एमाले बाघ हो, माधव नेपालले विदेशीको डिजाइनमा पार्टी फुटाए : उपमहासचिव गुरुङ

नेकपा एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमाले बाघ भएको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकामा शुक्रबार जिल्ला कमिटी तनहुँले आयोजना गरेको एमाले निरन्तरताको घोषण कार्यक्रममा सम्बोधन गर्दै उनले अन्य दलमा भन्दा एमालेमा फरक शक्ति र क्षमता भएको दाबी गदै एमालेलाई बाघ भएको संज्ञ दिएका थिए ।

‘नेकपा एमाले बाघ हो । माओवादी केन्द्र बिरालो हो ।’ हेर्दा उस्तै-उस्तै देखिन्छ’, उनले भने, ‘माओवाद आत्माघाती सिद्धान्त भएको हुँदा आजको दुनियाँमा माओवादबाट कुनै एउटा देश मुक्त भएका छैनन्, माओवादका कारण दुनियाँमा मान्छे कि त मरिरहेका छन् । कि त मारिरहेका छन् । न देश निर्माण गर्न सक्छ । न जनताको नेतृत्व गर्न सक्छ । न भोकको पेट भर्न सक्छ । न त नाङ्गाको आँङ ढाक्न सक्छ । न घरबार विहिनहरुको घर बनाउने अभियान चलाउन सक्छ । केही पनि छैन । उनीहरुले नै माओवाद गाउँछन् । माओवाद विनाशकारी बाटो हो ।’

उनले भने, ‘म प्रचण्ड जीसंग प्रश्न गर्न चाहान्छु, प्रचण्ड जीले आजसम्म माओवाद त्यागे भन्नु भाछ ? जनयुद्धमा १७ हजार नेपाली जनता मारिए । माओवादीप्रति जनतामा संसय, त्रास र अविश्वास रहेको छ ।’

एमालेको नेतृत्वमा मात्र विकास सम्भव रहेको बताउँदै उपमहासचिव गुरुङले भने, ‘हामीलाई कुनै डलर र कम्पनी चाँहिदैन, हाम्रै श्रोत र साधन परिचालन गरेर विकास गर्न सकिन्छ भन्ने एमालेप्रति जनताको विश्वास छ ।’

‘एमाले सागरको पनि महासागर भएकाले एमालेसंग कसैको तुलना हुन सक्दैन’, उनले भने, ‘संविधान निर्माण र राजतन्त्र फाल्न नेतृत्व गर्ने, नाकाबन्दीको सामाना गर्ने र राष्ट्रियहितमा काम गर्ने पार्टी एमाले हो । माधव नेपालसंग कुनै विचार र सिद्धान्त नै नभएकाले देशभर एमालेमा पार्टी प्रवेशको लहर चलेको र एमालेमा प्रवेश गर्नेहरुलाई उचित स्थान र जिम्मेवारी दिइने छ ।’

माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी एकीकृत समाजवादीलाई झुप्रोको संज्ञा दिंदै उनले भने, ‘नेता नेपालले कम्युनिस्ट पार्टीको हवेली नेकपा एमालेलाई छाडेर सडकमा सानो झुपडी बनाएका छन् ।’

‘हाम्रा पार्टीका नेता लोभिपापी हुन् । माधव नेपालले निकै ठूलो काम गर्नुभो । सुपरमार्केट जत्रो पार्टीको नेता बन्न सक्नुभएन । अधिकार जमाउन सक्नु भएन । चोरेर लगेर सडकमा एउटा सानो झुपडी बनाउनुभाछ’, उनले भने, ‘संघीयताको पक्षधर भनेको कस्तो हुनुपर्छ ? माधव नेपाल जस्तै सडक गएर रुनेहरू हुन् संघीयता पक्षधर !’

विदेशीको डिजाइनमा फसेर नेता नेपालले पार्टी फुटाएको आरोप लगाउँदै उपमहासचिव गुरुङले भने, ‘कुनै न कुनै दिन यो सबै कुराको पर्दाफास हुन्छ । त्यो दिन माधव नेपाल रोएर एउटै कुनामा बस्नु बाहेक अरू उपाय हुनेछैन । सबैले उहाँलाई छोड्छन् ।’

यस्तै, कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेलाई आफ्नो घर भनेर फर्किएका कसैलाई पनि पक्षपात नगरिने बताएका छन् । गुरुङले एमालेको गतिलाई छेक्ने तागत कसैको नभएको जिकिर गरे ।

केन्द्रीय सदस्य भगवती न्यौपानेले पुँजीवादीको नेतृत्वमा समाजवाद ल्याउने भन्दै माधव नेपालले भ्रम छरेको आरोप लगाइन् । माधव नेपालले आफ्नो खुट्टा काटेर हिँड्न नसक्ने भएपछि कांग्रेससित हे प्रभु भन्दै खुट्टा मागिरहेको उनको टिप्पणी छ ।

जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका दुइ जना वडाध्यक्ष र नेकपा एकीकृत समाजवादीका शुक्लागण्डकी नगर कमिटी सचिवसहितका तीन वटा वडा कमिटी एमालेमा समाहित भएका छन् ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, वडा नम्बर ७ का वडाध्यक्ष दीर्घबहादुर थापा तथा तीन वटा वडा कमिटी एमालेमा समाहित भएका हुन् । श्रेष्ठ र थापा एमाले विभाजनपछि नेकपा एसमा सनाखत गरेका थिए ।

त्यस्तै सोही कार्यक्रममा नेकपा एसका तनहुँ जिल्ला कार्यालय सदस्य तथा शुक्लागण्डकी नगर कमिटीका सचिव कमल ढकालसहित ६ जना जिल्ला कमिटी सदस्य पनि एमालेमा फर्किएक छन ।

नेकपा एस निकट अनेरास्ववियूका गण्डकी प्रदेश सचिव गोविन्द महतसहित सो संगठनको जिल्ला कमिटी पनि एमालेमा समाहित भएको अनेरास्ववियुका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker