रक क्लाइम्बिङको उपाधि दिपेन र पञ्चमायाले जिते
डिपि अधिकारी/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिका-४ बिमलनगर स्थित चुनपहरामा प्रथम पटक आयोजित रक क्लाइम्बिङ प्रतियोगिता गरिएको छ । बन्दिपुर गाउँपालिका, गण्डकी अल्पाइन क्लब र नेपाल टुरिजम बोर्डले संयुक्त रुपमा सञ्चालन गरेको प्रतियोगितामा पुरुषतर्फको उपाधि काठमाडौंका दिपेन गुरुङले हात पारेका छन् ।
उनले ३४ जना चट्टान आरोहिहरुलाई पछि पार्दै उक्त उपाधि जित्न सफल भएका हुन् । उनले ४ मिनेट २ सेकेण्डमा दुरी पूरा गर्दै उपाधि हात पारेका छन् । प्रतियोगितामा सुलभ राइले द्वितीय र तेन्जिङ राइले तृतीय हुन सफल भएका छन् । ३५ मिटर दुरीमा गरिएको रक क्लाइम्बिङ प्रतियोगितमा उनीहरु दुबै जनाले निर्धारित दुरी भने पुरा गर्न सकेका थिएनन् ।
त्यस्तै महिलातर्फ काठमाडौंकी पञ्चमाया तामाङले १२ जना प्रतियोगीलाई पछि पार्दै उपाधि जितेकी छन् । उनले मिनेट ५३ सेकेण्डमा दुरी पुरा गरी उपाधि हात पारेकी हुन् । काठमाडौंकी रुषा प्रधान द्वितीय र जापानकी सावा सुजिता तृतीय भएकी छन् । उनीहरुले पनि निर्धारित दुरी पुरा गर्न नसकेको आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला पुरुष चट्टान आरोहिहरुलाई क्रमशः ५० हजार ५ सय, २० हजार र १० हजार रुपैयाँ नगदका साथै मेडल र प्रमाणपत्रद्वारा गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले पुरस्कृत गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्ता प्रतियोगिताले सहाशिक खेलको विकास गर्नुका साथै पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने बताए ।
कार्यक्रममा वित्त आयोगका सदस्य जुद्धबहादुर गुरुङ, बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिह थापा, गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाही, खिमलाल गौतम, लालकुमार श्रेष्ठ लगायतकाले चुन पहरा नेपालकै रक क्लाइम्बिङको उत्कृष्ट गन्तव्यस्थल भएकोले यसको प्रबर्द्धन र संरक्षणमा ध्यान दिनुपर्ने बताए ।
महोत्सवमा प्रतियोगी र अप्रतियोगी गरी १५० भन्दा बढी पर्वतारोहीहरुको सहभागिता रहेको थियो । चुन पहराको संरक्षण गर्न र पर्यटन प्रबर्द्धनका लागि पहिलो पटक रक क्लाइम्बिङ प्रतियोगिता आयोजना गरिएको थियो ।










