सम्पादकीय : बेनीकोटमा नवप्रवर्तन कार्यक्रम

गाउँको विकास भन्नासाथ सडक, भवन, खानेपानी र अन्य भौतिक पूर्वाधारलाई मात्र बुझ्ने प्रवृत्ति अझै हट्न सकेको छैन । तर गाउँको वास्तविक समृद्धि त्यहाँका नागरिकको आम्दानी, रोजगारी, उत्पादन र जीवनस्तरमा आएको परिवर्तनबाट मापन हुन्छ । गाउँमा उपलब्ध स्रोत, साधन, सीप, संस्कृति र सम्भावनालाई उपयोग गरेर स्थानीयलाई नै आर्थिक गतिविधिमा जोड्न सकियो भने मात्र विकास दिगो बन्न सक्छ । यही सोचका साथ तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट भञ्ज्याङ र छापडाँडालाई उद्यमशीलतायुक्त सांस्कृतिक गाउँका रूपमा विकास गर्ने योजना अघि सारिएको छ ।

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत प्रदेश सरकार र व्यास नगरपालिकाको साझेदारीमा सञ्चालन हुने परियोजनाको कुल लागत एक करोड ५० लाख रुपैयाँ छ । यसमध्ये प्रदेश सरकारले ७५ प्रतिशत र नगरपालिकाले २५ प्रतिशत लगानी गर्नेछन् । कृषि, पर्यटन, उद्यमशीलता र सांस्कृतिक पहिचानलाई एकीकृत गर्दै गाउँको आर्थिक तथा सामाजिक अवस्था सुधार्ने परियोजनाको लक्ष्य छ । बेनीकोट क्षेत्रको सम्भावना कृषि र पर्यटन दुवैसँग जोडिएको छ । यहाँको प्राकृतिक वातावरण, मगर समुदायको संस्कृति, भुजेल समुदायको परम्परागत सीप, स्थानीय खानपान र भेषभूषा पर्यटकका लागि आकर्षण बन्न सक्छन् । यी मौलिक पक्षलाई संरक्षण गर्दै व्यवस्थित रूपमा प्रस्तुत गर्न सके गाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ । होमस्टेको स्तरीकरण, अतिथिसत्कार, संग्रहालय व्यवस्थापन, सांस्कृतिक पहिचानको संरक्षण र प्रचारप्रसारका कार्यक्रम यसका आधार हुन् ।

पर्यटन विकासको अर्थ पर्यटक भित्र्याउनु मात्र होइन, उनीहरूबाट हुने आम्दानी स्थानीय समुदायसम्म पु¥याउनु पनि हो । पर्यटकले गाउँमै बस्ने, स्थानीय परिकारको स्वाद लिने, सांस्कृतिक गतिविधिमा सहभागी हुने र स्थानीय उत्पादन खरिद गर्ने वातावरण बनाउनुपर्छ । यसो हुन सके पर्यटनबाट हुने आम्दानी होटल सञ्चालकमा मात्र सीमित नभई किसान, महिला, युवा र साना व्यवसायीसम्म पुग्न सक्छ । परियोजनाले बाँसखेती विस्तार, बाँसका हस्तकलाका सामग्री निर्माण, व्यावसायिक मौरीपालन, कालो सुँगुरपालन, ड्रागन फ्रुट खेती र रैथाने बाली संरक्षणलाई प्राथमिकता दिएको छ । यी कार्यक्रमलाई बजारको माग र स्थानीय आवश्यकतासँग जोड्न सके गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ । परम्परागत सीपलाई आधुनिक बजारसँग जोड्दा त्यसले नयाँ आर्थिक मूल्य पाउन सक्छ । त्यसका लागि उत्पादनको गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ र बजारीकरणमा पनि ध्यान दिनुपर्छ । यस परियोजनाको महत्वपूर्ण उपलब्धि महिला र युवाको आर्थिक सशक्तीकरण हुन सक्छ । गाउँमा रोजगारीका अवसर नहुँदा युवा वैदेशिक रोजगारीमा जान बाध्य छन् भने महिलाको श्रम अझै घरायसी काममा सीमित हुने गरेको छ । कृषि, पशुपालन, होमस्टे र हस्तकलाका उद्यम सञ्चालन गर्न सके उनीहरूले आफ्नै ठाउँमा आम्दानी गर्न सक्छन्। महिलाको हातमा आम्दानी पुग्दा परिवारको शिक्षा, स्वास्थ्य र दैनिक आवश्यकतामा खर्च गर्ने क्षमता बढ्छ । आर्थिक आत्मनिर्भरताले परिवार र समुदायभित्र महिलाको निर्णय गर्ने भूमिका पनि बलियो बनाउँछ ।

युवालाई स्थानीय उद्यममा जोड्न सके वैदेशिक रोजगारीप्रतिको बाध्यात्मक निर्भरता घटाउन सकिन्छ । उनीहरूको प्रविधिसम्बन्धी ज्ञान र सिर्जनशीलतालाई डिजिटल बजार, पर्यटन सेवा तथा व्यवसाय सञ्चालनमा उपयोग गर्न सकिन्छ । त्यस्तै, दलित तथा सीमान्तकृत समुदायका परम्परागत पेसाको संरक्षण र प्रवद्र्धनलाई आयआर्जनसँग जोड्नुपर्छ । विकासको प्रतिफल सबै समुदाय र वर्गसम्म पुग्नु नै सामाजिक सशक्तीकरणको आधार हो । तर बजेट विनियोजन र कार्यक्रम घोषणा हुँदैमा परियोजना सफल हुँदैन । डेढ करोड रुपैयाँको लगानीले कति उद्यम सञ्चालन भए, कति स्थानीयले रोजगारी पाए र कति परिवारको आम्दानी बढ्यो भन्ने विषय महत्वपूर्ण हुन्छ । पूर्वाधार निर्माणका नाममा उपयोग नहुने संरचना बनाउने, तालिम दिएर उद्यम सञ्चालनमा सहयोग नगर्ने र उत्पादन भएपछि बजारको व्यवस्था नगर्ने कमजोरी दोहोरिनु हुँदैन । परियोजनाको उपलब्धि खर्च विवरणमा होइन, स्थानीयको जीवनमा आएको परिवर्तनमा देखिनुपर्छ । यसका लागि परियोजनाको योजना निर्माणदेखि कार्यान्वयनसम्म स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्नुपर्छ । महिला, युवा, दलित, जनजाति र आर्थिक रूपमा पछाडि परेका परिवारलाई प्राथमिकतामा राख्दै अनुदान तथा सहयोग वितरण पारदर्शी बनाउनुपर्छ । स्थानीयले सञ्चालन गर्न सक्ने उद्यम छनोट, आवश्यक सीप विकास, बजारको सुनिश्चितता र नियमित अनुगमनमा ध्यान दिनुपर्छ । परियोजना सम्पन्न भएपछि पनि सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी स्पष्ट हुनुपर्छ ।

बेनीकोटलाई सांस्कृतिक गाउँ बनाउने नाममा भेषभूषा र नाचगान प्रदर्शन गर्नु मात्र पर्याप्त हुँदैन । स्थानीय भाषा, परम्परागत पेसा, खानपान, जीवनशैली र सामुदायिक अभ्यासको संरक्षण पनि उत्तिकै आवश्यक छ । संस्कृतिलाई पर्यटन र उद्यमसँग जोड्दा त्यसको मौलिकता जोगिनुका साथै स्थानीयले आर्थिक लाभसमेत लिन सक्नुपर्छ । बेनीकोटको यो परियोजना डेढ करोड रुपैयाँ खर्च गर्ने अर्को सरकारी कार्यक्रम मात्र बन्नु हुँदैन, गाउँको आर्थिक र सामाजिक रूपान्तरणको आधार बन्नुपर्छ । कृषि उत्पादनले बजार पाउनुपर्छ, पर्यटनले स्थानीयलाई आम्दानी दिनुपर्छ र परम्परागत सीपले नयाँ पुस्तालाई रोजगारी दिन सक्नुपर्छ । यसको सफलता कति बजेट खर्च भयो वा कति संरचना बन्यो भन्ने आधारमा होइन, कति परिवारको आम्दानी बढ्यो, कति युवा गाउँमै उद्यम गर्न सक्षम भए र कति महिला आर्थिक रूपमा आत्मनिर्भर बने भन्ने आधारमा मापन गरिनुपर्छ । गाउँको समृद्धि बाहिरबाट ल्याइने योजनाले होइन, गाउँभित्रकै सम्भावनालाई उत्पादन र उद्यममा बदल्ने क्षमताले निर्धारण गर्छ । बेनीकोटले यो अवसरलाई व्यवहारमा उतार्न सके स्थानीय स्रोत, सीप र सामूहिक प्रयासबाट गाउँमै समृद्धि सम्भव छ भन्ने उदाहरण स्थापित हुनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker