‘उज्यालो घिरिङ’ अभियान अन्तिमचरणमा : गाउँमा विद्युत नहुँदा छोरालाई बुहारी पाउन समेत गाह्रो भयो : स्थानीय
- नारायण खड्का (तनहुँ)
पृथ्वीराजमार्गको करिब ७२ किलोमिटर दुरीको सडक खण्ड तनहुँमा पर्दछ । राजमार्गले छोएका कारण तनहुँलाई सुगम पहाडी जिल्लाका रुपमा पनि लिने गरिन्छ। तर, तनहुँका अधिकांश ग्रामीण क्षेत्रका बासिन्दाले अझैपनि सहज रुपमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा विद्युत जस्ता आधारभूत सेवा उपभोग गर्नबाट बञ्चित छन् ।
पक्कि सडकको पहुँच र राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा उपभोग गर्न संघर्ष गरिरहेको तनहुँको घिरिङ गाउँपालिका पनि एक हो। तनहुँको दक्षिण पश्चिाम क्षेत्रमा रहेको घिरिङ गाउँपालिकाका बासिन्दालाई विद्युत सेवा उपलब्ध गराउने लक्ष्यका साथ गाउँपालिकाले चलाएको ‘उज्यालो घिरिङ’ अभियान अहिले अन्तिम चरणमा पुगेको छ ।
अहिलेसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा उपभोग गर्नबाट बञ्चित रहेका घिरिङका बासिन्दालाई यही मंसिर महिना भित्रसम्म सबैको घरमा विद्युत लाइन जडान गर्ने गरी विद्युतीकरणका काम भइरहेको घिरिङ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर थापाले बताए ।
‘टुकी, मैनबत्ती र केहीले वैकल्पिक सौर्य उर्जाको साहारामा बस्दै आएका स्थानीयवासीको घरघरमा विद्युतीकरण गर्ने कार्यक्रम अन्तिम चरणमा पुगेको छ’, अध्यक्ष थापाले भने, ‘गत आर्थिक वर्षनै घरघरमा बत्ति बाल्ने गरी उज्यालो अभियान सञ्चालन गरिएपनि भौगोलिक बिकटताका साथै कोरोना कहरको चपेटामा पर्दा काम ढिलो भएको छ ।’
गाउँपालिकाका केही गाउँमा विद्युत लाइन जडानको काम मात्र बाँकी रहेको हुँदा यही मंसिर महिना भित्र गाउँपालिकाका सबै घरमा विद्युत लाइन जडान गर्ने तयारी गरिएको अध्यक्ष थापाले बताए ।
‘सिमाना जोडिएका छिमेकी जिल्ला स्याङजा, पाल्पा, नवलपुरका गाउँबस्तिमा बत्ति बलेको उज्यलो हेर्दै बसेका घिरिङका बासिन्दा अहिले घरघरमा विद्युतका तार, मिटर बक्स जडान गरी बत्ती समेत बाल्न पाउँदा हामीलाई खुसीको अनुभूति भइरहेको छ’, घिरिङ-१ बैडिक जीवलाल खनालले भने, ‘सौर्य बत्तिले उज्यालो दिने भएपनि जाडो मौसममा घाम नलाग्दा काम नगर्ने, मोबाईल चार्ज गर्न नपाउने, टेलिभिजन हर्ेन नमिल्ने तथा कुटानीपिसानी लगायतका अन्य काम समेत गर्न पाएकै थिएनौ ।’
‘राष्ट्रिय प्रशारण लाइनको विद्युत उपभोग गर्न पाउँदा अहिले हाम्रो दैनिकीमा धेरै सहजता भएको छ’, खनालले भने, ‘गाउँमा विद्युत सेवा नहुँदा छोराको बिहे गर्न छोरी माग्न जाँदा बत्ती पनि नभएको गाउँमा के छोरी दिनु भन्नेसम्मको वचन सुन्नु परेको थियो । अब भने यस्ता वचन सुन्न पर्दैन होला ।’
‘गाउँमा विद्युत सेवा उपलब्ध नहुँदा हामी महिला दिदी बहिनीहरुले निकै कष्ट झेल्नुपरेको थियो’, घिरिङ-१ बैंडीकी सुशिला खत्रीले भनिन्, ‘गाउँमा विद्युतिकरण भएपछि कुटानीपिसानी, काष्ठ, ग्रील तथा अन्य घरेलु उद्योगहरु समेत सञ्चालन सञ्चालन भएका छन्। हामी महिला दिदीबहिनीहरुलाई घरायसी काम तथा बालबालिकाको पठनपाठनमा समेत धेरै सहज आएको छ ।’
‘विद्युत सेवा उपलब्ध नहुँदा सञ्चारको सहज रुपमा उपभोग गर्नबाट समेत बञ्चित हुँदै आएका थियौं’, उनले भनिन्, ‘मोबाइल, तथा र्टच लाइट चार्ज गर्नका लागि छिमेकी जिल्ला स्याङ्जा, पाल्पाका गाउँबस्तिमा पुग्नुपर्ने बाध्यता थियो । अहिले त्यो झन्झटको अन्त्य हुँदै गएको छ ।’
गाउँपालिकामा विद्युतीकरण गर्नका लागि गाउँपालिकाले करिब एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, कोरोना कहरका कारण समयमै काम हुन नसकेको गाउँपालिकाका अध्यक्ष रन बहादुर राना बताउँछन् । सबै घरमा बिजुली बत्ति बाल्न ‘उज्ज्यालो घिरिङ’ अभियाननै सञ्चालन गरेको र आफु जनप्रतिनिधिका रुपमा निर्वाचित भएर आएपछि करिब एक हजार ४०० घरमा बत्ती बालिसकिएको छ । अब बाँकी घरमा पनि छिट्टै बत्ति बाल्ने गरी काम तीब्र भइरहेको अध्यक्ष रानाले बताए ।
यस्तै, गाउँपालिकाका सबै घरमा बिजुली बत्ति पुर्याउनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि करिब २० लाख रुपैयाँ बजेट विनियोजन गरेको र तनहुँ हाइड्रोले पनि विद्युतीकरणमा सहयोग गर्दै आएको छ । गाउँपालिकाको नयाँटार, गडौली, सुन्धारा, भन्टार लगायत केही गाउँबस्तीमा विद्युत लाइन विस्तारको काम भइरहेको छ ।
विद्युत् प्राधिकरण तनहुँको कार्यक्षेत्रभित्र रहेका करिब ९५ प्रतिशत क्षेत्रमा विद्युत् पहुँच पुगेको छ । तनहुँका सबै पालिकामा विद्युत् पुगेको भए पनि भित्री क्षेत्रमा छरिएर रहेका केही बस्तिमा विद्युत् सेवा पुग्न सकेको छैन ।










