जिउने साहारा बन्यो अटो रेक्सा
भञ्ज्याङ समाचारदाता/तनहुँ
रामकुमारी मजकोटीको जिउने साहारा अटो रेक्सा बनेको छ । ४५ वर्षीया रामकुमारीले अटो रेक्सा चलाएर भएको आम्दानीबाट घरव्यवहार चलाउन थालेकी छन् । दुइ छोरीकी आमा रामकुमारीको बैवाहिक जीवन विग्रिएपछि अहिले उनको साहारा अटो रेक्सा बनेको छ । बिहान ८ बजे घरबाट अटो लिएर बजार निस्कने रामकुमारी साँझ ७ बजेपछि मात्र फर्कने गरेकी छन् ।
२०५४ सालदेखि सिलाइ कटाइको काम गर्दै आएकी रामकुमारी करिव एक महिनादेखि दमौली आसपासका क्षेत्रमा अटो चलाउदै आएकी छन् । प्रायः पुरुषहरुले मात्र अटो रेक्सा चलाउने गरेपनि उनले महिलाले पनि यो काम गर्न सक्छन् भन्ने आँट गरी यो क्षेत्रमा हात हालेकी हुन् ।
सिलाइकटाइ व्यवसायीबाट गुजारा नचलेपछि उनले अटो चलाउन सिकेकी हुन् । उनको स्वास्थ्यमा आएको समस्यले पनि सिलाइकटाइ व्यवसायलाई अगाडि बढाउन सकिनन् । खुट्टामा आएको समस्य कारण मेशिन चलाउन नसक्दा हातमुख जोर्ने समस्य देखियो त्यसको बिकल्पमा यो क्षेत्रमा हात हाल्न आइपुगेको रामकुमारी बताउँछिन् ।
‘श्रीमानसंग पनि सम्बन्धबिच्छेद भएपछि घर्रखर्च चलाउन निकै समस्य पर्यो’ उनले भनिन्, ‘दुइ छोरीमध्ये कान्छि छोरी आफैसंग रहेको र उनको पढाइ र घरव्यवहार चलाउन म अहिले हरेक दिन करिव १२ घण्टा पुरुष चालकहरुसंग प्रतिस्पर्धा गर्दै अटो चलाउने गर्छु ।’
‘महिलालाई काम गर्न जतापनि गार्हो हुने रहेछ’, उनले भनिन्, ‘म अटो चलाएर हिड्दा मानिसहरु मलाई औलाले देखाउछन्, सायद महिलाले गाडी चलायो भनेर होला। यात्रुहरुले पनि महिला भन्दा पुरुष चालकलाई नै बढि विश्वास गरेको पाए ।’
‘भाँडा दिने समयमा पनि महिला भनेर कम भाँडा दिन खोजछन्’ उनले भनिन्, ‘मनाग्य आम्दानी त भएको छैन तर के खाम र के गरम भन्ने पनि भएको छैन । दिनमा राम्रै यात्रु भेटियो भने १ हजार ५ सयदेखि २ हजार रुपैयाँ सम्म बचत गर्ने गरेको छु ।’

जिल्लाको व्यास नगरपालिका-१ भादगाउँकी ३१ वर्षीया श्रीधरा थापा मगरले पनि करिव ३ महिनादेखि अटो चलाउदै आएकी छन् । पहिला सिलाइकटाइ गर्दै आएकी उनी सिलाई कटाइबाट सोचेजस्तो आम्दानी नभएपछि अटो चलाउन सुरु गरेकी हुन् ।
श्रीधरा जिल्लाकै पहिलो महिला अटोचालक हुन् । उनकै सिको गरेर रामकुमारी पनि अटो रेक्सा चालक बनेकी हुन् । अन्य पुरुष अटो चालक माझ आएर अटो चलाउन कठिन रहेको श्रीधराले बताइन् । उनका श्रीमान नेपाल आर्मीबाट सेवा निवृत्त भएपछि काठमाडौंस्थित एक होटलमा सेकुरेटरीको काम गर्छन् । श्रीमानलाई आर्थिक रुपमा पनि सहयोग गर्नका लागि आटो चलाउन सुरु गरेको बताउने उनी भन्छिन्, ‘सुरु सुरुमा अटो चलाएर हिड्न लाज लाग्थ्यो । अझ यात्रुहरु अटो महिलाले चलाउने भन्ने थाहा पाएपछि चढ्न अप्ठ्यारो मान्दा मलाई नमझा लाग्थ्यो ।’
‘मैले अटो चलाएर हिड्दा मानिसहरु आफुले गरिरहेको काम छाडेर मलाई फर्की फर्की हेर्ने गर्दथे, अरुलाई पनि बोलाएर देखाउने गर्दथे’, उनले भनिन्, ‘अटो चलाउछु भनेर अटो सिक्न हिड्दा छरछिमेकले छोरीमान्छे भएर गाडी चलाउने ? सबै पुरुषहरु मात्रै छन्, त एक्लै के गर्छेस् भन्थे । तर, अहिले सबै परिवर्तन भएको छ । मसंग यात्रा गर्न कोही पनि डराउदैन र पहिले कुरा काट्नेहरु पनि अहिले तिमीले राम्रो काम गरेकी छौं । हामी महिलाले पनि पुरुष सरह काम गर्न सक्छौं ।
समाजमा तिमी राम्रो उदाहरण बनेकी छौं भन्दा खुसी लाग्छ ।’ उनी बिहान ८ बजेदेखि बेलुकीको ७ बजेसम्म राजमार्गको छेउछाउमा अटो चलाउछिन् । कहिलेकही फोन आउँदा बिहानको ६/७ बजेपनि अटो लिएर निस्कने उनले बताइन् । श्रीधराले भनिन्, ‘बेलुका भने म त्यती जान्न । मलाई फोन आयो भनेपनि अन्य दाईहरुको नम्बर दिन्छु ।’ उनको दुइ छोरी छन् । उनले अटो चलाएरै छोरीहरुलाई पठनपाठन र घर्रखर्च चलाउने गर्छिन् ।
‘सिलाइकटाइबाट राम्रो आम्दानी हुदैनथ्यो । २/४ रुपैयाँ चाइएपनि श्रीमानसंग माग्नुपर्दथ्यो र उहाँकै नजरमा रहेर खर्च गर्नुपर्दथ्यो’, उनले भनिन्, ‘अहिले अटो चलाएर आफु र नानीहरुको खर्च उठाउन सक्छु । आफ्नो आम्दानी भएपछि आफ्नै हिसावबाट नै खर्च पनि गर्न सक्छु ।’
यस्तै, दमौलीका अटो व्यवसायीहरुले दमौली अटो चालक समिति गठन गरेका छन् । उक्त समिति भित्र ३२ वटा अटो र समिति बाहिरा ८ वटा अटो गरी दमौली आसपासका क्षेत्रमा ४० वटा अटो सञ्चालनमा छन् । यी चालकहरुमध्ये २ जनामात्र महिला अटो चालक छन् ।










