बन्दीपुरको छाप–नहाला खानेपानीको १२औं साधारण सभा

डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेको छाप नहाला खानेपानी योजना उपभोक्ता समितिको १२औँ साधारण सभा शनिबार सम्पन्न भएको छ ।
उपभोक्ता समितिका अध्यक्ष ईमनाथ खनालको अध्यक्षतामा आयोजित साधारण सभाको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले उद्घाटन गर्दै पालिकावासीलाई खानेपानी अभावका कारण दुःख नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले खानेपानी, विद्युत् र स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । उनले आगामी दिनमा पनि खानेपानी योजनासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङले आफूहरू जनप्रतिनिधि बनेपछि विकास निर्माणका साथै जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताइन् ।
साधारण सभामा वडा नं. १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ, दमौली खानेपानी उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, बन्दीपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष बाबुराम थापा, भादगाउँ खानेपानी उपभोक्ता समितिका सचिव राजेश्वर हड्खले, छाप नहाला खानेपानीका निवर्तमान अध्यक्ष परशुराम अधिकारी, वडा सदस्य तथा छपेली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विजय राना, बन्दीपुर महिला विकास बहुउद्देश्य सहकारी संस्थाकी अध्यक्ष दिलमाया थापा, पवित्र माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै खानेपानी समितिमा आबद्ध भई आम नागरिकको सेवा गर्नु महत्वपूर्ण र पुण्यकार्य भएको उल्लेख गरे ।
कार्यक्रमको सहजीकरण समितिका सचिव गोविन्द अधिकारीले गरेका थिए भने कोषाध्यक्ष शिवकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
छाप नहाला खानेपानी योजना उपभोक्ता समितिले उजेली, शिखरडाँडा, भेन्टाबारी, आरुबोटे, गुरुङटार, सानो डुम्रे, डुम्रे र कल्याणटार क्षेत्रका करिब १ हजार ५ सयभन्दा बढी घरधुरीलाई नियमित खानेपानी सेवा प्रदान गर्दै आएको समितिले जनाएको छ ।










