तनहुँको आँवुखैरेनी डेंगी संक्रमणको हटस्पोट बन्दै, चार विद्यालय बन्द

नारायण खड्का

तनहुँ । तनहुँको आँवुखैरेनी गाउँपालिकाको आँवुखैरेनी बजार क्षेत्र डेंगी संक्रमणको हाटस्पोट बन्दै गएको छ । गत जेठ ३१ गते पहिलो डेंगी संक्रमित भेटिएको आँवुखैरेनीमा अहिले दैनिक ३५/४० जनासम्ममा संक्रमण देखिन थालेको छ ।
गाउँपालिकाले सञ्चालन गरेको आँवुखैरेनी अस्पतालमा मात्रै बुधबारसम्म ३५६ जनामा डेंगी संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख डीबी क्षेत्रीले बताए । उनका अनुसार आँवुखैरेनीको वडा नं. ३ क्षेत्रका बासिन्दा डेंगी संक्रमणबाट बढी प्रभावित भएका र ११७ जना अस्पतालमा भर्ना भएर उपचार गरिरहेका छन् ।
अस्पतालमा गोरखा र मुग्लिन क्षेत्रबाट समेत सर्वसाधारण उपचारका लागि आउने गरेपनि बढीमात्रमा संक्रमित आँवुखैरेनीकै रहेको प्रमुख क्षेत्रीले बताए । उनले भने, ‘डेंगी संक्रमितको संख्या दैनिक बढ्दै गएको छ, अस्पतालमा विरामीको चाप बढ्दै गएको छ । कतिपय विरामी परिक्षणको दायारमै आइपुग्नु भएको छैन भने कति उपचारका लागि अन्यत्र समेत जानु भएको होला ।’
स्वास्थ्य कार्यालय तनहुँका अनुसार गत असार १ गतेदेखि बुधबारसम्म जिल्लामा ६६३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जिल्लाको आँवुखैरेनी गाउँपालिकामा सबैभन्दा बढी डेंगी संक्रमित भेटिएका छन् । स्वास्थ्य कार्यालय तनहुँकी पब्लिक हेल्थ नर्स पुजा कुवारका अनुसार आँवुखैरेनी गाउँपालिकामा बुधबारबारसम्म ४६५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
आँवुखैरेनीका स्वास्थ्य संस्थामा आँवुखैरेनीसंगै छिमेकी जिल्ला गोरखाबाट समेत विरामीहरु उपचारका लागि आउने गरेका कारण संक्रमितको संख्या बढि देखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार मंगलबारसम्म तनहुँको शुक्लागण्डकी नगरपालिकामा १०५ जना, व्यास नगरपालिकामा ५६ जना, बन्दीपुर गाउँपालिकामा ३५ जना र भिमाद नगरपालिकाका २ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
यस्तै, पालिकामा डेंगी संक्रमितको संख्या बढ्दै गएपछि र बालबालिका समेत संक्रमित हुन थालेपछि चार वटा विद्यालय बन्द गरिएको छ। आँबुखैरेनी–३ अन्तर्गतको मस्र्याङ्गदी बाल ज्योति इङलिस बोर्डिङ स्कुल, बाल शिक्षा सदन इङलिस बोर्डिङ स्कुल,  रामशाह माध्यमिक विद्यालय र नव वुद्ध इइलिस बोर्डिङ स्कुल बन्द गर्न लगाइएको पालिकाकी शिक्षा शाखा प्रमुख निर्मला कुवँरले जानकारी गराइन ।
‘डेंगी रोगको संक्रमणका कारण विद्यार्थीको बिरामी संख्या बढ्दै गइरहेकोले यी दुईवटा विद्यालय बन्द गर्नुहुन निर्देशनानुसार अनुरोध गरिएको छ’, उनले भनिन्, ‘अन्य विद्यालयहरुले समेत विद्यार्थीहरुको बिरामीको अवस्था अनुसार बिरामी संख्या वृद्धि भएको खण्डमा विद्यालय बन्द गर्नुहुन र डेंगु रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा पूर्व तयारी तथा विशेष सतर्कता अपनाउनु हुन साथै उपचारमा समस्या भएका तथा बीमा नभएका विद्यार्थीहरुलाई आँबुखैरेनी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था समेत रहेको जानकारी गराइएको छ ।’
यस्तै, पालिकामा डेंगी संक्रमण फैलदै गएपछि गाउँपालिकाले सचेतनामुलक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए । पालिकाले डेंगु संक्रमण फैलाउने लामखुट्टे बस्नसक्ने सम्भावित ठाउँको पहिचान गरी ‘खोज र नष्ट गर’ अभियानलाई तीब्रता दिएको छ भने डेंगी प्रभावित क्षेत्रमा किटनासक औषधी छर्कने कि भन्ने विषयमा पनि छलफल भइरहेको उनले बताए ।
डेंगी संक्रमणका कारण तनहुँका एक पुरुषको मृत्यु भइसकेको छ । व्यास नगरपालिका–७ का ५० वर्षीय पुरुषको मंगलबार मृत्यु भएको बताइएको छ । मृतक व्यक्तिमा दीर्घरोगको समस्या समेत रहेको बताइएको छ। तनहुँमा गत वर्ष डेंगी संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो भने करिब ८ हजार जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

जिपी कोइराला अस्पतालमा दश शय्याको डेंगी वार्ड स्थापना

यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शय्याको डेंगी वार्ड स्थापना गरिएको छ । अस्पतालमा डेंगी संक्रमणका बिरामीको संख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । अघिल्लो वर्ष यहाँ महामारीका रूपमा डेंगी फैलिएको थियो । हालसम्म अस्पतालमा ३८५ जनामा डेंगी परीक्षण गरिएकामा ९६ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
डेंगी पुष्टि भएकामध्ये २४ जना उपचारपश्चात् घर फर्किएका छन् । त्यस्तै, दमौली अस्पतालमा पनि डेंगी परीक्षणका लागि आउने बिरामीको संख्या बढेको छ । अस्पतालका प्रमुख डा परिर्वतन बरालका अनुसार २२३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएकामा २५ जनामा संक्रमण पुष्टि भएको छ ।

सरकारी अस्पतालमा डेंगुको उपचार निःशुल्क

सरकारले डेंगी संक्रमितहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा मन्त्रालय तथा अन्तर्गतका विभाग संघीय अस्पताल, महाशाखा, केन्द्र स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखहरुसँग भएको छलफल पश्चात उक्त निर्णय गरिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार बैठकले आ–आफ्नो कार्यालयमा सतर्कता र सचेतनाका कार्यक्रमहरु संचालन गर्ने, डेंगी डेस्क स्थापना गरी फोकल पर्सन तोक्ने र सरकारी अस्पतालमा बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।
नेपालका ७३ वटा जिल्लाहरुमा २३६५ डेंगी संक्रमितहरु पुष्टी भएका छन् । जसमध्ये तनहुँमा एक ५० वर्षीया पुरुषको मृत्यु भएको छ । एक दशकको तथ्यांकलाई हेर्दा डेंगी सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ । अब डेंगीका बिरामी बढ्नसक्ने महाशाखाको अनुमान छ ।
एडिस एजेप्टाई र एडिस एलल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो । त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगीका बिरामी भेटिएका थिए । २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगी देखियो ।
२०२० मा धरानबाट फैलिएको डेंगीबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगीले १२ जनाको मृत्यु भयो । त्यसयता क्रमशः डेंगी संक्रमितको संख्या मात्रै बढेन संक्रमण अन्य जिल्लामा समेत फैलियो ।
सन् २०२२ मा आइपुग्दा डेंगी संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो ।
२०२३ मा भने कोशी प्रदेशमा डेंगी फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए ।
डेंगी लामखुट्टेको वृद्धि, विकास सबभन्दा बढी फालिएका टायरमा तथा फलाम र प्लास्टिकका ड्रमहरू हुन् । डेंगीको संक्रमण रोक्नका लागि लामखुट्टेले फूल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गर्ने र लामखुट्टेको फूल नष्ट गर्नुपर्दछ ।
ट्यांकी, ड्रम, बाटा, बाल्टिन जस्ता पानी राख्ने भाँडाहरू पनि लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्नुपर्छ । पानी जम्नसक्ने ठाउँमा नियमित सफा गर्नुपर्छ । साथै समुदायस्तरमै लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र पार्नुपर्छ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker