पराशर पार्क : करोडौको लागतमा निर्माण गरिएका संरचना अलपत्र

भञ्ज्याङ समाचारदाता/दमौली

पर्यटकीय गन्तव्य थप गर्ने उद्देश्यका साथ निर्माण गरिएको पराशर पार्क अलपत्र अवस्थामा पुगेको छ । व्यास नगरपालिका-५ स्थित पाटनको व्यास परासर क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्ने भन्दै पार्क निर्माण कार्य अगाडि बढाइएको थियो । करोडौं रुपैयाँको लागतमा निर्माण गरिएका संरचना अहिले अलपत्र अवस्थामा पुगेको छ ।

सेती र मादी नदीको दोभानमा निर्माण गरिएको पार्कको लागत करिव ३ करोड रुपैयाँ रहेको छ । पार्क निर्माण पश्चात यसको संरक्षणको जिम्मा कसैले नलिइदिंदा पार्क जिर्ण अवस्थामा पुगेको बेनीपाटन टोलबिकास संस्थाका अध्यक्ष परशुराम गिरी बताउँछन् । उनले भने, ‘यसको संरक्षणको जिम्मा कसैले नपाउँदा पार्क वेवारिसे अवस्थामा पुगेको छ । बनाइएका संरचनाहरु पनि काम नलाग्ने आवस्थामा पुगेका छन् ।’

पार्कको दाँयाबाट सेती र बाँयाबाट मादी नदी बग्छन् । पार्कसंगै पराशर आश्रम छ । ४ वेद १८ पुराणका रचायिता वेदव्यासको तपोभुमिलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्न योजना अगाडि सरिएपनि निर्माण सम्पन्न नहुँदै अलपत्र हुन पुगेको उनले बताए । निर्माण गरिएको पार्कको दाँयाबाँया क्षेत्र तटबन्द नहुँदा नदीले कटान गर्दै लगेको छ ।

‘पार्कमा निर्माण गरिएको संरचनाका कतै टायल फुटेका छन् भने पार्कको छेउछाउमा नदी कटानका कारण टायल हराएका पनि छन्, तर यसको हेरचाहको जिम्मा भने कसैले लिएको छैन’, उनले भने, ‘जुन उद्देश्यले पार्क निर्माण गरियो त्यो अनुसारको प्रतिफल आउन सकेन । प्रयोगमा नआउदै, यसको उद्घाटन नहुँदै जिर्ण देखिन थालेको छ ।’

शहरी विकास तथा भवन निर्माण विभाग गोरखाले २०७५ साउन १६ गतेबाट निर्माण सुरु गरेको यो पार्क मुलुक संघीय संरचनामा गएसंगै संघीय आयोजना कार्यान्वयन इकाई, कास्कीले हेरेको छ । २०७६ माघ १६ गते नै निर्माण सम्पन्न यस पार्कमा बाढीका कारण क्षति पुगेपछि मर्मतसुधार र केही पुर्वाधार थपको काम भइरहेको इकाईकी इन्जिनियार रेखा लामिछानेले बताइन् ।

‘पार्कको निर्माण कार्य सम्पन्न भइसकेको छ’, इन्जिनियार लामिछानेले भनिन्, ‘शौचलायका लागि पानीको आवश्यक पर्ने भएकाले आर्थिक वर्ष ०७७/०७८ को बजेटले पानी ट्याङकी निर्माण कार्य भैरहेको छ । बाढीका कारण भत्किएको स्थानको मर्मत सुधार कार्य अगाडि बढाउने चरणमा छौं ।’ पानी ट्याङ्की निर्माणका लागि ५० लाख रुपैयाँ बिनियोजन भएको उनले बताइन् ।

उक्त व्यास पराशर पार्कमा माछाको आकारमा पानी पोखरी, क्यारी वल, पिक्निक स्पोर्ट, बास्केटबल कोट, एमपि थ्रेटर, पार्किङ स्थान निर्माण गरिएको छ । भ्याट र कन्टेन्जेन्सी बाहेक आयोजनाको कुल लागत ३ करोड ५३ लाख ७१ हजार ५७६ रहेकोमा भ्याट बाहेक कवोल अंक २ करोड ७९ लाख ९८ हजार ४०३ रुपैयाँ रहेको उनले बताइन् । उक्त पार्कको निर्माण जिम्मा न्यू ड्रैगन/ए.एन.जी.जे.भी काठमाडौले लिएको थियो ।

यस्तै, पार्क निर्माण गरी त्यसको स्वामित्व जिल्लामै हस्तान्तरण नगर्दा पार्कको संरक्षण हुन नसकेको व्यास-५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ बताउँछन् । उनले भने, ‘पर्यटकीय गन्तव्य विकासका लागि पार्क निर्माण गरिनु राम्रो कार्य हो तर, सरकारको लगानीको संरक्षण नहुँदा यति ठुलो लागनी बालुवामा पानी मिसाएको जस्तै भएको छ ।’ ‘पार्कलाई सुन्दर सफा देखाउन लगाइएको टायल उप्किने र भाँचिने भइसकेको छ’, उनले भने, ‘फुटेका टायल निर्माण, भत्केको ठाउँमा मर्मतसम्भार गर्ने कोही छैन ।

वडालाई पार्कको केही अधिकार छैन । सम्बन्धित निकायलाई बारम्वार झक्झकाउदा पनि सुनवाई हुन सकेको छैन । संघबाट प्रदेश आएको पार्क आयोजनालाई संरक्षण नगर्दा बनिसकेको पार्क अस्थव्यस्थ अवस्थामा पुगेको छ ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker