तउवा संघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन

तनहुँ उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा शपथग्रहण गरिएको छ । संघका निवर्तमान अध्यक्ष वैकुण्ठनाथ मिश्रले नवनिर्वाचित अध्यक्ष इमकुमार मल्ललाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
जिल्लास्थित उद्योगी, व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा अतिथिहरूको उपस्थितिमा आयोजित पदस्थापन एवं शपथग्रहण कार्यक्रममा शपथग्रहणपछि अध्यक्ष मल्लले उद्योग, व्यापार र व्यवसायिक हकहित संरक्षण गर्दै संघलाई थप सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष मल्लले त्यसपश्चात संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । उनले आगामी कार्यकालमा उद्योग–व्यवसायमैत्री वातावरण सिर्जना, लगानी प्रवद्र्धन, निजी क्षेत्रको समस्या समाधान तथा संघको संस्थागत क्षमता अभिवृद्धिमा विशेष ध्यान दिइने बताए ।
कार्यक्रममा वक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जिल्लाको आर्थिक विकासमा उद्योग वाणिज्य संघको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष देवकुमार श्रेष्ठ, प्रदेश अस्पताल दमौलीका अध्यक्ष कमलामोहन वाग्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै, संघको महासचिव पदमा सुरेश पुरी मनोनित गरिएको छ । संघको सोमबार बसेको कार्यसमितिको पहिलो बैठकले पुरीलाई महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो ।










