तिहार पर्व : फूल, दीप र आत्मीयताको त्रिवेणी

लक्ष्मी श्रेष्ठ

मानव जीवनलाई सुन्दर, सार्थक र उल्लासमय बनाउने अनेकौँ आधारमध्ये संस्कृति, परम्परा र आत्मीय सम्बन्धको विशेष महत्व रहन्छ । चाडपर्वहरू यिनै सांस्कृतिक मूल्य, सामाजिक सद्भाव र मानवीय संवेदनालाई जीवन्त राख्ने माध्यम हुन् । नेपाली समाजमा मनाइने विविध चाडपर्वमध्ये तिहार प्रकृति, संस्कृति, आस्था र आत्मीयताको अनुपम सङ्गमका रूपमा परिचित छ । सयपत्री र मखमली फूलको सुगन्ध, दीपको झिलिमिली प्रकाश, देउसीभैलोको मधुर गुञ्जन र दाजुभाइ दिदीबहिनीबीचको स्नेहपूर्ण सम्बन्धले यस पर्वलाई विशेष बनाएका छन् । तिहारलाई फूल, दीप र आत्मीयताको त्रिवेणीका रूपमा बुझ्न सकिन्छ, जहाँ फूलले प्रकृतिको सौन्दर्य, दीपले ज्ञान र चेतनाको उज्यालो तथा आत्मीयताले मानवीय सम्बन्धको न्यानोपन अभिव्यक्त गर्दछन् ।

तिहारको सांस्कृतिक सौन्दर्यमा फूलको महत्वपूर्ण स्थान छ । विशेषगरी सयपत्री र मखमली फूल यस पर्वका अभिन्न पहिचान बनेका छन् । घरका ढोका, झ्याल, आँगन र पूजास्थलमा सजाइने फूलमालाले वातावरणलाई सुन्दर र उल्लासमय बनाउँछन् । सयपत्रीको पहेँलो रङले उमङ्ग, उत्साह र समृद्धिको अनुभूति गराउँछ भने मखमलीको दीर्घस्थायित्वले प्रेम, विश्वास र सम्बन्धको निरन्तरताको प्रतीकात्मक अर्थ बोकेको हुन्छ । फूल केवल सजावटको वस्तु होइन, यो प्रकृतिको उपहार र मानवीय संवेदनाको अभिव्यक्ति पनि हो । तिहारमा फूलको प्रयोगले प्रकृतिप्रतिको सम्मान, सौन्दर्यबोध र मौलिक संस्कृतिप्रतिको अपनत्वलाई उजागर गर्दछ । फूलखेती तथा यसको व्यापारले कृषक र स्थानीय व्यवसायीको आर्थिक गतिविधिमा समेत योगदान पुर्याउँछ । त्यसैले तिहारमा स्थानीय उत्पादनलाई प्राथमिकता दिनु, प्राकृतिक फूलको संरक्षण गर्नु र स्वदेशी उत्पादनको उपयोग बढाउनु आर्थिक तथा सांस्कृतिक दृष्टिले पनि सान्दर्भिक हुन्छ । फूलको सुगन्धजस्तै हाम्रो व्यवहार र सम्बन्ध पनि सदैव सुगन्धित रहून् भन्ने सन्देश यस पर्वले प्रदान गर्दछ ।

तिहारको अर्को विशिष्ट पहिचान दीप हो । दीपावली अर्थात् दीपहरूको पंक्तिले घर, आँगन र बस्तीलाई उज्यालो बनाउने पर्वको रुपमा यसलाई लिइन्छ । लक्ष्मीपूजाको साँझ घर सफा गरी दीप प्रज्वलन गर्ने, झिलिमिली बत्ती बाल्ने, रङ्गोली बनाउने र घरलाई फूलमालाले सजाउने परम्पराले यस पर्वको सौन्दर्यलाई थप आकर्षक बनाउँछ । धार्मिक मान्यताअनुसार यस दिन धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ । स्वच्छता, परिश्रम, सकारात्मक सोच र समृद्धिप्रतिको आकार्षण यस परम्परासँग जोडिएका छन् ।

दीपको महत्व बाहिरी प्रकाशमा मात्र सीमित छैन । यसले अज्ञानतामाथि ज्ञानको, निराशामाथि आशाको, घृणामाथि प्रेमको र विकृतिमाथि सदाचारको विजयलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दछ । एउटा सानो दीपले पनि अँध्यारो वातावरणलाई उज्यालो बनाउन सक्छ भन्ने सत्यले व्यक्तिको सानो सकारात्मक प्रयासले पनि परिवार र समाजमा ठूलो परिवर्तन ल्याउन सक्ने सन्देश दिन्छ ।

आजको समयमा प्रविधिको विकाससँगै विद्युतीय बत्ती र आधुनिक सजावटले तिहारलाई थप आकर्षक बनाएका छन् । तथापि, बाहिरी झिलिमिलीभन्दा मन र व्यवहारको उज्यालो महत्वपूर्ण हुन्छ । देखासिकी, अनावश्यक खर्च, ध्वनि तथा वायु प्रदूषण र पटाकाको अत्यधिक प्रयोगले पर्वको मौलिक सौन्दर्यमा प्रतिकूल प्रभाव पार्न सक्छ । त्यसैले वातावरणमैत्री, मितव्ययी र मर्यादित ढङ्गले दीपावली मनाउनु समयसापेक्ष आवश्यकता हो । ज्ञान, विवेक, सहिष्णुता र सकारात्मक चेतनाको दीप प्रत्येक व्यक्तिको मनमा प्रज्वलित हुन सकेमा तिहारको सन्देश अझ सार्थक बन्नेछ ।

तिहारको तेस्रो तथा सबैभन्दा महत्वपूर्ण आयाम आत्मीयता हो । यस पर्वले मानिसलाई मानिससँग मात्र होइन, प्रकृति र अन्य जीवजन्तुसँग पनि प्रेमपूर्ण सम्बन्ध स्थापित गर्न प्रेरित गर्दछ । पाँच दिनसम्म मनाइने यमपञ्चकका प्रत्येक दिनले फरकफरक सन्देश प्रवाह गर्दछन् । काग तिहारमा कागको पूजा गरी प्रकृतिका जीवप्रतिको सम्मान व्यक्त गरिन्छ । कुकुर तिहारमा कुकुरको निष्ठा, इमानदारी र सुरक्षात्मक भूमिकाको कदर गरिन्छ । गाई तिहार तथा लक्ष्मीपूजाले पवित्रता, स्वच्छता र समृद्धिको कामना गर्दछन् । गोवर्धन पूजाले कृषि, श्रम र प्रकृतिको महत्वलाई उजागर गर्छ भने नेवार समुदायमा मनाइने म्हः पूजाले आत्मसम्मान, आत्मशुद्धि र आत्मबोधको सन्देश दिन्छ ।

तिहारको अर्को जीवन्त पक्ष देउसीभैलो हो । गाउँबस्ती र सहरका टोलटोलमा समूह बनाएर घरघरमा पुग्दै गीत गाउने, नाच्ने र शुभकामना आदानप्रदान गर्ने परम्पराले सामाजिक सम्बन्धलाई प्रगाढ बनाउँछ । देउसीभैलोका गीतमा नेपाली लोकजीवन, हास्यव्यङ्ग्य, सामाजिक चेतना र सांस्कृतिक पहिचानका विविध पक्ष समेटिएका हुन्छन् । यसले पुस्तान्तरण हुँदै आएको लोकसंस्कृतिको संरक्षण गर्नुका साथै सामूहिकता, सहकार्य र सामाजिक एकताको भावना विकास गर्दछ । यसको मौलिकता र मर्यादा कायम राख्नु वर्तमान पुस्ताको जिम्मेवारी हो । तिहारको अन्तिम दिन मनाइने भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र समर्पणको अनुपम प्रतीक हो । दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने, मखमली तथा सयपत्रीको माला पहिर्याउने र मिठा परिकार खुवाउने परम्परा छ । दाजुभाइले पनि दिदीबहिनीप्रति सम्मान, स्नेह र सद्भाव व्यक्त गर्दछन् । यस अवसरले टाढिएका आफन्तलाई नजिक ल्याउने, पुराना सम्बन्धलाई नवीकरण गर्ने र पारिवारिक आत्मीयतालाई अझ प्रगाढ बनाउने काम गर्दछ । यसको सन्देश दाजुभाइ तथा दिदीबहिनीमा मात्र सीमित नभई समग्र समाजमा प्रेम, विश्वास, सम्मान र सहयोगको भावना विस्तार गर्नु पनि हो ।

वर्तमान समाजमा तीव्र आधुनिकीकरण, प्रविधिको विस्तार, व्यस्त जीवनशैली र वैयक्तिकताका कारण पारिवारिक तथा सामाजिक सम्बन्धमा दूरी बढ्दै गएको अनुभूति हुन्छ । यस्तो अवस्थामा तिहारले मानिसलाई आफ्नो मौलिक पहिचान, पारिवारिक सम्बन्ध र सामाजिक उत्तरदायित्व स्मरण गराउँछ । सामाजिक सञ्जालमा शुभकामना साटासाट गर्नु उपयोगी भए पनि प्रत्यक्ष भेटघाट, आत्मीय संवाद र मानवीय सम्बन्धको विकल्प बन्न सक्दैन । त्यसैले प्रविधिको सदुपयोग गर्दै मौलिक संस्कार र परम्परालाई जीवन्त राख्नु आवश्यक छ ।

त्यसैगरी चाडपर्वलाई खर्च र प्रदर्शनको प्रतिस्पर्धा बनाउनुको सट्टा खुसी, सद्भाव र सहयोगको अवसरका रूपमा लिनुपर्छ । आर्थिक अवस्था कमजोर भएका परिवार, ज्येष्ठ नागरिक, असहाय तथा एक्लोपन अनुभव गरिरहेका व्यक्तिहरूलाई समेत पर्वको खुसीमा सहभागी गराउन सकियो भने तिहारको मानवीय महत्त्व अझ उचो हुनेछ । पर्वको वास्तविक सफलता घरको सजावट र उपहारको मूल्यमा होइन, मानिसको मनमा सिर्जना हुने खुसी, सम्मान र आत्मीयतामा निहित हुन्छ ।

तिहार फूल, दीप र आत्मीयताको सुन्दर त्रिवेणी हो । फूलले प्रकृतिको सौन्दर्य र जीवनको कोमलता सिकाउँछ, दीपले ज्ञान, चेतना र सकारात्मकताको प्रकाश फैलाउन प्रेरित गर्छ भने आत्मीयताले सम्बन्धमा प्रेम, विश्वास र सद्भावको आधार निर्माण गर्दछ । यस पर्वका विविध गतिविधि, धार्मिक आस्था र सांस्कृतिक परम्पराले नेपाली समाजको मौलिक पहिचानलाई जीवन्त राखेका छन् । त्यसैले तिहारलाई केवल औपचारिक धार्मिक अनुष्ठान वा मनोरञ्जनको पर्वका रूपमा सीमित गर्नुहुँदैन । यसले प्रदान गर्ने मानवीय मूल्य, सांस्कृतिक चेतना र सामाजिक एकताको सन्देशलाई दैनिक जीवनमा समेत आत्मसात् गर्नुपर्छ ।

अन्ततः घरआँगनमा सयपत्री फुलिरहून्, प्रत्येक मनमा सद्विचारका दीप बलिरहून् र मानवीय सम्बन्धमा आत्मीयताको सुगन्ध फैलिरहोस् । फूलको सुन्दरता, दीपको उज्यालो र आत्मीयताको न्यानोपनले हाम्रो व्यक्तिगत जीवन मात्र होइन, समग्र समाजलाई नै सुन्दर, सभ्य र समुन्नत बनाउन सकोस् । यही नै तिहारको वास्तविक सन्देश र ‘फूल, दीप र आत्मीयताको त्रिवेणी’ को सार्थकता हो । तिहार नेपाली समाजको सांस्कृतिक वैभव, धार्मिक आस्था र सामाजिक आत्मीयताको अनुपम उत्सव हो । कागको सम्मानदेखि कुकुरको निष्ठासम्म, गाई र लक्ष्मीको पूजादेखि गोवर्धन तथा म्हः पूजासम्म, देउसीभैलोको सामूहिक उल्लासदेखि भाइटीकाको पवित्र सम्बन्धसम्म यस पर्वका प्रत्येक गतिविधिले विशिष्ट जीवनदर्शन बोकेका छन् । यसले मानिसलाई प्रकृतिसँग प्रेम गर्न, श्रमको सम्मान गर्न, सम्बन्धको मूल्य बुझ्न र समाजमा सद्भाव कायम राख्न प्रेरित गर्दछ । तिहारको वास्तविक उज्यालो दियो र बत्तीमा मात्र होइन, मानवीय व्यवहार, विचार र सम्बन्धमा पनि प्रतिबिम्बित हुनुपर्छ । घरआँगनमा बल्ने दीपले अँध्यारो हटाएझैँ मनभित्रको अहंकार, द्वेष र वैमनस्य हटाएर प्रेम, सद्भाव र सहिष्णुताको प्रकाश फैलाउन सकियो भने मात्र तिहारको सार्थकता पुष्टि हुनेछ । त्यसैले फूलको सुगन्ध, दीपको उज्यालो र आत्मीय सम्बन्धको मिठासलाई जीवन्त राख्दै तिहारलाई हाम्रो मौलिक पहिचान र सामाजिक एकताको जीवन्त प्रतीकका रूपमा निरन्तरता दिनु आजको आवश्यकता हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker