सुनसान ‘कर्लिम गाउँ’

ढोरपाटन : “यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै रित्तिए, दुःख पर्दा सहायता दिने छिमेकी पनि छैनन्”, बागलुङ काठेखोला गाउँपालिका–५ कर्लिमका तिलबहादुर कँडेल भन्नुहुन्छ । उहाँलाई अचेल एक्लो महसुस हुँदै गएको छ । कँडेललाई छरछिमेकी गाउँबाट बसाइँसराइ गरेर सहर झरेपछि कर्लिम गाउँ रित्तो बनेकामा निकै दुःख लागिरहेको छ । कुनै बेला गुल्जार रहेको यो गाउँमा दुई÷चार घरमा मात्रै मान्छे भेटिन्छन् ।

यसैकारण समस्या पर्दा गुहार माग्दासमेत सहयोग गर्ने कोही नभएको कँडेल बताउनुहुन्छ । “गाउँमा बिमार पर्दासमेत अस्पतालसम्म पु¥याउने मान्छेसमेत नपाइने अवस्था छ । गाउँघर झाडीले ढाकिन थालेपछि वन्यजन्तुको आतङ्क बढ्दै गएको छ । घरकै छेउमा वन्यजन्तुले बासस्थान बनाउँदा हिँड्डुल गर्न पनि त्रास हुने गरेको छ”, उहाँ भन्नुहुन्छ ।

स्थानीय मैना सुवेदीले गाउँमा युवा शक्ति नहुँदा खेतीबारीमा काम गर्नसमेत छोडिएको बताउनुभयो । एक दशक अगाडिसम्म गाउँमा धेरै मान्छे हुँदा रमाइलो रहेको स्मरण गर्दै हरेक वर्ष जनसङ्ख्या घट्दै जाँदा दुःख सुखमा पनि मान्छे नभेट्ने अवस्था रहेको उहाँको भनाइ छ ।

यस्तो अवस्था अन्त्यका लागि राज्यले बसाइँसराइलाई व्यवस्थापन गर्नुपर्ने र घर खाली राख्न नपाइने नीति ल्याउनुपर्ने सुवेदीको धारणा छ । “गाउँमा निस्किने बाटोसमेत वनमारा र झाडीले पुरिएको छ । युवाहरू विदेश गए । उनीहरूले कमाएको धनले आफ्ना परिवार सहर बजारमा घर बनाएर सारे । धनीमानी सबै सहर बजार र विदेशमा गए । त्यसैले जता हे¥यो त्यतै बाँझो जमिन, उराठिलो बस्ती मात्रै देखिन्छ”, उहाँले भन्नुभयो ।

काठेखोलाको कर्लिम मात्र होइन जिल्लाका अन्य धेरै ठाउँबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । जसले ग्रामीण क्षेत्र सुनसान छन् । काठेखोला जिल्लामै धेरै बसाइँसराइ गर्ने ठाउँ हो । यहाँका अधिकांश युवा जापान, कोरिया र अष्ट्रेलियामा छन्भने उनीहरूको परिवार बागलुङ बजार, पोखरा, काठमाडौँ र चिवतन बसाइँ सरेका छन् ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले नागरिकलाई गाउँमा रोक्नका लागि सीप, प्रविधि र उद्यमसँग जोड्ने कार्यक्रम ल्याइएको बताउनुभयो । पहिलेको तुलनामा गाउँमा धेरै परिवर्तन आए पनि बसाइँसराइ रोक्न नसकिएको उहाँको भनाइ छ ।

“गाउँमा बसेर उद्यम गर्ने युवालाई अनुदानसहित प्रविधिक सहयोगसमेत गर्दै आएका छौँ । गाउँपालिकाको स्रोतले भ्याएसम्मको काम गरिरहेका छ । यस कार्यमा सबैले सहयोग गर्न आवश्यक छ । गाउँमा अवसर सिर्जना गर्न सबै लागौँ”, अध्यक्ष थापाले भन्नुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker