सामुदायिक वन दिवसका अवसरमा शुक्लागण्डकीमा वृक्षारोपण

दुलेगौंडा : सामुदायिक वन दिवसका अवसरमा तनहुँको शुक्लागण्डकीमा वृक्षारोपण गरिएको छ । ‘समयमै कार्ययोजना नवीकरण गरौं, सामुदायिक वनलाई गतिशील बनाऔं’ भन्ने नाराका साथ शुक्लागण्डकी–७ स्थित पञ्चासे वेलौंते सामुदायिक वनमा आइतबार वृक्षारोपण गरिएको हो ।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशवराज पौडेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँका प्रमुख शरदकुमार अधिकारीले सामुदायिक वन र दिवसको उद्देश्यका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले समुदाय र सामुदायिक वनको सम्बन्ध नङ र मासुको जस्तै भएका कारण वनको संरक्षण र व्यवस्थापन गर्दै आयआर्जनमा जोड दिनुपर्नेमा जोड दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, सामुदायिक वन उपभोक्ता महासंघ तनहुँका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, शुक्लागण्डकी–७ का वडाध्यक्ष खड्गसिं राना, नेपाल वन पैदावार उद्योग व्यवसायी संघ तनहुँका अध्यक्ष दिपबहादुर श्रेष्ठ लगायतले वनको महत्व, वन पैदावारको सदुपयोग, वन्यजन्तुको संरक्षण तथा सामुदायिक वनलाई गतिशील बनाउन आवश्यक पहलबारे आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
उक्त अवसरमा वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेल, राष्ट्रिय अनुसन्धान उपनिर्देशक मनोज ढकाल, शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धि बहादुर थापा, निजी वन सञ्जाल तनहुँका अध्यक्ष मुक्तिनाथ तिम्सिना, वन कार्यालयका अधिकारी, उद्योग व्यवसायी, सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ताहरूको उपस्थिति रहेको वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी गराए ।










