भानुमा साउन ११ बाट वैकल्पिक विधिबाट पठनपाठन सञ्चालन हुने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको भानु नगरपालिकाको नगर शिक्षा समितिले साउन ११ गतेदेखि सबै विद्यालयहरू बैकल्पिक विधिबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने तयारी गरेको छ । कोरोना कहरका कारण बालबालिकाको शिक्षण सिकाइ प्रभावित भएको भन्दै विहीबार बसेको नगर शिक्षा समितिको बैठकले वैकल्पिक विधिको प्रयोग गरी पठनपाठनलाई निरन्तरता दिने निर्णय भएको नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी गराए । उक्त निर्णयहरू कार्यान्वयनका लागि सबैलाई सकारात्मक सहयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।
यस्तै, नगर शिक्षा समितिको बैठकले शैक्षिक उन्नयनका लागि दीर्घकालिन महत्व राख्ने भानु नगर शिक्षा योजना निर्माण समिति गठन गरेको छ । नगरप्रमुख उदयराज गौलीको अध्यक्षतामा बसेको बैठकले समिति गठन गरेको हो । दरबन्दी मिलान अर्न्तर्गतको शिक्षक व्यवस्थापनको काम सकिएको भन्दै नगरपालिकाको शिक्षा ऐन २०७७ लाई प्रभावकारी कार्यान्वयन गर्नका लागि स्थानीय शिक्षा नियमावली निर्माणका लागि मस्यौदा समिति गठन गरिएको छ ।
नगरपालिकामा गठन भएको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत शिक्षकको पेशागत सहयोगका लागि विज्ञ समूह गठन गरिएको छ । नगर भित्रका सबै सामुदायिक विद्यालयहरूमा स्थानीय शिक्षा ऐन २०७७ बमोजिम तोकिएको योग्यता र मापदण्ड अनुसारका सम्बन्धित तहका स्थायी शिक्षकहरूलाई मात्र प्रधानाध्यापक बनाउने बैठकले निर्णय गरेको छ ।
नगर क्षेत्र भित्र सञ्चालन हुने अनौपचारिक शिक्षा सम्बन्धी कार्यक्रमहरू व्यवस्थित गर्ने सम्बन्धमा नीतिगत निर्णय गरेको नगरपालिकाले नगर भित्र सञ्चालित सातवटै सामुदायिक सिकाइ केन्द्रहरूको सेवाक्षेत्र निर्धारण गरेको छ । विद्यालय समायोजन तथा मर्जिङ्का लागि स्थलगत अनुगमन टोली गठन भएको छ । यसको सिफारिसका आधारमा उक्त काम सम्पन्न हुने भानु नगर शिक्षा अधिकारी पौडेलले बताए ।










