तनहुँमा सार्वजनिक जग्गा संरक्षणका लागि कार्ययोजना बनाएर अघि बढ्ने

तनहुँ : तनहुँमा सरकारी तथा सार्वजनिक जग्गाको संरक्षणलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले सक्रियता देखाएको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रशासनले जिल्लाभर मिचिएका जग्गाको यकिन लगत संकलन, अभिलेख अद्यावधिक तथा अतिक्रमण हटाउने तयारी अघि बढाएको हो ।
यसै सन्दर्भमा बुधबार जिल्लाका १० वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा जनप्रतिनिधि, सुरक्षा निकाय, सडक, मालपोत, नापी कार्यालय र जिल्ला समन्वय समिति तनहुँसहित सरोकारवाला निकायबीच छलफल गरिएको थियो ।
बैठकमा सार्वजनिक जग्गाको वास्तविक अवस्था पहिचान गर्ने, अतिक्रमण भएको पाइएमा कानुनी प्रक्रिया पूरा गरी हटाउने तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय तहको भूमिका सुदृढ गर्ने विषयमा केन्द्रित छलफल भएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि प्रशासन स्थानीय तहसँग समन्वय गर्दै अघि बढ्ने बताए । उनका अनुसार सरकारी तथा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन गृह मन्त्रालयबाट स्पष्ट निर्देशन आएको छ । उनले भने, ‘सबै पालिकासँग समन्वय गरेर कार्ययोजना बनाउने र आवश्यक सुरक्षा प्रबन्ध मिलाएर अभियान अघि बढाइने छ ।’
नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत एक सय बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा ९२ मा सार्वजनिक जग्गाको संरक्षण, डिजिटल अभिलेख तयार गर्ने, निगरानी प्रणाली सुदृढ गर्ने, अवैध कब्जा हटाउने तथा नयाँ अतिक्रमण रोक्न विशेष अभियान सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
सोही कार्यसूचीलाई आधार मानेर तनहुँ प्रशासनले जिल्लास्तरमा तयारी अघि बढाएको जनाएको छ। बैठकमा स्थानीय तहसँग अभिलेख भए/नभएको अवस्था बुझ्ने, नभए अभिलेख तयार गर्ने, अव्यवस्थित बसोबास, सुकुम्बासी तथा अतिक्रमित जग्गाको विवरण संकलन गर्ने तथा प्राथमिकताका आधारमा कार्ययोजना बनाई प्रशासनमार्फत गृह मन्त्रालयलाई जानकारी गराउँदै अघि बढ्ने विषयमा समेत छलफल गरिएको थियो ।
यस निर्णयसँगै तनहुँमा सार्वजनिक सम्पत्तिको संरक्षण, व्यवस्थापन र उपयोगमा सुधार आउने अपेक्षा गरिएको छ ।










