राष्ट्रपतिद्वारा चुँदी रम्घामा भानु साहित्य उद्यानको शिलान्यास

भानु : राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका–४ चुँदी रम्घामा निर्माण हुन लागेको भानु साहित्य उद्यानको सोमबार शिलान्यास गरेका छन् ।
उक्त अवसरमा बोल्दै राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक, शैक्षिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले साहित्य, संस्कृति र पर्यटनलाई एकीकृत रूपमा अघि बढाउँदै यस क्षेत्रको समग्र विकास गर्नुपर्ने बताए।
‘चुँदी रम्घालाई भाषा र साहित्यको त्रिवेणीका रूपमा विकास गर्नुपर्छ’, राष्ट्रपति पौडेलले भने, ‘भानुभक्त आचार्यको योगदान नेपाली भाषा र साहित्यका लागि अत्यन्त महत्वपूर्ण छ । उहाँकै कारण हामी नेपाली भाषिक पहिचानमा एकीकृत भएका हौँ। त्यसैले यस क्षेत्रलाई केवल ऐतिहासिक स्थलका रूपमा मात्र नभई जीवित सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न आवश्यक छ।’
उनले भानु साहित्य उद्यान निर्माणसँगै यस क्षेत्रलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै, साहित्य उद्यानलाई राष्ट्रिय एकताको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा तनहुँ–२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपाने तथा गण्डकी प्रदेशका अर्थमन्त्री जितबहादुर शेरचनले उद्यान निर्माणले यस क्षेत्रमा साहित्यिक पर्यटनको विकासमा टेवा पुग्ने धारणा व्यक्त गरे ।
भानु नगरपालिकाले स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदनअनुसार उद्यान निर्माणका लागि करिब एक अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। चालु आर्थिक वर्षमा संघीय सहरी विकास मन्त्रालयबाट २० करोड रुपैयाँ बजेट विनियोजन भइसकेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी गराए ।
उनका अनुसार उक्त बजेटबाट शिखर कटेरीदेखि रम्घा डाँडासम्मको मोटरमार्ग स्तरोन्नति गरी कालोपत्रे सडक निर्माण गरिनेछ। साथै, ५४ फिट उचाइको आदिकवि भानुभक्त आचार्यको विशाल प्रतिमा निर्माण गरिनेछ।
हालसम्म गुरुयोजना कार्यान्वयनका लागि करिब ४०० रोपनी जग्गा प्राप्त भइसकेको छ। उद्यान निर्माणपछि यहाँ साहित्यिक संरचना, सांस्कृतिक प्रतीक, पर्यटकीय पूर्वाधार तथा अध्ययन–अनुसन्धानका सुविधाहरू विकास गरिने अपेक्षा गरिएको छ ।
नगरप्रमुख त्रिपाठीका अनुसार उद्यानभित्र भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालीन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र तथा साहित्यिक पदमार्ग निर्माण गरिनेछ ।
सिङ्गो नेपाललाई भाषाको माध्यमबाट जोड्ने आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेपछि यसलाई साहित्यिक पर्यटनको प्रमुख गन्तव्य बनाउने लक्ष्यसहित योजना अघि बढाइएको नगरपालिकाले जनाएको छ।
भानु साहित्य उद्यान निर्माणका लागि हालसम्म एक करोड ८० लाख ४१ हजार ५०० रुपैयाँ खर्च भइसकेको बताइएको छ ।










