थानीमाईलाई ६२ डोली फूल
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँको भानु नगरपालिका-७ वसन्तपुरस्थित प्रसिद्ध धार्मिक स्थल थानीमाई मन्दिरमा ६२ डोली फूल भित्रिएको छ । मंसिर महिनाको दोस्रो मंगलबार मन्दिरमा भक्तजनहरुले फूलको डोली लिएर गएका हुन् ।
तनहुँसहित लमजुङ, गोरखा, कास्की, चितवनलगायतका जिल्लाबाट आएका भक्तजनले बाजागाजासहित फूलको डोली भित्र्याउनुका साथै पाँच हजार भन्दा बढी भक्तजनहरुले पूजाअर्चना गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगरले बताए ।
विशेष गरी कात्तिक, मंसिर माघ महिनामा यहाँ भक्तजनहरु फूलको डोली चढाउन पुग्नुका साथै दर्शनका लागि भक्तजनहरु जाने गर्दछन्। कात्तिकपछि शुक्र अन्ध सकिएपछि यो मंसिर महिनाको दोश्रो मंगलबार भक्तजनको भिड लागेको अध्यक्ष मगरले बताए ।
यस्तै, मन्दिरमा सोमबार राति भक्तजनले रातभर जाग्राम बसेर बत्ती बालेको समितिले जनाएको छ । दुःखकष्ट पर्दा तथा मनोकांक्षा पुरा होस भनि भाकल गरी पुरा भएपछि भक्तजनहरुले मन्दिरमा फूलको डोली चढाउने गर्दछन् । सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रही आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औँशी बाहेकका दिनमा पूजाअर्चना गर्ने गरिन्छ ।
सडकको पहुँचले थानीमाई पुग्न सहज भएको छ । सडक खुलेपछि भक्तजनहरूको संख्या बढ्न थालेको छ । भक्तजनहरू फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ ।
समुन्द्र सतहबाट एक हजार दुइ सय मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोट लगायत हिमशृंखला अवलोकन गर्न सकिन्छ । विसं १८२५ देखि यस मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीयबासी बताउँछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा भोटिनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्तरध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना शुरु भएको जानकारहरु बताउँछन् ।










