घरेलु हिंसामा परेकी बृद्धाको उपचार
रासस/काठमाडौं

घरेलु हिंसामा परेकी भानु-१ नयाँबस्तीकी ७३ बर्षीया बृद्धा मिनाकुमारी गन्धर्वको मानवअधिकार समुहको पहलमा उपचार गरिएको छ । आफ्नै छोरा विक्रम गन्धर्वले मंगलबार साँझ घरमै मरणासन्न हुने गरी कुटपिट गरेपछि इन्सेक अभियानसँग आवद्ध मानवअधिकार समुहकी सदस्य तुलसी गैरेको पहलमा बृद्धाको उपचार भएको हो ।
गैरेले नै बृद्धालाई घरबाट उद्धार गरि स्वास्थ्य चौकीसम्म पुर्याएकी थिइन् । गैरे सहितका स्थानीय बासिन्दाले बुधबार इलाका प्रहरी कार्यालय नारेश्वरटारमा गई कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै उजुरी समेत दिएका छन् । प्रहरीले आमालाई कुटपिट गर्ने छोरालाई मंगलबार साँझ नै गिरफ्तार गरेकोमा बुधबार दैनिकि हाजिरीमा रिहा गरेको छ ।
कुटपिटबाट घाइते भई घरमै रहेकी मिनाकुमारीलाई मानवअधिकार समुहकी सदस्य गैरेले उद्धार गरि स्वास्थ्य संस्थामा लगेकी थिईन् । पीडितको टाउको, ढाँड, र खुट्टमा चोट लागेको छ । भानु आधारभुत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले घाइतको उपचार गरेका छन् ।
आमालाई निर्घात कुटपिट गर्ने विक्रमलाई कारवाहीको माग गर्दै वडा नम्बर १ की वडा सदस्य मिठु गन्धर्व, मानवअधिकार समुहकी सदस्य तुलसी गैरे लगायतले इलाका प्रहरी कार्यालय नारेश्वरटारा उजुरी दिएका छन् ।
प्रहरीले भने विक्रम छारे रोगी भएको भन्दै दैनिक तारेखमा आउने गरि बुधबार रिहा गरेको छ । इलाका प्रहरी कार्यालय भानुका इन्चार्ज प्रकाश भुषालले छारे रोगी भएको कारण हिरासतमा राख्न समस्या भएकोले दैनिक तारेखमा राखिएको बताए । उनले बृद्धाको सुरक्षाको लागि नयाँ बस्तीमा रातीको समयमा निरग्रानी बढाइने बताए ।
वडा नम्बर १ की वडा सदस्य मिठु गन्धर्वले मानवअधिकार समुहकी सदस्य तुलसी गैरेले घाइतको उपचारमा निकै सहयोग गरेको र इप्रका भानुमा समेत गई अभियुक्तलाई कडा कारवाहीको माग गरेको बताईन् ।
उपचारको लागि सहयोग
यसैविच घाइते बृद्धाको थप उपचारको लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक)को तर्फबाट पाँच हजार रुपैयाँ उपलब्ध गर्राईएको छ। इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराइले बुधबार भानु आधारभुत स्वास्थ्य केन्द्रमा पुगी घाइते बृद्धालाई सो रकम उपलब्ध गराएका थिए ।










