ऋषिङमा वृहत् निःशुल्क स्वास्थ्य शिविर, १ हजार ५०४ जनाले लिए सेवा

ऋषिङ : तनहुँको ऋषिङ्ग गाउँपालिकाले गाउँवासीको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै फागुन ५ गतेदेखि ८ गतेसम्म वडा नं. ४ भीरकोट स्थित भीरकोट स्वास्थ्य चौकीमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । वि.पी. नेत्र प्रतिष्ठान, लोकन्थली भक्तपुरको सहकार्यमा आयोजित स्वास्थ्य शिविरमा स्थानीयले सेवा लिएका छन् ।

प्रतिष्ठानकी वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सरिता मानन्धर नेतृत्वमा आयोजित शिविरमा प्रतिष्ठानका चार जना दक्ष चिकित्सकसहित १३ जनाको मेडिकल टोली सहभागी थिए । उनीहरूले ग्रामीण क्षेत्रमा बसेका व्यक्तिहरूसम्म स्वास्थ्य सेवा पु¥याउन ठूलो योगदान पु¥याएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

उक्त शिविरमा दन्त, कान, नाक, घाँटी र आँखा सम्बन्धी विभिन्न सेवाहरू उपलब्ध गराइएको थियो । कुल १ हजार ५०४ जनाले स्वास्थ्य सेवाको लाभ लिएका छन् । विशेषगरी, आँखा शल्यक्रिया १०३ जनामा सफलतापूर्वक गरिएको छ ।

गाउँपालिकाले यस स्वास्थ्य शिविरको लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो, जुन सम्पूर्ण बजेट गाउँपालिकाबाट नै जुटाइएको अध्यक्ष श्रेष्ठले बताए । शिविरमा सहभागिता जनाउनका लागि टाढा रहेका स्थानहरूबाट सेवाग्राहीलाई सहज बनाउन चारवटा यातायातको व्यवस्था गरिएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाईले शिविरको सफल सञ्चालनमा योगदान दिने चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक र जनप्रतिनिधिहरूलाई धन्यवाद दिँदै भविष्यमा पनि यस्ता सेवा मूलक कार्यक्रमहरूको आयोजना गर्ने प्रतिवद्धता जनाएका छन् ।

यो पहलले स्थानीय समुदायको स्वास्थ्य सुधारमा योगदान पु¥याएको र भविष्यमा यस्ता कार्यक्रमहरूको आयोजना गरिनुपर्ने आवश्यकता थप महत्वपूर्ण बनेको उनले बताए ।

तस्विर : भञ्ज्याङ










