तनहुँको म्याग्दे गाउँपालिकाले एकीकृत घुम्ति शिविर सञ्चालन गर्ने
भञ्ज्याङ समाचारदाता/काठमाडौं

तनहुँको म्याग्दे गाँउपालिकाले सेवाग्राहीको आवश्यकतालाई सहजिकरण गर्दै सेवालाई प्रभावकारी बनाउन एकीकृत घुम्ति शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले असोज २ देखि ३१ गतेसम्म पालिकाका वडावडामा शिविर सञ्चालन गर्ने भएको हो ।
एकीकृत घुम्ति शिविरमा प्राविधिक योजना शाखा अन्तर्गत योजना सम्झौता, सुझाव तथा परामर्श, स्वास्थ्य आयुर्वेद शाखा अन्तर्गत समान्य स्वास्थ्य परीक्षण, उपचार व्यवस्थापन, परामर्श तथा औषधी वितरण, क्षयरोग स्कृनिङ, सुगर परीक्षण, पोषण सेवा, भिआईए स्कृनिङ, प. नि. सेवा तथा परामर्श र कोभिड-१९ विरुद्धको खोप लगायतका सेवा प्रवाह गरिने गाउँपालिकाले जनाएको छ ।
यस्तै, कृषि शाखा अन्तर्गत हिउँदे वालीको वीउ वितरण, विषादी वितरण, फर्म दर्ता सम्बन्धी आवश्यक कागजातको जानकारी, अनुदान सम्वन्धी जानकारी तथा माग संकलन रहनेछ । पशु शाखा अन्तर्गत गोवर परीक्षण एवं औषधी वितरण, प्रशासन शाखा अन्तर्गत व्यवसाय दर्ता तथा विभिन्न विषयमा जानकारी गराउने गाउँपालिकाले जनाएको छ ।
शिविरमा पञ्जीकरण शाखा अन्तर्गत विभिन्न किसिमका घटना दर्ता तथा सामाजिक सुरक्षा सम्वन्धी सेवा, महिला तथा वालवालिका शाखा अन्तर्गत ज्येष्ठ नागरिक परिचयपत्र र अपाङगता परिचयपत्र वितरण गरिनेछ भने घरनक्शा शाखा अन्तर्गत निःशुल्क घर नम्वर प्लेट वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।










