तनहुँमा डेंगी संक्रमितको ग्राफ दैनिक उकालो लाग्दै : आँवुखैरेनीका १ हजार २१३ जनामा संक्रमण पुष्टि

दमौली : तनहुँमा गत वर्ष जस्तै यस वर्ष पनि डेंगी संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । गत वर्ष तनहुँका करिब आठ हजार जनामा डेंगी संक्रमण देखिएको थियो भने पाँच जनाले डेंगी संक्रमणका कारण ज्यान गुमाएका थिए ।
यस वर्षको मनसुनी वर्ष सुरुभएसंगै जेठ १ गतेबाट तनहुँमा डेंगी संक्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय तनहुँका अनुसार बुधबारसम्म तनहुँमा १ हजार ७३४ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ भने १ जना पुरुषको डेंगी संक्रमणका कारण मृत्यु भएको छ ।
गत वर्ष सदरमुकाम दमौली बजार क्षेत्रमा महामारिकै रुप लिएर फैलिएको डेंगी यस वर्ष आँवुखैरेनी बजार क्षेत्र बढी प्रभावित भएको छ भने बन्दीपुर शुक्लागण्डकी र व्यास नगरपालिकमा संक्रमितको संख्या सय कटेको छ । घिरिङ गाउँपालिकामा हालसम्म संक्रमित भेटिएका छैनन् ।
स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्क अनुसार बुधबारसम्म आँवुखैरेनीमा १ हजार २१३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । आँवुखैरेनी गाउँपालिकाको आँवुखैरेनी बजार क्षेत्र डेंगी संक्रमणको हाटस्पोट बन्दै गएको छ । गत जेठ ३१ गते पहिलो डेंगी संक्रमित भेटिएको आँवुखैरेनीमा अहिले दैनिक २०÷३० जनामा संक्रमण देखिन थालेको छ ।
स्वास्थ्य कार्यालय तनहुँकी पब्लिक हेल्थ नर्स पुजा कुवँरका अनुसार शुक्लागण्डकी नगरपालिकामा २०३, व्यास नगरपालिकामा १५६, बन्दीपुर गाउँपालिकामा १०५, म्याग्दे गाउँपालिकामा ३०, भानु नगरपालिकामा १२, भिमाद नगरपालिकामा ६, ऋषिङ गाउँपालिकामा ३ र देवघाट गाउँपालिकामा ५ जना र अन्य १ जनामा बुधबारसम्म तनहुँका १ हजार ७३४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर ३ बजार क्षेत्रमा डेंगी संक्रमण फैलिएको छ । १५ शैयाको अस्पतलमा डेंगी संक्रमितको उपचारका लागि बेड पु¥याउन समस्य हुँदै आएको आँवुखैरेनी अस्पतालले जनाउँदै आएको छ ।
यस्तै, सेतो रगत कम हुँदै गएका बिरामीहरुलाई चितवन, पोखरा, काठमाडौं लगायतका अस्पतालमा रिफर गर्ने गरिएको आँवुखैरेनी अस्पतालका प्रमुख डा. डिबि क्षेत्रीले बताए । उनले भने, ‘हामीसंग रगत छुट्टयाउने मेशिन नभएकाले प्लेट्लेट घटेका, आईसियु सहितको उपचार आवश्यक परेका बिरामीलाई रिफर गरेका छौं ।’ जिल्ला अस्पताल दमौली, शुक्लागण्डकीस्थित जिपी कोइराला अस्पतालमा समेत सेतो र रातो रगत छुट्याउने मेशिन नरहेको र बिरामीलाई सेतो रगत चढाउनुपर्ने अवस्था आए रिफर गर्ने अस्पतालले जनाएको छ ।
यस्तै, डेंगी संक्रमण फैलिदा सबैकुरा व्यवस्थित गरेर उपचार सेवा दिन समस्य भएको अस्पतालकी नर्सिङ इन्चार्ज सिमा क्षेत्रीले बताइन् । उनले भनिन, ‘डेंगी संक्रमित धेरै भएकाले हामीले अस्पतालको खाली ठाउँमा पनि बेड राखेर बिरामीलाई उपचार गर्नुपर्ने अवस्था थियो । अहिले पनि कति संक्रमतिले बेड नपाएर घरबाटै आउने जाने गर्नुहुन्छ ।’
यस्तै, डेंगी संक्रमण बढ्न थालेपछि पालिकाले डेंगी संक्रमण फैलाउन सक्ने लामखुट्टे बस्ने सम्भावित ठाउँमा सरसफाई र लामखुट्टेका लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने, ‘बर्षातका समयमा परेको पानी जम्न गई सोही स्थानबाट संक्रमण फैलिएको प्रारम्भिक अनुमान गरिएको छ। अहिले पालिकाभित्रका पानी जम्ने स्थानहरु सफा गरी औषधी छर्किने काम भइरहेको छ ।’










