खण्डहर बनेको तनहुँसुरलाई पुनर्जीवन दिन कस्सिए स्थानीय र सरोकारवाला

नारायण खड्का/दमौली

बसाइसराइले उजाडिदै गएको तनहुँको ऐतिहासिक स्थल तनहुँसुरलाई पुनर्जीवन दिन अहिले स्थानीय तथा सरोकारवाला निकाय लागि परेका छन् । सेवा, सुविधाको खोजीमा तनहुँसुरका बासिन्दाहरु शहरकेन्द्रित हुँदै जाँदा अहिले यहाँका परम्परागत संरचनाहरु खण्डहर बनेका छन् ।

खण्डहर बनेको तनहुँसुरमा पर्या पर्यटन, जैविक खेती र नवीकरणीय उर्जा प्रणालीका माध्यमबाट स्थानीय समुदायको जीविकोपार्जनमा टेवा पुर्‍याउने कार्यक्रमले तनहुँसुरलाई पुनर्जीवन दिएको छ ।

नेपालकै एक महत्वपूर्ण ऐतिहासिक पृष्ठभुमि बोकेको तनहुँसुर बाइसे चौविसे राज्य पालको एक संमृद्ध र शक्तिशालि राज्य हो । समुन्द्रि सतहबाट १२४५ मिटर उचाईमा अवस्थित तनहुँसुरमा वि.सं. १६१० सम्म पाल्पा राज्य अन्तर्गत पर्ने तनहुँराज्य तत्कालिन पाल्पाली राजा मणिमुकुन्दसेन प्रथमले आफ्ना छोराहरुलाई भागबण्डा गरेको समयदेखि वि.सं. १८३९ सम्म एक स्वशासित अखण्डा राज्यको रुपमा रहेको पाइन्छ ।

तनहुँसुरको टुप्पमा तीन टाकुराहरु रहेका र जसलाई त्रितुङ्ग भनिन्छ । त्यही त्रितुङ्ग नै अप्रभंस भई तनुङ हुँदै तनहुँ नामाकरण भएको ऐतिहासिक महत्व बोकेको यो क्षेत्र अहिले उजाडिएको व्यास-११ तनहुँसुरको कालिका भगवती टोल विकास संस्थाका अध्यक्ष ज्ञानभक्त थापा बताउँछन् ।

‘आधारभूत आवश्यकताहरु पनि सहज रुपमा उपभोग गर्न नपाउँदा यहाँका बासिन्दाहरु आसपासका बजार क्षेत्र तथा बेसीमा बसाइसराइ गरेका कारण गाउँ नै सुनसान बनेको छ’, अध्यक्ष थापाले भने, ‘यहाँका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदा खण्डहरु बन्दै गएपछि अहिले विभिन्न सरोकारवाला संघ संस्था तथा स्थानीयहरु पर्यटकीय गतिविधि मार्फ तनहुँसुरलाई पुनर्जीवित गराउने अभियानमा जुटेका छौं । अहिले हाम्रो दैनिकी पनि परिवर्तन भएको छ ।’

व्यास नगरपालिकाको अगुवाईमा अन्य सरोकारवाला निकायले करिव दुइ वर्षदेखि सहभागितामुलक तनहुँसुर क्षेत्र संरक्षण कार्यक्रम सञ्चालन गरी पर्यटकीय गतिविधि मार्फत तनहुँसुरलाई पुनर्जीवित गर्ने अभियान चलाएसंगै उजाडिदै गएको तनहुँसुरमा अहिले चहलपहल बढ्न थालेको तनहुँसुर देवस्थल सामुदायिक होमस्टेका अध्यक्ष पदमबहादुर थापा बताउँछन्।

डिभिजन वन कार्यलय, पुरातत्व विभाग काठमाडौं, सम्पदा नेपाल लगायतका संघसंस्थाहरुले तनहुँसुरमा पर्या पर्यटन, जैविक खेती, नविकरणीय उर्जा प्रणालिका माध्यमबाट स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याएका छन् । यूएनडिपी/एसजिपिको आर्थिक सहयोगमा उर्जा तथा वातावरण नेपालले तनहुँसुर क्षेत्रको वनजंगल तथा जैविक विविधता, ऐतिहासिक सम्पदाको संरक्षणका साथै घरबास (होमस्टे) कार्यक्रम सञ्चालन गरेसंगै स्थानीय बासिन्दाको जीवनस्तर परिवर्तनमात्र होइन गाउँमै आम्दानीको माध्यम समेत बन्न थालेको छ ।

तनहुँसुर घुम्न आउने पर्यटकका लागि खाना र बाँस बस्न स्थानीयले देवस्थल र तनहुँसुर सामुदायिक होमस्टे गरी दुइ वटा होमस्टे पनि सञ्चालनमा ल्याएका छन् । गाउँमा होमस्टे सञ्चालन भएपछि गाउँको स्वारुप नै परिवर्तन भएको होमस्टे सञ्चालक मदन आले बताउँछन् । ‘केही वर्ष अगाडि गाउँ उजाडिन्छकी भन्ने चिन्ता लाग्थ्यो’, उनले भने, ‘अहिले भने हाम्रो गाउँमा पनि विस्तारै चहलपहल बढ्न थालेको छ । मान्छेहरु आउन थालेका छन् ।’

सेवा, सुविधा र रोजगारीको खोजीमा मदनपनि पोखरा पुगेका थिए । करिव एक दशक आगडि गाउँकै विद्यालयले बोलाएपछि उनी गाउँ फर्किएका थिए । उनी भन्छन्, ‘म आउँदाका दिन पनि गाउँ सुनसान नै थियो । एकदुइ वर्ष यता बल्ल चहलपहल बढ्न थालेको हो ।’

गाउँमा मान्छे नहुँदा खेतीयोग्य जामिन बाँझिएको छ । बारीमा झार उम्रने, ऐतिहासिक महत्व बोकेका भौतिक संरचनाहरु भत्किने अवस्थामा पुगेका छन् । यूएनडिपी/एसजिपि संस्थाको सहयोगमा उर्जा तथा वातावरण नेपालले यस क्षेत्रमा होमस्टे विकासका साथै कृषि, पशुपालन लगायतका कार्यक्रम सञ्चालन गरेसंगै गाउँ छाडेका मानिसहरु पनि पुनः र्फकन थालेका छन् ।

यस क्षेत्रका बासिन्दाले पहिले साग, काउली, तरकारी, टमाटार बजारबाट ल्याउने गर्दथे भने अहिले आफैले उत्पादन गर्न थालेका छन् । गाउँमा उत्पादित कृषि उपज बिक्री बितरण पनि गर्न थालेका छन् । ‘दुइ वर्ष अगाडि टमटार, आलु, खुर्सानी, प्याज लगायत तरकारीहरु बजारबाट ल्याउनुपर्ने बाध्यता थियो’, स्थानीय मनिसरा रानाले भनिन्, ‘अहिले तरकारी हामी आफै उत्पादन गर्र्छौ । बजारबाट नुन, तेल, मसला, चामल बाहेकका खाद्यन्न ल्याइराख्नु पर्दैन ।’

‘अहिले त हामीले प्रत्येक घरमा १० वटा माउ कुखुरा पालेका छौं र कसैले बाख्रा पनि पाल्नुभएको छ’, उनले भनिन्, ‘यी सबै हाम्रै होमस्टेमा खपत हुन्छन् कुनैपनि उत्पादित उपजहरु फाल्नुपरेको छैन ।

यो कार्यक्रमले हामीलाई फुर्सादको समयमा आमदानी गर्न मात्र सिकाएन आफ्ना समस्य सम्बन्धित निकायमा कसरी भन्ने, गाउँमा आउने पाहुनालाई कसरी स्वागत गर्ने आफ्ना गाउँका बारेमा भन्न सक्ने पनि बनाएको छ ।

मनिसरापनि बालबच्चालाई पठनपाठन र सेवा सुविधाको खोजीमा तीन वर्ष अघि दमौली झरेकी थिइन् । कोरोना कहरका कारण बजारमा महङ्गी बढेसंगै उनी गाउँ फर्किएकी हुन्् । अहिले गाउँमै श्रीमान्ले भन्दा बढि आमदानी गर्छु भन्दै खुसीले उनी भन्छिन्, ‘शहरमा कमाई भन्दा बढि खर्च हुन्थ्यो, अहिले आफ्नै घरमा इलाम गरेर श्रीमान्ले भन्दा बढि कमाई गर्छु । केही खाना मन लागे लगाउन मन लागे श्रीमान्ले कति बेला पैसा दिनुहोला भन्दै आश गर्नु परेको छैन ।’

उनीहरु जस्तै सेवा सुविधा, रोजगारी र बालबच्चालाई गुणस्तरीय शिक्षाका लागि शहर पसेकाहरु आफ्नै गाउँ फर्कन थालेका स्थानीय बताउँछन् । गाउँमै बाटो, विजुली, शिक्षा, स्वास्थ्य खानेपानी लगायतका आधारभूत सुविधा सहज बन्दै गएपछि शहर पसेकाहरु पुनः गाउँ उक्लन थालेकाले अब तनहुँसुरले पुनर्जीवन पाउने आशा जगाएको उर्जा तथा वातावरण नेपालका अध्यक्ष कृष्णचन्द्र सुवेदी बताउँछन् ।

‘यहाँका करिव १२३ घरधुरीलाई समेटेर सहभागितामुलक तनहुँसुर क्षेत्र संरक्षण कार्यक्रम अन्तरगतको परियोजना सञ्चालन गरिएसंगै अहिले उजाडिदै गएको तनहुँसुरमा चहलपहल बढ्न थालेको छ’, अध्यक्ष सुवेदीले भने, ‘ऐतिहासिक, पुरात्वविक संरचनाको संरक्षण तथा यसको महत्वको विषयमा अभिमुखिकरण, अर्गानिक तरकारी खेती सम्बन्धी आधारभूत तालिम, तनहुँसूर इको ट्रेकको सम्भाव्यता अध्ययन, खानेपानीको व्यवस्थापन, भ्यू पोइण्ट -टिकटक स्टेशन) निर्माण, कृषि तथा पर्यटन ज्ञान, होमस्टे प्रवर्द्धन, वन डढेलो रोकथाम तथा नियन्त्रण लगायतका कार्यक्रमले तनहुँसुरलाई पुनर्जीवन दिएको छ।’

सेनवंशी राजाले राज्य सञ्चालन गरेको ठाउँ तथा तनहुँसुरका पुरातात्विक सम्पदालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी अभियान सञ्चालन गरेसंगै अहिले तनहुँसुरले चर्चा बटुल्न थालेको छ । ऐतिहासिक, पुरातात्विक सम्पदाको पुनः निर्माण तथा संरक्षण, प्रवर्द्धनात्मक रुपमा प्रचार प्रसार गर्न थालिएको छ ।

सेवा, सुविधा र रोजगारीको खोजीका लागि शहर झरेकाहरु पनि गाउँ फर्कन थालेका छन् । आफ्नो पुर्ख्यौली घरहरु मर्मत सुधार गर्नुका साथै गाउँमा मान्छे नहुँदा बाँझिएका खेतीयोग्य जामिनमा पुनः खेती गर्न पनि थालिएको छ ।

यूएनडिपी/एसजिपि संस्थाको सहयोगमा उर्जा तथा वातावरण नेपालले तनहुँसुरमा होमस्टे विकासका साथै कृषि, पशुपालन लगायतका कार्यक्रम सञ्चालन गरेसंगै गाउँ छाडेका मानिसहरु पनि पुनः र्फकन थालेका छन् । बजारबाट तरकारी खरिद गरी गाउँ पुर्‍याउने स्थानीयहरु अहिले आफुले उत्पादन गरी बिक्री वितरण गर्ने भएका छन् । स्थानीयले व्यवसायिक रुपमै कुखुरा, बाख्रा, सुंगुर पाल्नुका साथै तरकारी खेती समेत गरेका छन् ।

यस्तै, खेलकुदका माध्यमबाट तनहुँसुरको विकास गर्ने लक्ष्यका साथ गत वर्षदेखि व्यास नगरपालिकाले दमौलीदेखि तनहुँसुरसम्म २२ किलोमिटर दुरीको महिलाहरु बीच हाफ म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आएको छ । ६ दशमलव ३ किलोमिटर दुरीको तनहुँसुर इको ट्रेकको नक्शांकन गरी आवश्यक पुर्वाधार तयार गरी पर्यटन प्रवर्द्धनका काम भएको पर्यटनकर्मी एवं सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङ बताउँछन् ।

पछिल्लो समय चौतारो संरक्षण गरी सडक कालोपत्र गरिदा तनहुँसुर एकाएक सामाजिक सञ्जालमा भाइरल समेत हुन पुगेको छ । तनहुँसुर आफैमा ऐतिहासिक र पर्यटकीय स्थल भएकाले आवश्यक पूर्वाधार निर्माण गर्न सके पर्यटकीय गतिविधिबाट खण्डहर बनेको तनहुँसुर पुनर्जीवित हुने आशा जगाएको अध्यक्ष गुरुङ बताउँछन् ।

त्यस्तै, तनहुँसुरमा जीर्ण अवस्थामा पुगेको खड्गकालिका मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागले गत वर्ष ५० लाख रुपैयाँ सहयोग गरेको थियो भने यस वर्ष ३५ लाख रुपैयाँ विनियोजना गरेको छ ।

स्थानीय खड्गदेवी मोटरमार्गको ९ किलोमिटर खण्ड संघीय सरकारको ५ करोड र नगरपालिकाको ५ करोड गरी १० करोड रुपैयाँको लागतमा कालोपत्रे गरिएको छ । दुइ वर्षको अवधिमा तनहुँसुरको ऐतिहासिक, प्राकृतिक, भौतिक, पुरात्वविक सम्पदा संरक्षण र यस क्षेत्रको विकासका लागि करिव ११ करोड २७ लाख रुपैयाँ खर्च भएको देखाइएको छ ।

ऐतिहासिक स्थाल तनहुँसुरबाट हिमश्रृंखला, महाभारत पर्वत श्रृंखला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थालहरु अवलोकन गर्न सकिन्छ । तनहुँसुर दरवारका अवशेष, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, तोप, साउने कुवाँ, कुँडापानी, बाइससिढी चौतारा, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैंचा, गढि, शहिद पार्क, भगवतीपानी मन्दिर लगायतका ऐतिहासिक स्थलले पर्यटकलाई आकषिर्त गर्दै आएको छ ।

दमौलीदेखि तनहुँसुरसम्मको २१ किलोमिटर दुरी १ घण्टा ५५ मिनेट १२ सेकेण्डमा पार गरी हाफ म्याराथनको उपाधी जित्न सफल कान्छीमाया कोजु । तस्विर : नारायण खड्का/भञ्ज्याङ
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker