बन्दीपुर अस्पतालद्वारा घुम्ती स्वास्थ्य सेवा र निःशुल्क यातायात व्यवस्था

बन्दीपुर : बन्दीपुर गाउँपालिकाअन्तर्गत रहेका विभिन्न सरकारी स्वास्थ्य संस्थामा चिकित्सकीय स्वास्थ्य परीक्षण तथा परामर्श सेवा सञ्चालन गरिने भएको छ। बन्दीपुर अस्पतालले वार्षिक स्वीकृत कार्यक्रमअनुसार चैत महिनाभरि यस्तो सेवा सञ्चालन गर्ने जनाएको हो।
अस्पतालका अनुसार गाउँपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थामा विशेषज्ञसहितको टोली पुगेर स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नेछ। यससँगै सेवाग्राहीलाई सहजता प्रदान गर्न सम्बन्धित स्वास्थ्य संस्थादेखि बन्दीपुर अस्पतालसम्म निःशुल्क दुईतर्फी यातायात सेवा पनि व्यवस्थापन गरिएको छ।
सार्वजनिक गरिएको तालिकाअनुसार चैत १० गते पिप्ले आधारभूत स्वास्थ्य सेवा केन्द्र (वडा नं. १), चैत ११ गते क्याङ्लेक आधारभूत स्वास्थ्य सेवा केन्द्र (वडा नं. ५), चैत १७ गते कुसुन्डे आधारभूत स्वास्थ्य सेवा केन्द्र (वडा नं. २), चैत १८ गते स्याउखोर आधारभूत स्वास्थ्य सेवा केन्द्र (वडा नं. ३), चैत २४ गते धरमपानी स्वास्थ्य चौकी (वडा नं. ६) र चैत २५ गते साराङघाट शहरी स्वास्थ्य सेवा केन्द्र (वडा नं. ६) मा सेवा सञ्चालन गरिनेछ।
यातायात सेवा भने तोकिएको मितिपछि क्रमशः चैत १३, २० र २७ गते (शुक्रबार) सञ्चालन गरिनेछ। अस्पतालले यस अवधिमा करिब तीन दिनसम्म दुईतर्फी यातायात सेवा उपलब्ध गराउने जनाएको छ।
बन्दीपुर अस्पतालले कार्यक्रम सञ्चालनका क्रममा स्थानीय तह, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायसँग समन्वय गरी सेवा प्रभावकारी बनाइने जनाएको छ। साथै, आवश्यक परे तालिकामा परिमार्जन हुन सक्ने पनि अस्पतालले उल्लेख गरेको छ।
अस्पतालले सेवाग्राहीलाई समयमै जानकारी लिई अधिकतम लाभ लिन आग्रह गरेको छ। ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा सहज र पहुँचयोग्य बनाउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।










