जनतामाझ पार्टीले गरेका काम पुर्‍याउन नसक्दा हार बेहोर्नुपर्‍यो : एमाले

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले पार्टीले गरेका काम र भोगेका घटनाक्रम जनतासम्म स्पष्ट रूपमा पुर्‍याउन नसक्दा निर्वाचनमा हार बेहोर्नुपरेको निष्कर्ष निकालेको छ ।

शनिबार फागुन ३० गते अध्यक्ष केपी ओली निवास भक्तपुरको गुण्डुमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी सचिव लेखराज भट्टले यस्तो बताएका हुन् ।

भट्टका अनुसार पार्टीले गरेका काम, भदौ २३ र २४ गते भएको घटनासहितका विभिन्न राजनीतिक घटनाक्रम तथा पार्टी नेतृत्वमाथि भएको आक्रमणलाई जनतामाझ स्पष्ट रूपमा राख्न नसक्दा जनमत प्रतिकूल गएको बुझाइ बैठकमा व्यक्त भयो ।

उनले भने, ‘हामीले गरेका काम जनतासम्म पुर्‍याउन सकेनौँ । भदौ २३ गतेको घटना पनि जनतासँग प्रस्ट पार्न सकेनौँ, त्यसैले हार बेहोर्नुपर्‍यो । ती घटनाक्रममा पार्टी नेतृत्वको भूमिका के थियो र पार्टीमाथि कसरी आक्रमण भयो भन्ने कुरा जनतामाझ लैजान सकेनौँ।’

भट्टका अनुसार पार्टी र नेतृत्वप्रति विभिन्न किसिमका आरोप र आलोचना हुँदै एउटा प्रकारको भाष्य निर्माण भएको थियो । उक्त भाष्यलाई तथ्यका आधारमा जनतामाझ स्पष्ट पार्न नसक्दा एमालेविरुद्ध जनमत गएको निष्कर्ष पार्टीभित्र बनेको छ ।

‘एमाले र नेतृत्वप्रति आक्रमण भयो, तर त्यो कुरा जनताबिच प्रभावकारी रूपमा बुझाउन सकेनौँ । त्यसले एउटा खालको भ्रम पैदा गर्‍यो र त्यही भाष्यले हाम्रो विपरीत जनमत बन्यो भन्ने बुझाइ बनेको छ,’ उनले भने ।

यसैबिच पदाधिकारी तहमा विवाद चलेको भन्ने विषयमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा भट्टले आफूलाई त्यस्तो विवाद भएको जानकारी नभएको बताए । ‘म त भर्खरै हिजो राति मात्रै आएको हुँ, मैले त्यति बुझ्या छैन । कहाँ आरोप–प्रत्यारोप भयो भन्ने विषयमा जानकारी छैन,’ उनले भने ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker