व्यास नगरापलिकाकी उपप्रमुख दरैलाई पति वियोग

दमौली : तनहुँको व्यास नगरपालिका की उपप्रमुख इन्दिरा दरैलाई पति वियोग परेको छ । उनका पति चिजबहादुर दरैको मंगलबार ५५ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघात भएपछि उपचारका लागि पोखरास्थित चरक अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
व्यास–१ भादगाउँ निवासी स्वर्गीय दरै भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्षका साथै नेपाल दरै उत्थान समाज का केन्द्रीय वरिष्ठ उपाध्यक्ष थिए। उनी यसअघि जलदेवी माध्यमिक विद्यालयका पूर्व शिक्षकसमेत रहिसकेका थिए र विभिन्न सामाजिक संघसंस्थामार्फत सक्रिय समाजसेवामा संलग्न थिए ।
जानकारीअनुसार, उनी साखर दरै समाज सुधार समितिको तेस्रो अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी भएपछि असहज महसुस गर्दै घर फर्किएका थिए। त्यसपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि उपचारका लागि अस्पताल लगिएको थियो ।
उनको पार्थिव शरीर मंगलबार नै निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, विभिन्न राजनीतिक दलका नेता तथा सर्वसाधारणले श्रद्धाञ्जली व्यक्त गरेका थिए। त्यसपछि बुल्दीछाब्दी घाटमा अन्त्येष्टि गरिएको परिवारले जनाएको छ ।
स्वर्गीय दरैका श्रीमती इन्दिरा दरै व्यास नगरपालिकाकी उपप्रमुख हुन् भने उनका दुई छोरा रहेका छन् । उनीहरू हाल विदेशमा अध्ययन तथा रोजगारीका सिलसिलामा रहेका छन् । उनको असामयिक निधनले स्थानीय समाजमा अपूरणीय क्षति पुगेको भन्दै विभिन्न क्षेत्रबाट शोक व्यक्त गरिएको छ ।










