तनहुँ प्रहरीद्वारा पाकेटमार सहित चार जना पक्राउ

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँ प्रहरीले पाकेट मार र लागुऔषध गाँजा सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरी पाकेट मारेर भाग्दै गरेको अवस्थामा प्रहरीले दुइ जनालाई पक्राउ गरेको हो । र्सलाही जिल्ला घर बताउने ५२ वर्षका हर्कबहादुर तामाङ र मकवानपुर आमभञ्ज्याङ-१ घर भएका ४७ वर्षीय दोर्जे लामालाई प्रहरीले पक्राउ गरेको छ ।
भानु नगरपालिका-१ साजबोटे निवासी ६१ वर्षीय ओमबहादुर तिरुवाको साथमा रहेको नगद रु १६ हजार ५० चोरी गरी भाग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाद्वयविरुद्ध चोरी मुद्दा शीर्षकमा म्याद थप लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए । पछिल्लो समय जिल्ला भित्र हुने आपराधिक गतिविधिको निगरानी बढाइ अपराध न्यूनीकरणका लागि प्रहरीले सतर्कता अपनाएको उनले बताए ।
त्यस्तै लागुऔषध गाँजासहित प्रहरीले दुइ व्यक्तिलाई पक्राउ गरेको छ । उदयपुरको रौतामाई गाउँपालिका-३ बस्ने १९ वर्षीय विजय राइ र जिल्ला कास्कीको अन्नपूर्ण गाउँपालिका-१ बस्ने २१ वर्षीय आनन्द केसीलाई प्रहरीले पक्राउ गरेको हो । शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित सडकमा शंकास्पद अवस्थामा हिँडिरहेका ती दुइ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई खानतलासी लिँदा उनीहरुले बोकेको झोलामा गाँजा फेला परेको हो । उनीहरुका साथबाट एक किलो २५० ग्राम गाँजा फेला परेको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई लागुऔषध गाँजासहित पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट लागुऔषध गाँजा मुद्दा शीर्षकमा म्याद थप लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










