रवर्द्धन तथा पकेट विकास कार्यक्रम अन्तर्गत १ हजार ६०० रोपनी जग्गामा नविनतम प्रविधि र यन्त्र उपकरणको प्रयोगबाट कृषकहरू लाभान्वित भएकाले आगामी दिनमा पनि यस्तै पकेटका कार्यक्रमहरुलाई निरन्तरता दिंदै बाली विरुवालाई आवश्यक पर्ने एकिकृत खाद्यतत्व व्यवस्थापन प्रणाली मार्फत माटो तथा मल परीक्षण प्रयोगशालासँग सहकार्य गरी माटोको परिक्षण गरिने नगरप्रमुख पण्डितले जानकारी गराए ।
कृषि उत्पादन तथा उत्पादकत्व बढाउन मुख्य कृषियोग्य क्षेत्रहरूमा कुलो बाँध तथा तटबन्धनको निर्माण तथा मर्मतसंभार गर्ने कार्यक्रमलाई निरन्तरदा दिंदै नगरपालिकाले कृषि उपज संकलन केन्द्र कृषक समूह सहकारी मार्फत समिति बनाइ सन्चालनमा गर्ने, कृषि उत्पादनको बजारीकरण मार्फत उपभोक्तालाई ताजा तरकारी उपलब्ध गराउन विभिन्न वडाहरूमा रहेका सामुदायिक भवनहरूलाई वडा कृषि उपज संकलन केन्द्रको रूपमा उपयोग गरी कृषि एम्बुलेन्स मार्फत कृषि उपज संकलन तथा बिक्री केन्द्रमा स्थायी बिक्री वितरण गर्ने व्यवस्था मिलाउने नीति लिइएको छ ।
विभिन्न प्रजातिका ४ हजार ५०० फलफूलका बोट विरुवा वितरण गरी फलफूलको आयातलाई प्रतिस्थापनमा सहयोग पुगेको र जंगली जनावर बाँदरबाट कृषि उत्पादनमा हुने क्षति न्यूनीकरणका लागि समेत आगामी वर्ष फलफूलका विरुवा वितरण तथा बगैंचा व्यवस्थापन सम्बन्धी कार्यक्रमलाई सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने, राज्यबाट प्रदान गरिने सेवा सुविधामा साना कृषकहरूको पनि पहुँच पुर्‍याउनको लागि कृषक समुह/सहकारी लक्षित कार्यक्रमहरूलाई प्राथमिकता दिइने भएको छ ।
यस्तै, नगरपालिका भित्र रहेका कृषक समूहहरूको दर्ता नवीकरण तथा परिचालनको कार्यलाई थप प्रभावकारी बनाउने, नगरस्तरीय किसान सम्मेलन गरी कृषकहरूको सञ्जाल निर्माणमार्फत किसानहरुको हकहित संरक्षण र प्रबर्द्धन गर्ने, विभिन्न कृषिजन्य बालीहरुमा रोगकिराको प्रकोप कम गर्नको लागि बाली संरक्षणका कार्यक्रमलाई निरन्तरता दिने, नगरपालिकाभित्र कफी खेतीका लागि सम्भावित क्षेत्रको पहिचान गरी आवश्यक कार्यक्रम सञ्चालन गर्ने, विपन्न कृषकहरूलाई कृषि उत्पादन सामानहरू तथा प्राविधिक सेवा निःशुल्क उपलब्ध गराउने, कृषिजन्य उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि उन्नत विउ वितरण कार्यलाई निरन्तरता दिने नीति नगरपालिकाले लिइएको छ ।
शुक्लागण्डकी नगरपालिका भित्रका सार्वजनिक जग्गाको यकिन गरी संरक्षण का कार्यक्रम सञ्चालन गर्ने, बैंक तथा वित्तिय संस्थाहरूसँग समन्वय गरी कृषकहरूलाई सहुलियत ऋण प्रदान गर्न लगाउने, दुग्ध उत्पादन पर््रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने, नगरपालिकाभर निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गरी उन्नत नश्लका पशुको उत्पादन कार्यलाई निरन्तरता दिने भएको छ ।

दुधको उत्पादन र पाडीबाच्छी हुर्काउन अनुदान

यस्तै, उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत यस वर्ष ६ लाख लिटर दुधको लागि प्रति लिटर दुइ रुपैयाँका दरले १२ लाख रुपैयाँ उत्पादनमा आधारित अनुदानका लागि बजेट विनियोजन गरिएको छ । नगरपालिकाका कृषकहरूले पालेका उन्नत जातका बाच्छी तथा पाडी हुर्काइ गर्भाधान गराएपछी पाडी बाच्छी हुर्काए बापत अनुदान प्रदान गरिएको र कृषकहरू पाडीबाच्छी हुर्काउन प्रेरित भइ बाहिरबाट पशुवस्तुश आयत गर्ने संख्या घट्ने नगरपालिकाले अपेक्षा गरेको छ।
नगरपालिकाले कम्तिमा एउटा घाँसबाली स्रोतकेन्द्र स्थापना गरी कृषकहरुलाई बाह्रै महिना घाँस उत्पादनका लागि आवश्यकता अनुसार घाँसका बीउ वेर्ना उपलब्ध गराउने भएको छ । कृषि तथा पशुपन्छीको तथ्याङ्क संकलन गरी प्रोफाइल तयार गर्ने, लम्पी स्किन रोगले पशुबस्तुहरुमा नोक्सानी भएकाले सो रोग समेत नियन्त्रण गर्ने गरी पशुविकास क्षेत्रका अन्य निकायहरूसँगको सहकार्यमा संक्रामक तथा महामारी रोग विरुद्ध पुर्ण खोप कार्यक्रम सञ्चालन गर्ने, पशु विकास शाखा रहेको पशुसेवा केन्द्र भवन बेलचौतारामा शुक्लागण्डकी पशु अस्पतालको रुपमा अगाडि बढाउने योजना बनाइएको छ ।
यस्तै, पशु रोग निदान तथा उपचार सेवा प्रभावकारी गराउन पशुविकास शाखामा भेटेरिनरी डाक्टरको व्यवस्था गरी आधारभुत प्रयोगशालाको स्तरोन्नतिका लागि आधार तयार गर्ने, पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविरहरु सञ्चालन गर्न अन्य निकायहरूसँग समन्वय गर्ने, प्रदेश सरकारका कार्यालयसँगको सहकार्यमा जुनोटिक रोग नियन्त्रणका लागि स्कुल शिक्षा तथा सचेतना कार्यक्रम सन्चालन गर्ने, परम्परागत तथा स्थानीय रैथाने जातका पशुहरूको संरक्षणको लागि पहल गर्ने, जैविक विविधता संरक्षण गर्नका लागि नगरपालिका भित्रको सम्पूर्ण प्राणी वनस्पति सुक्ष्मजीव तथा पारिस्थितिक प्रणालीको संरक्षणमा जोड दिदै दीगो विकासमा अवधारण अनुसार विकासका गतिविधि सञ्चालन गर्ने नीति नगरपालिकाले अवलम्बन गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker