बटुवालाई निःशुल्क पानी खुवाउन दमौलीमा “जेसिज धारा”

- भञ्ज्याङ समाचारदाता (दमौली)
सदरमुकाम दमौली आइपुग्ने बटुवालाई निःशुल्क र सहज रुपमा शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले जेसिज धारा निर्माण गरिउको छ । जेसिआई व्यास नगरले व्यास-३ स्थित दमौली अस्पताल जाने चोकमा धारा जडान गरेको छ । व्यास नगर जेसिजले व्यास-३ को वडा कार्यालयसँग सहकार्य गरी आकर्षक ढुङ्गे धारा निर्माण गरी शुद्ध खानेपानी वितरण शुरु गरेको छ ।
उक्त धाराको उद्घाटन गर्दै व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले बटुवालाई पानी दिने पुरानो धाराले संस्कृति ब्युँत्याएको भन्दै जेसिजले उदहारणीय काम गरेको बताए । ‘पहिले गाउँघरमा बटुवालाई बाटोमा पानी खुवाउन धारा बनाइन्थ्यो,’ उनले भने, ‘अहिले सहरमा पनि यस्तो परम्परा शुरु गर्नु प्रशंसायोग्य भएको र यसको संरक्षणमा सबैको दायित्व बोध हुनुपर्दछ ।’
जेसिआई व्यास नगरले गरेका सामाजिक क्रियाकलापको चर्चा गर्दै नगरप्रमुख न्यौपानले युवाहरुलाई सामाजिक कार्यमा सक्रिय गराउन जेसिजले भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा व्यास-३ का वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठले वडामा धेरै काम भएको भन्दै पहिलेभन्दा मुहार परिवर्तन भएको बताए ।
जेसिआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालको अध्यक्षतामा आयोजित धारा उद्घाटन समारोहमा वडा सदस्य रबिन पौडेल अस्पताल जाने तथा विभिन्न सभा समारोहमा आउनेका लागि पीउने पानीको अभाव भएको भन्दै युवाको सामाजिक संस्थाले काम गर्छु भने पछि सघाएको बताए ।
सार्वजनिक स्थलमा धेरै मानिस आउने भए पनि पानी किन्नुपर्ने भएकाले पुरानै शैलीमा धारा बनाएको जेसिजका अध्यक्ष खनालले बताए । उक्त धारा करिब तीन लाख २० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको निर्माण समिति संयोजक सुरेश पुरीले जानकारी गराए । मूलबाट आएको पानी युरो गार्डमार्फत प्रशोधन गरेर पीउने प्रवन्ध गरिएको क्लवले जनाएको छ । यसका लागि दुइ वटा बेग्लै ट्यांकीको व्यवस्था क्लबले गरेको छ ।










