आदिकवि भानुभक्त क्याम्पसमा गणित शिक्षण सामग्री निर्माण कार्यशाला सुरु

दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा “गणित शिक्षण सामग्री निर्माण तथा प्रदर्शनी कार्यशाला” शनिबारदेखि सुरु भएको छ । शिक्षा शास्त्र विभाग र गणित विद्यार्थी सर्कलको संयुक्त आयोजनामा उक्त कार्यशाला सञ्चालन गरिएको हो ।
कार्यशालाको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख तथा क्याम्पसका पूर्व प्रमुख बैकुण्ठ न्यौपानेले गणित विषयलाई व्यवहारिक र सिर्जनात्मक ढङ्गले पढाउन–सिकाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले विद्यार्थीहरूलाई प्रयोगात्मक गणित शिक्षणमा जोड दिन आग्रह समेत गरे ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव सुनारले गणित शिक्षणलाई सरल, रोचक र प्रभावकारी बनाउन सामग्री निर्माण कार्यशालाको महत्त्व रहेको उल्लेख गरे । सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीले विद्यार्थीहरूमा सिर्जनशीलता र अनुसन्धानमुखी सोच विकास गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, गणित शिक्षा परिषद्का केन्द्रीय सदस्य तथा सहायक प्राध्यापक नरेन्द्र पौडेल, शिक्षा विभाग प्रमुख गजेन्द्र पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै, उक्त अवसरमा बिएड चौथो वर्षमा गणित अध्ययनरत छात्रा पवित्र श्रेष्ठलाई शिक्षा सेवा आयोगले लिएको निमावि तहको परीक्षा उत्तीर्ण गर्न सफल भएकोमा सम्मान गरिएको थियो ।
कार्यशालाका मुख्य प्रशिक्षक त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. बेदप्रसाद ढकाल र प्रशिक्षकमा गणित शिक्षक परिषद् तनहुँ शाखाका अध्यक्ष तथा सहायक प्राध्यापक अनिल श्रेष्ठ रहेका छन् ।
कार्यशालामा स्नातक तहमा गणित विषय अध्ययनरत तथा आदि कवि भानुभक्त माध्यमिक विद्यालयको कक्षा १२ मा गणित अध्ययनरत गरी ६२ जना विद्यार्थीको सहभागिता रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी गराए । उनका अनुसार कार्यशालाले विद्यार्थीहरूमा गणितप्रतिको रुचि, आत्मविश्वास र सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।










