ग्रामीण पर्यटन प्रवर्द्धनका लागि होमस्टे विकास तालिम

दमौली : तनहुँको व्यास नगरपालिका–१३ को पहल तथा व्यास नगरपालिकाको आयोजनामा छापडाँडाँ–कुकुरढुङ्गे कृषक महिला समूह भवनमा ग्रामीण पर्यटन प्रवर्द्धन तथा होमस्टे विकाससम्बन्धी साताव्यापी तालिम सञ्चालन गरिएको छ । ग्रामीण पर्यटनका नयाँ सम्भावनाको खोजी र होमस्टे विकासलाई टेवा पु¥याउने उद्देश्यले तालिम सञ्चालन गरिएको वडा अध्यक्ष वसन्त बहादुर आलेले जानकारी गराए ।
तालिममा कला प्रशिक्षक अरविन्द थापाले स्वच्छ तथा परम्परागत शैलीमा स्थानीय परिकार तयार गर्ने विधि सिकाएका थिए । उनले सहभागीहरूलाई व्यवहारिक अभ्यास गराउँदै आफैँ खाना बनाउन लगाएर सहजीकरण गरेका थिए । तालिमका क्रममा स्थानीय महिलाहरूले सिस्नो पनिर, लोकल कुखुराका परिकार, मुस्ताङको कालो दाल, पुलाउ तथा विभिन्न अचारबनाउने कला सिकाईको थियो ।
सो अवसरमा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले तालिममा सिकेको सीपलाई व्यवहारमा उपयोग गरी होमस्टेमा आउने पाहुनालाई स्वागत गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष काशिराम श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष हिमाल कुमार श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष जीवन गुरुङ, वडा नं. १० का अध्यक्ष खेमराज पोख्रेल, आँपस्वरा होमस्टेका अध्यक्ष रेशम बहादुर बिक तथा वरिष्ठ पर्यटनविद् हरि सिंह गुरुङलगायतले ग्रामीण पर्यटन प्रवर्द्धनका लागि होमस्टे, स्थानीय कला संस्कृति तथा खानाका परिकारको विशेष महत्व रहने चर्चा गरेका थिए । तालिमको सहजीकरण व्यास नगरपालिकाका अधिकृत राजेन्द्र कार्कीले गरेका थिए । कार्यक्रम मार्फत स्थानीय स्तरमा पर्यटन प्रवर्द्धन र आयआर्जनका अवसर विस्तार हुने अपेक्षा गरिएको छ ।










