विकासका पाइला अविचलित हुन्छन्
सुरेशकुमार पाण्डे

मानव समाजले आज विकासका अनेकौँ खुड्किला पार गरिसकेको छ । तर विकास आफैँ हुँदैन । त्यसका लागि मानिसले निरन्तर संघर्ष, श्रम, अध्ययन, अनुसन्धान र जोखिम मोल्नुपर्छ । एउटा बालकले आमाको गर्भभित्रै आफ्नो अस्तित्व र विकासका लागि संघर्ष गरेझैँ मानव सभ्यताको विकास पनि निरन्तर संघर्षकै परिणाम हो ।
जन्म र मृत्यु प्रकृतिको अनिवार्य नियम हो । परिवर्तन पनि त्यस्तै प्राकृतिक प्रक्रिया हो । कुनै वस्तु वा घटनालाई केवल बाहिरी रूपबाट हेरेर निष्कर्षमा पुग्नु उचित हुँदैन । त्यसका सकारात्मक र नकारात्मक दुवै पक्षको अध्ययन आवश्यक हुन्छ। समाज, राजनीति, विज्ञान र प्रकृतिका घटनालाई पनि यही दृष्टिकोणबाट हेर्नुपर्छ ।
मानिसको स्वभावमा शंका र विश्वास दुवै हुन्छन् । शंका मात्रै गर्नु पनि उचित होइन, तर आवश्यक ठाउँमा प्रश्न उठाउनु र सत्य खोज्नु पनि मानिसको विवेकशीलताको परिचय हो। मानिसको विचार समयअनुसार परिवर्तन हुन सक्छ। हिजो सही ठानिएको कुरा आज गलत प्रमाणित हुन सक्छ र हिजो गलत देखिएको कुरा आज नयाँ सन्दर्भमा सही हुन सक्छ। त्यसैले व्यक्तिको मूल्याङ्कन उसको भनाइभन्दा पनि व्यवहार र कर्मबाट गर्नुपर्छ ।
जोखिमबिना विकास सम्भव छैन
कतिपय मानिस जोखिम लिनु हुँदैन भन्छन् । तर जोखिम लिन नसक्ने हो भने मानव समाज आजको अवस्थासम्म आइपुग्ने थिएन । नयाँ बाटो हिँड्ने, नयाँ कुरा सोच्ने, प्रश्न गर्ने र प्रयोग गर्ने साहसकै कारण विज्ञान र प्रविधिको विकास भएको हो । हरेक जोखिम सफल हुन्छ भन्ने छैन। कहिलेकाहीँ जोखिमले असफलता पनि दिन्छ। तर असफलताबाट सिकेर पुनः प्रयास गर्ने क्षमता नै मानिसको वास्तविक शक्ति हो । दृढ विचार, अनुशासन र आत्मविश्वासका साथ लिइएको जोखिमले सफलताको बाटो खोल्न सक्छ । मानव इतिहासमा भएका ठूला उपलब्धिहरू पछाडि यस्तै साहस, अनुसन्धान र प्रयोगको लामो यात्रा छ ।
त्यसैले अरूको सफलताप्रति ईष्र्या गर्नुको सट्टा त्यसबाट प्रेरणा लिनुपर्छ । अध्ययन गर्ने, अनुसन्धान गर्ने र नयाँ कुरा सिक्ने बानीले मात्रै समाजलाई अगाडि बढाउन सक्छ । मानिसको अर्को कमजोरी क्रोध हो। रिसले मानिसलाई क्षणिक रूपमा शक्तिशाली देखाए पनि अन्ततः विवेक कमजोर बनाउँछ । अरूको प्रगतिप्रति ईष्र्या र आक्रोश राखेर सफलता हासिल गर्न सकिँदैन । हजारौँ लडाइँ जित्नु ठूलो कुरा होइन, आफूभित्रको अहंकार, लोभ, क्रोध र कमजोरीमाथि विजय प्राप्त गर्नु अझ ठूलो उपलब्धि हो ।
सत्यको बाटो कठिन भए पनि अविचलित हुन्छ
मानव सभ्यताको यात्रामा सत्यको खोज सधैँ महत्वपूर्ण रहँदै आएको छ । सत्य स्वीकार गर्न कहिलेकाहीँ कठिन हुन्छ, तर त्यसबाट भागेर दीर्घकालीन समाधान प्राप्त हुँदैन । विज्ञानको विकास पनि यही प्रश्न गर्ने र प्रमाण खोज्ने संस्कृतिबाट सम्भव भएको हो । गौतम बुद्धका शिक्षाले पनि सत्य, विवेक, आत्मअनुशासन र करुणाको बाटो देखाउँछन् । सत्यको बाटोमा हिँड्ने मानिसलाई अनेकौँ अवरोध आउन सक्छन्, तर सत्यको खोज छाड्नु हुँदैन । मानिसले अन्धविश्वासभन्दा विवेक, भ्रमभन्दा प्रमाण र आवेगभन्दा तर्कलाई प्राथमिकता दिन सके मात्रै समाज वास्तविक अर्थमा प्रगतिशील बन्न सक्छ ।
आज विज्ञान र प्रविधिले संसारलाई अभूतपूर्व रूपमा परिवर्तन गरेको छ । रोबोटिक्स, कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, अन्तरिक्ष अनुसन्धानदेखि स्वास्थ्य र सञ्चार क्षेत्रमा भएका उपलब्धिले मानव जीवनको परिभाषा नै बदलिरहेका छन्। कृत्रिम बुद्धिमत्ता अर्थात् एआईले मानिसले कल्पना नगरेका सम्भावनाका ढोका खोलिरहेको छ ।
यो कुनै चमत्कार वा मन्त्रको परिणाम होइन । यो वर्षौँको अध्ययन, अनुसन्धान, प्रयोग र मानवीय बुद्धिको परिणाम हो। तर विज्ञानले दिएका उपलब्धिलाई स्वीकार गर्दै गर्दा विवेकपूर्ण ढङ्गले त्यसका जोखिम र सीमाबारे पनि बहस गर्न आवश्यक छ। विज्ञानको विरोध होइन, विज्ञानको जिम्मेवार प्रयोग आजको आवश्यकता हो।
विपत्ति र हाम्रो सोच
मानिस सधैँ सुरक्षित र शान्त जीवनका लागि संघर्षरत छ । खान, लगाउन र बाँच्नका लागि श्रम गर्छ । तर यही समाजमा अरूको श्रम र पसिनामाथि आफ्नो स्वार्थ पूरा गर्न खोज्ने प्रवृत्ति पनि छ । यही असमानता, शोषण र स्वार्थले संसारका धेरै द्वन्द्वलाई जन्म दिएको इतिहास छ ।
शक्तिशाली राष्ट्रहरूले आफ्नो आर्थिक र सामरिक प्रभाव विस्तार गर्ने क्रममा कमजोर मुलुक र समुदायमाथि विभिन्न प्रकारका दबाब सिर्जना गरेका उदाहरण विश्व इतिहासमा प्रशस्त छन् । युद्ध, हतियारको होड र प्राकृतिक स्रोतको दोहनले मानव समाजलाई दीर्घकालीन जोखिमतर्फ धकेलिरहेको छ ।
यही सन्दर्भमा अहिले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई पनि केवल एउटा आकस्मिक प्राकृतिक घटना भनेर टारेर पुग्दैन । बाढीले निम्त्याएको मानवीय क्षति अत्यन्त पीडादायी छ । मानिसले ज्यान गुमाएका छन्, परिवार विछोडिएका छन्, कतिपय बेपत्ता छन् । सडक, पुल, जलविद्युत् आयोजना, घरबस्ती र अन्य भौतिक संरचनामा क्षति पुगेको छ । देश शोकमा छ ।
तर यस्तो विपत्तिको कारणबारे बहस गर्दा हामी भावनामा मात्रै होइन, तथ्य र विज्ञानमा पनि उभिनुपर्छ । कसैले यसलाई सरकारको कमजोरी भन्छ, कसैले दैवी विपत्ति, कसैले पापको सजाय। तर प्रश्न उठ्छ– …दैवÚ भनेको के हो ? त्यसको वैज्ञानिक व्याख्या के हो ? विपत्तिलाई केवल भाग्य वा दैवी शक्तिसँग जोडेर हेर्दा हामीले वास्तविक कारण पहिचान गर्ने अवसर गुमाउन सक्छौँ ।
जलवायु परिवर्तनलाई बेवास्ता गर्न मिल्दैन
विश्व अहिले जलवायु परिवर्तन र वातावरणीय असन्तुलनको गम्भीर चुनौतीमा छ । औद्योगिकीकरण, जीवाश्म इन्धनको अत्यधिक प्रयोग, वन विनाश र बढ्दो प्रदूषणले पृथ्वीको तापक्रम वृद्धिमा योगदान गरिरहेका छन् । यसले हिमनदी, वर्षाको स्वरूप, बाढी, पहिरो, खडेरी र अन्य चरम मौसमी घटनाको जोखिम बढाइरहेको छ ।
तर वातावरण संरक्षणको बहस पनि समान मापदण्डमा हुनुपर्छ । सामान्य नागरिकलाई वातावरण संरक्षणको पाठ पढाउने, किसानलाई खेतको अवशेष व्यवस्थापन गर्न निर्देशन दिने र उद्योगलाई प्रदूषण नियन्त्रण गर्न बाध्य पार्ने हो भने ठूला औद्योगिक राष्ट्र र युद्धरत शक्तिहरूको वातावरणीय प्रभावबारे पनि उत्तिकै गम्भीर प्रश्न उठाउनुपर्छ ।
युद्धका क्रममा हुने विशाल विस्फोट, तेल तथा ग्यासको दोहन, सैन्य उद्योग र अत्यधिक जीवाश्म इन्धनको प्रयोगले वातावरणमा पार्ने प्रभावलाई बेवास्ता गरेर मात्र वातावरण संरक्षणको लक्ष्य पूरा हुन सक्दैन ।
यसको अर्थ हरेक प्राकृतिक विपत्तिको एउटै कारण जलवायु परिवर्तन हो भन्ने होइन । तर जलवायु परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो जोखिम, अनियन्त्रित पूर्वाधार निर्माण, नदी किनारको अतिक्रमण, कमजोर पूर्वसूचना प्रणाली र विपद् व्यवस्थापनको तयारीजस्ता पक्षको वैज्ञानिक अध्ययन आवश्यक छ ।
पीडितलाई दया होइन, अधिकार चाहिन्छ
भोटेकोशीको बाढीले दिएको पीडा अहिले हाम्रो सामुन्ने छ । विपत्तिमा सहयोग गर्ने हातहरू आवश्यक छन् । राहत, उद्धार र पुनःस्थापनामा राज्य, निजी क्षेत्र, नागरिक समाज र विभिन्न संघसंस्थाको भूमिका महत्वपूर्ण हुन्छ। तर राहत दिनु मात्र पर्याप्त हुँदैन। विपत्तिको जोखिम कम गर्न के तयारी गरिएको थियो ? पूर्वसूचना प्रणाली कति प्रभावकारी थियो ? जोखिमयुक्त बस्ती किन सुरक्षित स्थानमा सारिएनन्? नदी तथा जलाधार क्षेत्रको संरक्षणमा कस्तो नीति अपनाइयो ? पूर्वाधार निर्माण गर्दा विपद् जोखिमको मूल्याङ्कन गरियो कि गरिएन ? उद्धार र राहतमा समन्वय किन कमजोर भयो ? यस्ता प्रश्नको जवाफ खोजिनुपर्छ ।
विपत्तिमा ज्यान गुमाएका नागरिकका परिवारलाई केही राहत दिएर राज्यको दायित्व पूरा हुँदैन। उनीहरूलाई न्याय, पुनःस्थापना र भविष्यमा यस्तै क्षति दोहोरिन नदिने सुनिश्चितता चाहिन्छ । हामीलाई कसैले सहयोग ग¥यो भन्दैमा प्रश्न गर्न छाड्नु हुँदैन। सहयोगप्रति कृतज्ञ हुनु र जिम्मेवारी खोज्नु दुई फरक कुरा हुन् । पीडितको घाउमा मलम लगाउनु मानवीय कर्तव्य हो, तर घाउ किन लाग्यो भन्ने प्रश्न गर्नु नागरिकको अधिकार हो ।
विकासको बाटो रोकिँदैन
प्रकृतिसँग संघर्ष गर्दै मानव समाज अघि बढिरहेको छ । विकास रोकिँदैन, विज्ञान रोकिनु हुँदैन र सत्यको खोज पनि रोकिनु हुँदैन । तर विकासको अर्थ केवल ठूला भवन, सडक, पुल र आयोजना निर्माण गर्नु मात्र होइन। सुरक्षित जीवन, स्वच्छ वातावरण, उत्तरदायी शासन, वैज्ञानिक चेतना र न्यायपूर्ण समाज निर्माण गर्नु पनि विकासकै हिस्सा हो ।
भोटेकोशीको विपत्तिले हामीलाई एउटा कठोर पाठ दिएको छ– विकासका पाइला अविचलित हुनुपर्छ, तर विकासको बाटो विवेकहीन हुनु हुँदैन । अब हामीले विपत्तिलाई केवल नियतिको खेल भनेर स्वीकार गर्ने होइन, त्यसका कारण खोज्ने हो। दोषारोपणमा समय बिताउने होइन, तथ्यमा आधारित अध्ययन गर्ने हो । राहतमा मात्रै सीमित हुने होइन, पुनःस्थापना र जोखिम न्यूनीकरणको दीर्घकालीन योजना बनाउने हो । मानिस चेतनशील र विवेकशील प्राणी हो । त्यसैले हरेक विपत्तिबाट सिक्ने जिम्मेवारी पनि मानिसकै हो। प्रकृतिलाई चुनौती दिने होइन, प्रकृतिसँग सहअस्तित्व कायम गर्दै विज्ञान, विवेक र जिम्मेवारीका आधारमा अघि बढ्नु आजको आवश्यकता हो । विपत्तिले हाम्रो यात्रा रोक्न सक्दैन । बरु त्यसले हाम्रो यात्राको दिशा सच्याउनुपर्छ । विकासका पाइला अगाडि बढिरहुन्– तर ती पाइला मानव जीवन, प्रकृति र भविष्यप्रति जिम्मेवार बनुन् ।










