सम्पादकीय : ऐना पहरा – पर्यटनको नयाँ गन्तव्य
नारायण खड्का

नेपालको पर्यटन हिमाल, पहाड र तराईका विविधता मात्रै होइन, त्यहाँका संस्कृति, कला, धर्म, जातीय पहिचान, जैविक विविधता र मानवीय सिर्जनशीलताको संगम हो । पछिल्ला वर्षहरूमा पर्यटन फुर्सदको मनोरञ्जन मात्र नभएर ज्ञान, अनुभूति र आत्मिक सन्तोषको माध्यम बनेको छ । यो मानवीय स्वभाव पनि हो–जहाँ नयाँ र अद्भुत कुरा देखिन्छ, त्यहीँ पुग्न मन लाग्छ । पृथ्वी राजमार्गमा यात्रा गर्दा तनहुँको आँबुखैरेनी र मस्र्याङ्दी जलविद्युत परियोजनाको बीचमा पर्ने “ऐनापहरा” त्यस्तै एक मनमोहक गन्तव्य बन्दै गएको छ । यहाँको झरना र झरनासँगै चट्टानमा कुँदिएका मूर्ति तथा अन्य पूर्वाधारले यात्रुहरूलाई अवरोध गरिरहेजस्तो लाग्छ । तर त्यो अवरोध होइन, आकर्षण हो । निजी सवारीमा यात्रा गर्ने पर्यटकहरू यहाँ रोकिन्छन्, झरनाको सौन्दर्य र पहरामा कुँदिएका मूर्तिको कला निहाल्छन् । सेल्फी, भिडिओ, पारिवारिक तस्बिरको पृष्ठभूमि बन्छ यो दृश्य ।
ऐनापहरामा अहिले हात्ती, गणेश, आमा–छोराको माया जस्ता आकृतिहरू ढुङ्गामा कुँदिएका छन् । यो पहरालाई कलाको माध्यमबाट बोल्ने बनाइएको छ । आँबुखैरेनी गाउँपालिकाले ऐनापहरालाई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीयस्थल बनाउने योजनामा रहेको छ । स्काइ साइक्लिङ, सिसाको पुल र पार्क निर्माणजस्ता पूर्वाधार विस्तार भइरहेका छन् । झरनामा रमाउनेको भिड हिउँदको तुलनामा वर्षायाममा बढी हुन्छ । ऐनापहरामा रहेको झरना महाभारत पर्वत श्रृंखलाबाट बगेर आएको सिउँदी खोलाबाट बनेको हो । प्रकृतिको श्रृंगार र मानवीय सिर्जनाको संगमले यहाँको पर्यटनमा नयाँ जीवन फुकाएको छ ।
नेपालको मूर्तिकलाको इतिहास प्राचीन कालदेखि सुरु भएको हो । लिच्छवि कालदेखि शाहकालसम्म, अनि आधुनिक युगमा पनि कलाकृतिहरू ढुङ्गामा अमर बनाइएका छन् । ऐनापहराको मूर्तिकला पनि त्यही परम्पराको निरन्तरता हो, जुन पर्यटकको आँखाले अनुभव गर्छ । गण्डकी प्रदेशको प्रवेशद्वार रहेको आँबुखैरेनी बजार इतिहास र धार्मिक दृष्टिले पनि महत्वपूर्ण छ । राजा राम शाहले अन्तिम प्राण त्यागेको भनिएको रामशाह घाट, दरौदी र मस्र्याङदीको दोभानजस्ता स्थलहरूले यस ठाउँको ऐतिहासिक गाथा बोकेका छन् । यात्रा केवल दृश्यदर्शन मात्र होइन, भावना, ज्ञान र आत्मिक अनुभव पनि हो । यही यात्रा छिम्केश्वरी नपुगी अधुरो रहन्छ । महाभारत पर्वतमा अवस्थित छिम्केश्वरी २१५० मिटरको उचाइमा रहेको रमणीय तीर्थ हो । यो तनहुँको सबै भन्दा अग्लो पहाडी श्रृंखलाका रुपमा ठडिएर बसेको छ । यहाँबाट हिमश्रृंखला, चितवनदेखि काठमाडौंसम्मका भूभाग र दर्जनौँ नदीहरू देख्न सकिन्छ । मनकामनाकी माइली बहिनीका रूपमा पुजिँदै आएकी छिम्केश्वरी माईको दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ ।
छिम्केश्वरी पुग्नका लागि लाब्दी हुँदै २५ मिनेटको छोटो पैदल यात्राबाट मन्दिर पुग्न सकिन्छ । यहाँ सामुदायिक होमस्टे छन्, जहाँ पर्यटकले गुरुङ संस्कृतिको स्वाद, स्थानीय खानाका परिकार र आत्मीय आतिथ्यता अनुभव गर्न सक्छन् । ऐनापहराको झरना र छिम्केश्वरीको अध्यात्मिक उचाइबाट फर्कदा मस्र्याङ्दी जलविद्युतको जलाशयमा मोटरबोटको सयर अर्को रमणीय अनुभूति हो । जलाशयमा फ्लोटिङ डेक, रिभर भ्यु, रेस्टुरेन्टजस्ता सुविधा छन् । यो क्षेत्रमा मोटरबोट सयर गर्ने पर्यटकले फोटोग्राफी, भिडिओ निर्माण लगायतका रमाइला गतिविधि गर्ने गरेका छन् ।
तनहुँमा अन्य पर्यटकीय गन्तव्यहरू : बन्दीपुर, देवघाटधाम, छाब्दी वराही, व्यास गुफा, घाँसीकुवा, मिर्लुङकोट, भानुभक्तको जन्मस्थल चुँदी रम्घा आदि पनि उत्तिकै लोभलाग्दा छन् । यिनमा सडक पुगिसकेको छ, पूर्वाधार विस्तार भइरहेका छन्। अहिलेको पर्यटन विकास प्रवृत्तिमा हेर्दा प्राकृतिक सौन्दर्यमा सिर्जनात्मक हस्तक्षेपले थप आकर्षण थपेको छ । मूर्तिकलाजस्ता त्रिआयामिक कलाले पर्यटन स्थललाई केवल देखिने मात्र होइन, अनुभूत हुने बनाउँछ । ऐनापहराको मूर्तिकला र झरना, छिम्केश्वरीको अध्यात्म, जलाशयको मोटरबोट र होमस्टे संस्कृतिको संगमले आँबुखैरेनीलाई नेपालको नयाँ बहुआयामिक पर्यटन गन्तव्य बनाउँदै लगेको छ ।