सेती नदी तटीय क्षेत्रमा बाढी जोखिम न्यूनीकरणका लागि सचेतना

तनहुँ जलविद्युत् आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजना अन्तर्गत सेती नदीको बाँधस्थल भन्दा तल्लो तटीय क्षेत्रका बासिन्दालाई लक्षित गरी बाढीजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ। कार्यक्रममा नदी सुरक्षा विज्ञहरूले आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजना, बाँध सुरक्षा, अस्थायी बाँधको सम्भावित प्रभाव र विपद् व्यवस्थापनका उपायहरूप्रति सहभागीहरूलाई विस्तृत जानकारी दिएका थिए ।
सहभागिहरुलाई विशेषगरी बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रमा बनाइएको अस्थायी बाँधका कारण तल्लो तटीय क्षेत्रमा पानीको प्रवाहमा हुन सक्ने परिवर्तन र त्यसबाट हुन सक्ने सम्भावित क्षतिको बारेमा जानकारी गराइएको थियो ।
सुरक्षा उपायको रूपमा पूर्वसचेतना, पूर्वसूचना प्रणाली, तथा उद्धार व्यवस्थापन योजनाबारे सहजिकरण गरिएको थियो । सहभागीहरूलाई नदीको जलस्तरमा आउने उतारचढावबारे सावधानी अपनाउन आग्रह गर्दै त्यसबारे सावधान रहनुपर्ने उपायहरू समेटिएको सन्देशमूलक डकुमेन्ट्री पनि देखाइएको थियो।
साथै, आयोजनाबाट तल्लो क्षेत्रमा हुन सक्ने जलस्तरको आकस्मिक वृद्धि र बाढीजन्य सम्भावित जोखिमबारे अग्रिम सूचना प्रदान गर्न सेती नदी तटीय क्षेत्रमा १७ स्थानमा साइरन जडान गरी सञ्चालनमा ल्याइएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रमले स्थानीय बासिन्दामा विपद्प्रतिको समझदारी बढाउनुका साथै सम्भावित जोखिमहरूबाट जोगिन पूर्वतयारी गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।










