नागरिकताको प्रतीक्षामा वृद्धा मङ्गली : “अब मर्ने बेलामा नेपाली भनेर मर्न पाउँ”
डिपी अधिकारी/तनहुँ

तनहुँको बन्दीपुर गाउँपालिका–४ की ७० वर्षीया मङ्गली भुजेलको जीवन नागरिकता नपाउँदाको पीडाले थिलथिलो छ। बुढेसकालले चाउरी परिसकेको अनुहार, पातलो शरीर, पुराना लुगा र चप्पलविहीन खुट्टाले उनको जीवनको संघर्ष झल्काउँछ । तर, मङ्गलीका लागि सबैभन्दा ठूलो चाहना न धन–दौलत हो, न घर–महल । उनको एउटै सानो तर ठूलो सपना छ– “मर्ने बेलामा नेपाली नागरिकता लिएर गर्वका साथ मर्न पाउँ ।”
मङ्गली भन्छिन्,“अब बुढेसकाल पनि भइहाल्यो, मर्ने बेलामा नागरिकता बनेको हेर्न मन छ । नागरिकता सिरानीमा राखेर निदाउन मन छ।” घरमा जो कोही नौलो मान्छे पुग्यो कि, उनी सोध्छिन्–“अब त नागरिकता पाइन्छ होला नि हजुर” नागरिकता नहुँदा आफू मात्र होइन, आफ्ना सन्तानहरूले समेत दुःख पाइरहेको बताउँछिन् ।
बाल्यकालदेखि संघर्षै संघर्ष
मङ्गलीको जीवन कथा सुकिला–मुकिला होइन । विक्रम सम्वत १९९० सालको भूकम्प हुनुभन्दा केहीअघि उनका बुबा सुकबर भुजेल कविलासको बाङ्गेसालबाट आमाको माइती आँबुखैरेनी–५, बरालुङ रातपाटा बसाइ सरेका थिए ।
त्यही ठाउँमा मङ्गलीका चार दाजुभाइ जन्मिए र २०१० सालतिर मङ्गलीको पनि जन्म भयो। बाल्यकालदेखि नै गरिबी र अभावले घेरेकी उनी १५–१६ वर्षकै उमेरमा ज्यामी काम गर्न बाध्य भइन् ।
२०२६ सालतिर मुग्लिन–पोखरा सडक (पृथ्वी राजमार्ग) निर्माण भइरहँदा उनी त्यही काममा संलग्न थिइन्। यही क्रममा पूर्वका कृष्णबहादुर थापा क्षेत्रीसँग उनको भेट भयो । प्रेम सम्बन्ध बढ्दै गएपछि उनीहरू पति–पत्नी बने र चार सन्तान जन्मिए।
तर, सुखद जीवन धेरै लामो टिकेन। आर्थिक अभावले मङ्गलीले श्रीमानलाई बारम्बार पूर्वतिर घर लैजान आग्रह गरिरहिन्। तर त्यो सपना कहिल्यै पुरा हुन सकेन। एकदिन श्रीमान बिरामी परे र गाउँकै जडीबुटीले उपचार गर्दा–गर्दै उनको निधन भयो। त्यसपछि मङ्गलीको जीवनमा बज्रपात भयो–न श्रीमानको ठेगाना पक्का, न आफ्नै परिवारको सहारा ।
जीवन धान्न फेरि संघर्ष
चार सन्तानको लालनपालन गर्न उनी कहिले कता, कहिले कता मजदुरी गरेर गुजारा गर्न थालिन्। पछि कान्छी बहिनी सनसरी भुजेलले उनलाई बन्दीपुर–४, लोही पाखा ल्याएर बसालिन्। तर मङ्गलीले आफ्नै जग्गा किनेर बस्ने चाहना व्यक्त गरिन्। करिब १८–२० वर्षअघि उनकी कान्छी छोरीले सानी आमाबाट एउटा घडेरी किनेर घर बनाएर आमालाई बसाइदिइन् ।
तर मङ्गलीको दुःख त्यहीं सकिएन। जग्गा त किनिन्, तर नागरिकता नहुँदा त्यो उनको नाममा गर्न सकिन। “कागजपत्र सबै पूरा हुन्छन् रे, तर नागरिकता नहुँदा कामै अड्किन्छ”, मङ्गली भन्छिन् ।
पुस्तौंको पहिचान संकटमा
मङ्गलीका जेठो छोरा सुकबहादुर हाल पोखरामा ज्यालामजदुरी गरेर परिवार चलाइरहेका छन्। उनको पनि विवाह भइसकेको छ र एक नाति जन्मिसकेको छ । जेठी र कान्छी छोरी दुवैको बिहे भइसकेको छ। तर कान्छा छोरा तिलक अझै आमासँगै बस्छन्। करिब ४० वर्षका तिलकलाई नागरिकता नहुँदा रोजगारीका धेरै अवसर गुमेका छन्। मङ्गलीका अनुसार, “मसँग नागरिकता नभएर मेरा छोराछोरी पनि नागरिकता बनाउन पाएका छैनन् । यही कारणले सबैले दुःख पाइरहेका छन् ।”
राज्यको नजरमा कहिले पर्लिन मङ्गली ?
स्थानीयहरू भन्छन्, मङ्गली हरेकपल्ट गाउँमा आउने कर्मचारी वा प्रतिनिधिसँग एकै कुरा दोहो¥याउँछिन्– “नागरिकता दिलाइदिनुहोस् हजुर, अब त मर्ने बेला भयो ।” तर, अहिलेसम्म उनको सपना अधुरै छ । गाउँमा आउने जो कोहीलाई उनी यही निवेदन दोहो¥याउँछिन्– “कसरी बन्छ नागरिकता, को बनाइदिन्छ, मलाई पनि नेपाली भनेर चिनिदिनुहोस् ।”
बन्दीपुर गाउँपालिका र सम्बन्धित निकायले यस्तो लामो समयदेखि नागरिकता नपाएका वृद्धा नागरिकहरूलाई पहिचान गरी शीघ्र व्यवस्था गर्नुपर्ने माग पनि स्थानीयहरूले गर्न थालेका छन् ।
मङ्गलीको जस्तो कथा तनहुँमा मात्रै होइन, देशभर सयौँ नागरिकका जीवनमा अझै पनि दोहोरिइरहेको छ । राज्यका नीतिगत असंलग्नता र प्रशासनिक जटिलताले नागरिकता जस्तो मौलिक अधिकार अझै धेरैका लागि “स्वप्न” बनेको छ ।
“अब त धेरै रात बितिसक्यो, धेरै बिहान बितिसक्यो”, मङ्गली भन्छिन्– “मर्ने बेलामा नागरिकता देखेर निदाउन पाए, यही नै मेरो ठूलो सपना हो ।”










