तनहुँमा चुनावी सरगर्मी : दलहरु आकांक्षी उम्मेदवारको नामावली संकलन गर्दै

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा चुनावी सरगर्मी बढ्दै गएको छ । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा तनहुँमा चुनाव लक्षित गतिविधि र सम्भावित उम्मेदवारहरुको नामावलीको चर्चाले प्राथमिकता पाउन थालेको छ ।

नजिकिँदै गरेको निर्वाचनलाई लक्षित गरी दलहरू गाउँगाउँमा आफ्नो चुनावी कार्यक्रमलाई अघि बढाएका छन् भने निर्वाचनको तयारीमा निर्वाचन कार्यालय पनि सक्रिय बनेको छ ।

निर्वाचन कार्यालयले जिल्लामा मतदाताको अन्तिम नामावली प्रकाशित गरिसकेको छ । प्रकाशित नामावली अनुसार आसन्न निर्वाचनमा जिल्लामा २ लाख ४४ हजार ३४० जना मतदाताले भाग लिँदैछन् । तीमध्ये पुरुष १ लाख १७ हजार १३४ छन् भने १ लाख २७ हजार २०६ जना महिला मतदाता रहेका छन् ।

निर्वाचनका लागि १३६ मतदान स्थल र २९७ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

यता जिल्लाका राजनीतिक दलहरुले निर्वाचनलाई लक्षित गरी वडा तथा टोलहरूमा गरेका कार्यक्रमले चुनावी माहोल तताएको छ । चुनावलाई केन्द्रित गरी नेपाली कांग्रेस तनहुँले गत फागुन २८ गतेदेखि ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान सञ्चालन गरिरहेको र त्यसले पार्टी संगठनमा सकारात्मक ऊर्जा थपेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बताए ।

‘अभियानसँगै पार्टीभित्र उम्मेदवार छनोटका सम्बन्धमा पनि छलफल तथा आकांक्षी उम्मेदवारहरुको नामावली संकलन पनि भइरहेको छ’, उनले भने, ‘गठबन्धन दलका बीचमा निर्वाचनमा मिलेर जाने विषयमा एक चरणको प्रारम्भिक छलफल भएको र पुनः चैत्र २७ गते गठबन्धनका साथीहरु बीच छलफल गरी चुनावी तालमेलका विषयमा कार्यादल निर्माण तथा के कसरी जाने भन्ने विषयमा निर्णय लिन्छौ ।’

सभापति आलेले भने, ‘अहिले जिल्लाका १० वटै पालिका र ८५ वटै वडाका आकांक्षी उम्मेदवारहरुको नामावली संकलन भइरहेको छ । गठबन्धन गरी चुनावमा जाने तयारी पनि भइरहेको हुँदा उम्मेदवारको टुंगो भने तत्काल लाग्दैन् ।’

यस्तै, नेकपा एमालेले पनि निर्वाचनलाई लक्षित गरी वडा एवं टोल लक्षित गरी विभिन्न कार्यक्रम अघि बढाएको पार्टीका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

‘निर्वाचनलाई केन्द्रित गरी जनवर्गीय संगठनहरू परिचालन गरिएको छ, विभिन्न स्थानमा पार्टीका सम्पर्क कार्यालयहरू खोलेका छौं’, उनले भने, ‘उम्मेदवार चयन सम्बन्धमा छलफल भइरहेको छ, हामीलाई उम्मेदवार चयनमा खासै समस्या छैन ।’

नेकपा एमालेले चैत्र २५ गतेभित्र उम्मेदवारहरुलाई सिफारिस गर्ने तयारी गरेको एमाले तनहुँका सचिव राजेश्वर ढकालले बताए । ‘आकांक्षी उम्मेद्वारको नामावली संकलनको लागि प्रत्येक वडा वडामा भेला सम्मेलन सञ्चालन भइरहेको छ’, उनले भने, ‘वडाका उम्मेद्वारका निम्ति वडा कमिटीले सिफारिस गर्ने, पालिका कमिटीले राय पेश गर्ने र जिल्ला कमिटीले निर्णय गर्ने छ ।

पालिकाको सन्दर्भमा पालिका कमिटीले सिफारिस गर्ने, जिल्ला कामिटीले राय पेश गरी प्रदेश कमिटीले उम्मेद्वार चयानको निर्णय गर्ने गरी तयारी भइरहेको छ ।’

यता चैत्र २५ गते भित्र सबै वडाका आकांक्षीहरुले सिफारिस गरिसक्नुपर्ने गरी अगाडि बढेको नेकपा माओवादी (केन्द्र) तनहुँले जनाएको छ । पार्टीका अनुसार चैत्र ३० गतेभित्र पालिकामा आकांक्षीहरुले पनि सिफारिस गरिसक्नुपर्ने छ ।

सबै वडामा बैठकहरु चलिरहेका र निर्वाचन लक्षित कार्यक्रमहरु पनि चलिरहेको पार्टीका गण्डकी प्रदेश सचिव अतिन्द्रकेशरी न्यौपानेले बताए । उनले भने, ‘हाम्रो जुन यो राजनीतिक गठबन्धन छ त्यस अनुसार वडासम्म संयन्त्र गरेर भेलाहरु अगाडि बढाइएको छ ।’

निर्वाचनको मिति नजिकिएसंगै नेपाली काँग्रेसले तनहुँमा वडा तहमा उम्मेदवारी दिन चाहनेको आकांक्षा बुझनलाई धमाधम वडा सम्मेलन गरिरहेको छ । जिल्लामा सबैभन्दा धेरै व्यास नगरपालिका-११ मा काँग्रेसबाट १७ जना वडाध्यक्ष बन्ने आकांक्षा व्यक्त गरेका छन् ।

चार जना वडा सदस्यका लागि २६ जनाको आकांक्षा छ । उम्मेदवार बन्ने आकांक्षीहरुमा वर्तमान वडाध्यक्ष, पूर्व शिक्षकदेखि उद्योगपतिसम्मले वडाध्यक्ष बन्ने चाहना प्रकट गरेको बताइएको छ ।

वडाध्यक्ष बन्न चाहनेको संख्या शुक्लागण्डकी नगरपालिका-८ मा पनि बढी नै छ । काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको वडामा वडाध्यक्ष बन्नलाई एक दर्जन आकांक्षी खडा भएका छन् । वर्तमान वडाध्यक्षसँगै एक दर्जनले आकांक्षा देखाएको स्रोतले जनाएको छ । दुइ जना खुलातर्फको वडा सदस्यमा १७ जनाले आकांक्षा देखाएका छन् ।

यस्तै, म्याग्दे गाउँपालिका-४ मा पनि वडाध्यक्ष बन्नलाई एक दर्जनले पार्टीमा आकांक्षा प्रस्तुत गरेको बताइएको छ । म्याग्देको वडा नम्बर १ बाहेक सबै वडामा सम्मेलन सकेर आकांक्षीको सुची तयार पारिएको छ ।

यहाँको वडा नम्बर ७ मा १० जनाले वडाध्यक्षमा आकांक्षा देखाएका छन् । अन्य वडामा पनि कम्तीमा तीन जनादेखि एक दर्जनसम्म वडाध्यक्षको आकांक्षा देखाएका छन् ।

एकाध वडामा भने काँग्रेसले वडा तहका उम्मेदवार सर्वसम्मत टुंगो पनि लगाएको छ । शुक्लागण्डकी नगरपालिका-१२ मा वडाध्यक्ष सहित पाँचै जना उम्मेदवार सर्वसम्मत चयन भएका छन् ।

वडाध्यक्षमा क्या. गजबहादुर गुरुङ, महिला वडा सदस्यमा रुविना गुरुङ, दलित महिला सदस्यमा अनिता विक, खुलातर्फ पीताम्बर श्रेष्ठ र बुद्धसिंह गुरुङलाई उम्मेदवार बनाउने निर्णय सर्वसम्मत भएको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनाल जानकारी गराए ।

सचिव खनालका अनुसार जिल्ला कार्य समितिले सोमबारसम्म वडा सम्मेलन सकेर आकांक्षीको सिफारिस गाउँ तथा नगर समितिमा पठाउन भनिए पनि मंगलबार मात्रै सबै वडामा सम्मेलन सकिएको छ ।

यस्तै, जिल्लामा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुका पनि आकांक्षी उम्मेदवारहरुको नाम चर्चा चल्ने गरेको छ ।

नेकपा एमालेले वडा, पालिकाका आकांक्षी उम्मेदवारहरुको नामावली संकलन गरी सम्भव भएसम्म सहमतिमा नभए वडा र पालिका कमिटीमै मतदान प्रक्रियाबाट बढी मत ल्याउने दुइ जनालाई माथिल्लो कमिटीमा पेश गरी उम्मेदवार टुङ्ग्याउने तयारी गरेको छ ।

यस्तै, विशेष गरी वडाध्यक्ष तथा पालिकाका प्रमुख र उपप्रमुखको पद ताकेर उम्मेदवार दिने आकांक्षीको संख्या अधिक छ। यो दौडमा पुरुषको तुलनामा महिला कम देखिएका छन् । महिलाहरुको कम संख्यामा मात्र प्रमुख पदको दाब गरेको देखिएको छ ।

वडाध्यक्षलाई दिइने मान सम्मान र सेवा सुविधाका कारण धेरै आकांक्षीहरु खडा भएको चर्चा चल्न थालेको छ । सिंहदरबारको अधिकार गाउँमै आएको र अधिकार बढी भएकाले पनि वडाध्यक्षको आकांक्षी धेरै भएको आँकलन गर्न सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker