मिर्लुङ भयँरथान मन्दिरको पुनःनिर्माणका लागि सहयोग

दमौली : तनहुँको दोस्रो अग्लो पहाड मिर्लुङकोटको काखमा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्वको भयँरथान मन्दिर पुनर्निर्माणका लागि गुरुङ परिवारले आर्थिक तथा सामग्रीगत सहयोग प्रदान गरेका छन् ।
भानु नगरपालिका–१३ मिर्लुङकोटस्थित भयँरथान मन्दिरका लागि ब्यास–८, पुलिमराङका मुक्तिराज गुरुङ तथा उनकी धर्मपत्नी देविमाया गुरुङले मन्दिर पुनर्निर्माणका लागि रु तीन लाख २० हजार आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
यसअघि पनि सामाजिक तथा सामुदायिक कार्यमा सक्रिय रहँदै आएको गुरुङ दम्पतीले आफ्नो गाउँ ठाउँको विकासमा निरन्तर योगदान दिँदै आएका छन् ।
यसबाहेक, मन्दिरका लागि आवश्यक ४० केजी तौल बराबरको करिब ७५ हजार रुपैयाँ मूल्य पर्ने घण्टी समेत गुरुङ दम्पतीका साथै उनका ज्येष्ठ सुपुत्र सूर्यराज गुरुङले संयुक्त रूपमा सहयोग गरेका छन् । उक्त घण्टी व्यास–८ का वडा अध्यक्ष तथा काईला सुपुत्र युवराज गुरुङले मन्दिरका पुजारी देवबहादुर गुरुङलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन् ।
स्थानीय गल गुरुङ (दिपु)का अनुसार प्राप्त भएको यो सहयोगले भयँरथान मन्दिरको संरक्षण, विकास र धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास गरिएको छ । उनले मन्दिर पुनर्निर्माणसँगै स्थानीय क्षेत्रको सांस्कृतिक पहिचान र आस्थाको केन्द्रसमेत थप सुदृढ हुने अपेक्षा गरे ।










