तनहुँलाई विश्वस्तरमा चिनाउने राप्रपाका उम्मेदवार जोशीको प्रतिवद्धता

दमौली : तनहुँ क्षेत्र नम्बर–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रामदत्त (अभिषेक) जोशीले देवभूमि तनहुँको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानलाई विश्वस्तरमा स्थापित गर्ने लक्ष्यसहित आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन् ।
सोमबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जोशीले देवघाटधाम, महर्षि वेदव्यासको जन्मस्थल दमौली, व्यासकी आमा छाब्दी बाराही, आदिकवि भानुभक्त आचार्यको जन्मभूमि लगायत तनहुँका धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचार–प्रसारमार्फत क्षेत्रलाई समृद्ध बनाउने आफ्नो योजना रहेको स्पष्ट पारे। उनले धार्मिक पर्यटन प्रवर्द्धन गरी स्थानीय अर्थतन्त्र बलियो बनाउने आफ्नो प्राथमिकता रहेको बताए ।
मुक्तिनाथमा हरेक वर्ष लाखौं भारतीय तीर्थयात्री पुग्ने भएपनि आदिप्रयागका रूपमा चिनिने देवघाटधाम र महर्षि वेदव्यासको जन्मस्थलसम्म ती पर्यटकलाई आकर्षित गर्न नसकिएको उल्लेख गर्दै जोशीले यस क्षेत्रको महत्व विश्व समुदायसमक्ष पु¥याउन आफू लागिपर्ने बताए। कला, धर्म र संस्कृतिको संरक्षण र संवद्र्धनबाट आर्थिक समृद्धि सम्भव हुने उनको भनाइ थियो ।
धर्म र संस्कृतिको क्षयसँगै देशको अस्तित्वसमेत संकटमा पर्ने धारणा राख्दै जोशीले सनातन धर्मको रक्षाका लागि देवभूमि तनहुँबाट उम्मेदवारी दिएको बताए। उनले राजसंस्थाको अन्त्यपछि धर्म–संस्कृतिमाथि अतिक्रमण बढेको दाबी गर्दै राजसंस्थाको पुनःस्थापना र नेपाललाई सनातन धर्मको मुलुकका रूपमा स्थापित गर्ने आफ्नो उद्देश्य रहेको उल्लेख गरे ।
हिन्दु धर्मका अभियन्ता समेत रहेका जोशीले तनहुँजस्तो पवित्र भूमिबाट हिन्दु विरोधी शक्तिले निर्वाचन जित्न नहुने धारणा व्यक्त गरे। उनले धर्मनिरपेक्षताको नाममा दोहोरो चरित्र देखाउने प्रवृत्तिप्रति प्रश्न उठाउँदै, भोट माग्दा हिन्दु मन्दिर प्रयोग गर्ने तर व्यवहारमा हिन्दु संस्कृतिको अवमूल्यन गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए ।
जोशीले हिन्दु अधिराज्यको अवधारणा कुनै पनि आस्थाविरुद्ध नभएको स्पष्ट पार्दै नेपालका चार सभ्यता–हिन्दु, बौद्ध, किराँत र बोनको संवैधानिक सम्मान हुनुपर्ने धारणा राखे । अन्य धर्मावलम्बीलाई पनि पूर्ण धार्मिक स्वतन्त्रता रहने प्रतिबद्धता व्यक्त गर्दै कसैमाथि विभेद वा अपहेलना गर्ने आफ्नो उद्देश्य नरहेको उनले बताए ।










