विकासका पाइला अविचलित हुन्छन्

सुरेशकुमार पाण्डे

मानव समाजले आज विकासका अनेकौँ खुड्किला पार गरिसकेको छ । तर विकास आफैँ हुँदैन । त्यसका लागि मानिसले निरन्तर संघर्ष, श्रम, अध्ययन, अनुसन्धान र जोखिम मोल्नुपर्छ । एउटा बालकले आमाको गर्भभित्रै आफ्नो अस्तित्व र विकासका लागि संघर्ष गरेझैँ मानव सभ्यताको विकास पनि निरन्तर संघर्षकै परिणाम हो ।

जन्म र मृत्यु प्रकृतिको अनिवार्य नियम हो । परिवर्तन पनि त्यस्तै प्राकृतिक प्रक्रिया हो । कुनै वस्तु वा घटनालाई केवल बाहिरी रूपबाट हेरेर निष्कर्षमा पुग्नु उचित हुँदैन । त्यसका सकारात्मक र नकारात्मक दुवै पक्षको अध्ययन आवश्यक हुन्छ। समाज, राजनीति, विज्ञान र प्रकृतिका घटनालाई पनि यही दृष्टिकोणबाट हेर्नुपर्छ ।

मानिसको स्वभावमा शंका र विश्वास दुवै हुन्छन् । शंका मात्रै गर्नु पनि उचित होइन, तर आवश्यक ठाउँमा प्रश्न उठाउनु र सत्य खोज्नु पनि मानिसको विवेकशीलताको परिचय हो। मानिसको विचार समयअनुसार परिवर्तन हुन सक्छ। हिजो सही ठानिएको कुरा आज गलत प्रमाणित हुन सक्छ र हिजो गलत देखिएको कुरा आज नयाँ सन्दर्भमा सही हुन सक्छ। त्यसैले व्यक्तिको मूल्याङ्कन उसको भनाइभन्दा पनि व्यवहार र कर्मबाट गर्नुपर्छ ।

जोखिमबिना विकास सम्भव छैन

कतिपय मानिस जोखिम लिनु हुँदैन भन्छन् । तर जोखिम लिन नसक्ने हो भने मानव समाज आजको अवस्थासम्म आइपुग्ने थिएन । नयाँ बाटो हिँड्ने, नयाँ कुरा सोच्ने, प्रश्न गर्ने र प्रयोग गर्ने साहसकै कारण विज्ञान र प्रविधिको विकास भएको हो । हरेक जोखिम सफल हुन्छ भन्ने छैन। कहिलेकाहीँ जोखिमले असफलता पनि दिन्छ। तर असफलताबाट सिकेर पुनः प्रयास गर्ने क्षमता नै मानिसको वास्तविक शक्ति हो । दृढ विचार, अनुशासन र आत्मविश्वासका साथ लिइएको जोखिमले सफलताको बाटो खोल्न सक्छ । मानव इतिहासमा भएका ठूला उपलब्धिहरू पछाडि यस्तै साहस, अनुसन्धान र प्रयोगको लामो यात्रा छ ।

त्यसैले अरूको सफलताप्रति ईष्र्या गर्नुको सट्टा त्यसबाट प्रेरणा लिनुपर्छ । अध्ययन गर्ने, अनुसन्धान गर्ने र नयाँ कुरा सिक्ने बानीले मात्रै समाजलाई अगाडि बढाउन सक्छ । मानिसको अर्को कमजोरी क्रोध हो। रिसले मानिसलाई क्षणिक रूपमा शक्तिशाली देखाए पनि अन्ततः विवेक कमजोर बनाउँछ । अरूको प्रगतिप्रति ईष्र्या र आक्रोश राखेर सफलता हासिल गर्न सकिँदैन । हजारौँ लडाइँ जित्नु ठूलो कुरा होइन, आफूभित्रको अहंकार, लोभ, क्रोध र कमजोरीमाथि विजय प्राप्त गर्नु अझ ठूलो उपलब्धि हो ।

सत्यको बाटो कठिन भए पनि अविचलित हुन्छ

मानव सभ्यताको यात्रामा सत्यको खोज सधैँ महत्वपूर्ण रहँदै आएको छ । सत्य स्वीकार गर्न कहिलेकाहीँ कठिन हुन्छ, तर त्यसबाट भागेर दीर्घकालीन समाधान प्राप्त हुँदैन । विज्ञानको विकास पनि यही प्रश्न गर्ने र प्रमाण खोज्ने संस्कृतिबाट सम्भव भएको हो । गौतम बुद्धका शिक्षाले पनि सत्य, विवेक, आत्मअनुशासन र करुणाको बाटो देखाउँछन् । सत्यको बाटोमा हिँड्ने मानिसलाई अनेकौँ अवरोध आउन सक्छन्, तर सत्यको खोज छाड्नु हुँदैन । मानिसले अन्धविश्वासभन्दा विवेक, भ्रमभन्दा प्रमाण र आवेगभन्दा तर्कलाई प्राथमिकता दिन सके मात्रै समाज वास्तविक अर्थमा प्रगतिशील बन्न सक्छ ।

आज विज्ञान र प्रविधिले संसारलाई अभूतपूर्व रूपमा परिवर्तन गरेको छ । रोबोटिक्स, कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि, अन्तरिक्ष अनुसन्धानदेखि स्वास्थ्य र सञ्चार क्षेत्रमा भएका उपलब्धिले मानव जीवनको परिभाषा नै बदलिरहेका छन्। कृत्रिम बुद्धिमत्ता अर्थात् एआईले मानिसले कल्पना नगरेका सम्भावनाका ढोका खोलिरहेको छ ।

यो कुनै चमत्कार वा मन्त्रको परिणाम होइन । यो वर्षौँको अध्ययन, अनुसन्धान, प्रयोग र मानवीय बुद्धिको परिणाम हो। तर विज्ञानले दिएका उपलब्धिलाई स्वीकार गर्दै गर्दा विवेकपूर्ण ढङ्गले त्यसका जोखिम र सीमाबारे पनि बहस गर्न आवश्यक छ। विज्ञानको विरोध होइन, विज्ञानको जिम्मेवार प्रयोग आजको आवश्यकता हो।

विपत्ति र हाम्रो सोच

मानिस सधैँ सुरक्षित र शान्त जीवनका लागि संघर्षरत छ । खान, लगाउन र बाँच्नका लागि श्रम गर्छ । तर यही समाजमा अरूको श्रम र पसिनामाथि आफ्नो स्वार्थ पूरा गर्न खोज्ने प्रवृत्ति पनि छ । यही असमानता, शोषण र स्वार्थले संसारका धेरै द्वन्द्वलाई जन्म दिएको इतिहास छ ।

शक्तिशाली राष्ट्रहरूले आफ्नो आर्थिक र सामरिक प्रभाव विस्तार गर्ने क्रममा कमजोर मुलुक र समुदायमाथि विभिन्न प्रकारका दबाब सिर्जना गरेका उदाहरण विश्व इतिहासमा प्रशस्त छन् । युद्ध, हतियारको होड र प्राकृतिक स्रोतको दोहनले मानव समाजलाई दीर्घकालीन जोखिमतर्फ धकेलिरहेको छ ।

यही सन्दर्भमा अहिले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीलाई पनि केवल एउटा आकस्मिक प्राकृतिक घटना भनेर टारेर पुग्दैन । बाढीले निम्त्याएको मानवीय क्षति अत्यन्त पीडादायी छ । मानिसले ज्यान गुमाएका छन्, परिवार विछोडिएका छन्, कतिपय बेपत्ता छन् । सडक, पुल, जलविद्युत् आयोजना, घरबस्ती र अन्य भौतिक संरचनामा क्षति पुगेको छ । देश शोकमा छ ।

तर यस्तो विपत्तिको कारणबारे बहस गर्दा हामी भावनामा मात्रै होइन, तथ्य र विज्ञानमा पनि उभिनुपर्छ । कसैले यसलाई सरकारको कमजोरी भन्छ, कसैले दैवी विपत्ति, कसैले पापको सजाय। तर प्रश्न उठ्छ– …दैवÚ भनेको के हो ? त्यसको वैज्ञानिक व्याख्या के हो ? विपत्तिलाई केवल भाग्य वा दैवी शक्तिसँग जोडेर हेर्दा हामीले वास्तविक कारण पहिचान गर्ने अवसर गुमाउन सक्छौँ ।

जलवायु परिवर्तनलाई बेवास्ता गर्न मिल्दैन

विश्व अहिले जलवायु परिवर्तन र वातावरणीय असन्तुलनको गम्भीर चुनौतीमा छ । औद्योगिकीकरण, जीवाश्म इन्धनको अत्यधिक प्रयोग, वन विनाश र बढ्दो प्रदूषणले पृथ्वीको तापक्रम वृद्धिमा योगदान गरिरहेका छन् । यसले हिमनदी, वर्षाको स्वरूप, बाढी, पहिरो, खडेरी र अन्य चरम मौसमी घटनाको जोखिम बढाइरहेको छ ।

तर वातावरण संरक्षणको बहस पनि समान मापदण्डमा हुनुपर्छ । सामान्य नागरिकलाई वातावरण संरक्षणको पाठ पढाउने, किसानलाई खेतको अवशेष व्यवस्थापन गर्न निर्देशन दिने र उद्योगलाई प्रदूषण नियन्त्रण गर्न बाध्य पार्ने हो भने ठूला औद्योगिक राष्ट्र र युद्धरत शक्तिहरूको वातावरणीय प्रभावबारे पनि उत्तिकै गम्भीर प्रश्न उठाउनुपर्छ ।

युद्धका क्रममा हुने विशाल विस्फोट, तेल तथा ग्यासको दोहन, सैन्य उद्योग र अत्यधिक जीवाश्म इन्धनको प्रयोगले वातावरणमा पार्ने प्रभावलाई बेवास्ता गरेर मात्र वातावरण संरक्षणको लक्ष्य पूरा हुन सक्दैन ।

यसको अर्थ हरेक प्राकृतिक विपत्तिको एउटै कारण जलवायु परिवर्तन हो भन्ने होइन । तर जलवायु परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो जोखिम, अनियन्त्रित पूर्वाधार निर्माण, नदी किनारको अतिक्रमण, कमजोर पूर्वसूचना प्रणाली र विपद् व्यवस्थापनको तयारीजस्ता पक्षको वैज्ञानिक अध्ययन आवश्यक छ ।

पीडितलाई दया होइन, अधिकार चाहिन्छ

भोटेकोशीको बाढीले दिएको पीडा अहिले हाम्रो सामुन्ने छ । विपत्तिमा सहयोग गर्ने हातहरू आवश्यक छन् । राहत, उद्धार र पुनःस्थापनामा राज्य, निजी क्षेत्र, नागरिक समाज र विभिन्न संघसंस्थाको भूमिका महत्वपूर्ण हुन्छ। तर राहत दिनु मात्र पर्याप्त हुँदैन। विपत्तिको जोखिम कम गर्न के तयारी गरिएको थियो ? पूर्वसूचना प्रणाली कति प्रभावकारी थियो ? जोखिमयुक्त बस्ती किन सुरक्षित स्थानमा सारिएनन्? नदी तथा जलाधार क्षेत्रको संरक्षणमा कस्तो नीति अपनाइयो ? पूर्वाधार निर्माण गर्दा विपद् जोखिमको मूल्याङ्कन गरियो कि गरिएन ? उद्धार र राहतमा समन्वय किन कमजोर भयो ? यस्ता प्रश्नको जवाफ खोजिनुपर्छ ।

विपत्तिमा ज्यान गुमाएका नागरिकका परिवारलाई केही राहत दिएर राज्यको दायित्व पूरा हुँदैन। उनीहरूलाई न्याय, पुनःस्थापना र भविष्यमा यस्तै क्षति दोहोरिन नदिने सुनिश्चितता चाहिन्छ । हामीलाई कसैले सहयोग ग¥यो भन्दैमा प्रश्न गर्न छाड्नु हुँदैन। सहयोगप्रति कृतज्ञ हुनु र जिम्मेवारी खोज्नु दुई फरक कुरा हुन् । पीडितको घाउमा मलम लगाउनु मानवीय कर्तव्य हो, तर घाउ किन लाग्यो भन्ने प्रश्न गर्नु नागरिकको अधिकार हो ।

विकासको बाटो रोकिँदैन

प्रकृतिसँग संघर्ष गर्दै मानव समाज अघि बढिरहेको छ । विकास रोकिँदैन, विज्ञान रोकिनु हुँदैन र सत्यको खोज पनि रोकिनु हुँदैन । तर विकासको अर्थ केवल ठूला भवन, सडक, पुल र आयोजना निर्माण गर्नु मात्र होइन। सुरक्षित जीवन, स्वच्छ वातावरण, उत्तरदायी शासन, वैज्ञानिक चेतना र न्यायपूर्ण समाज निर्माण गर्नु पनि विकासकै हिस्सा हो ।

भोटेकोशीको विपत्तिले हामीलाई एउटा कठोर पाठ दिएको छ– विकासका पाइला अविचलित हुनुपर्छ, तर विकासको बाटो विवेकहीन हुनु हुँदैन । अब हामीले विपत्तिलाई केवल नियतिको खेल भनेर स्वीकार गर्ने होइन, त्यसका कारण खोज्ने हो। दोषारोपणमा समय बिताउने होइन, तथ्यमा आधारित अध्ययन गर्ने हो । राहतमा मात्रै सीमित हुने होइन, पुनःस्थापना र जोखिम न्यूनीकरणको दीर्घकालीन योजना बनाउने हो । मानिस चेतनशील र विवेकशील प्राणी हो । त्यसैले हरेक विपत्तिबाट सिक्ने जिम्मेवारी पनि मानिसकै हो। प्रकृतिलाई चुनौती दिने होइन, प्रकृतिसँग सहअस्तित्व कायम गर्दै विज्ञान, विवेक र जिम्मेवारीका आधारमा अघि बढ्नु आजको आवश्यकता हो । विपत्तिले हाम्रो यात्रा रोक्न सक्दैन । बरु त्यसले हाम्रो यात्राको दिशा सच्याउनुपर्छ । विकासका पाइला अगाडि बढिरहुन्– तर ती पाइला मानव जीवन, प्रकृति र भविष्यप्रति जिम्मेवार बनुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker