भिमाद नगर अस्पतालको तेस्रोपटक म्याद थप

भिमाद : तनहुँको भिमाद नगरपालिका–६ स्थित भिमाद नगर अस्पताल निर्माणका लागि तेस्रोपटक म्याद थप गरिएको छ । संघ सरकारको प्रत्येक पालिकामा नगरस्तरीय अस्पताल बनाउने उद्देश्यबमोजिम २०७८ साल असार २५ गते अस्पताल भवन निर्माणका लागि सम्झौता भएको थियो ।

निर्धारित मितिमा काम हुन नसकेपछि तेस्रोपटकका लागि २०८३ साल जेठ ३० गतेसम्म म्याद थप गरिएको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले जानकारी दिए । अस्पताल भवन निर्माणमा ढिलाइ भएपछि नगरपालिकाले पटकपटक ताकेता गरेको उनको भनाइ छ । तेस्रोपटक म्याद थप हुँदासम्म हालसम्म एक चौथाइमात्र प्रगति भएको छ । रु ११ करोड ८६ लाख ६७ हजारको लागतमा नगरस्तरीय अस्पताल भवन निर्माण गर्न लागिएको सुवेदीको भनाइ छ ।

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रूपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने काम सुरु भए पनि विगतमा बजेट अभावका कारण काम रोकिएको थियो । भवन निर्माणका लागि नेपाल सरकार र राजेन्द्र दिवस ज्येवाडण्डा जेभी कन्ट्रक्सनबीच २०७८ साल असार २५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताको १७ महिना २०७९ साल माघभित्र निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको थियो। यसअघि भवन निर्माणको म्याद २०८१ साल असोज २४ गतेसम्मका लागि म्याद थप भएको थियो ।

अस्पताल भवन चारतलाको निर्माण गरिनेछ । भवन निर्माण भएपश्चात विशेषज्ञ चिकित्सक सहितको सेवा प्रवाह गर्ने लक्ष्य राखिएको छ । भवन बनेपछि शल्यक्रिया कक्ष, बर्थिङ सेन्टर, प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, दन्त सेवा र नेत्र सेवा सञ्चालन गर्न छुट्टाछुटै कोठाको प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

हाल भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा एक मेडिकल अधिकृत, एक स्टाफ नर्स, एक एचए, तीन अहेव, तीन अनमी, एक ल्याब सहयोगी र एक जना कार्यालय सहयोगीको जनशक्ति छ । नगरपालिकाले आन्तरिक स्रोतबाट अस्पतालमा चार जना स्वास्थ्यकर्मीको व्यवस्था गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker