कुमाल जाति : इतिहास, पहिचान, संस्कृति र वर्तमान यथार्थ

देव बस्न्यात

विषय प्रवेश

नेपाल सरकारको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन अन्तर्गत सूचीकृत ६० आदिवासी जनजातिमध्ये कुमाल जाति पनि आदिमकालदेखि नै नेपालमा बसोबास गर्दै आएको एक प्राचीन जनजाति हो। दराई, बोटे, माझी जस्तै कुमाल समुदाय पनि नेपालका अल्पसंख्यक आदिवासी जनजातिमा पर्दछन् । ऐतिहासिक रूपमा सीप, संस्कृति र प्रकृतिसँग घनिष्ठ सम्बन्ध राख्दै आएको यो समुदाय सामाजिक, आर्थिक र शैक्षिक दृष्टिले आज पनि पछाडि परेको यथार्थ स्वीकार गर्नुपर्ने अवस्था छ ।

कुमाल जातिको उत्पत्तिस्थल कहाँ हो भन्ने विषयमा यकिन प्रमाण उपलब्ध छैन । तथापि दराई जातिको इतिहाससँग तुलना गर्दा हिन्दु–मुस्लिम युद्धपश्चात भारतको झारखण्ड प्रदेशअन्तर्गत पर्ने बन्देलखण्ड क्षेत्रबाट कुमाल जाति नेपाल प्रवेश गरेको अनुमान गरिन्छ। गण्डकी प्रदेशका अन्य जिल्लाको तुलनामा तनहुँ जिल्ला कुमाल समुदायको घना बसोबास रहेको क्षेत्र मानिन्छ। आज पनि कुमाल समाजमा मुखिया प्रणाली जीवितै रहेको पाइन्छ। सामाजिक निर्णय, धार्मिक कर्मकाण्ड तथा परम्परागत संस्कार गाउँकै मुखियाको प्रत्यक्ष निर्देशनमा सञ्चालन हुनु कुमाल समाजको विशिष्ट विशेषता हो ।

शारीरिक बनावट, संस्कार र समुदायगत समानता

शारीरिक बनावट, खानपान र संस्कृतिका आधारमा हेर्दा कुमाल समुदाय भित्रीमधेश तथा पहाडका बेसी भूभागमा बसोबास गर्ने दराई, बोटे, दनुवार र थारु समुदायसँग धेरै हदसम्म मिल्दोजुल्दो देखिन्छ। गहुँगोरो वर्ण, कसिलो शरीर, चेप्टे नाक र दाह्री–जुँगा न्यून हुनु कुमालहरूको सामान्य शारीरिक विशेषता हो। सामाजिक व्यवहारमा मिलनसार, सहयोगी र सामूहिक भावनामा विश्वास गर्ने समुदायका रूपमा कुमाल जाति परिचित छ ।

ऐतिहासिक बसाइँसराइका किंवदन्ती

जनश्रुतिअनुसार कुनै समय कुमाल जाति नेपालको कोशी प्रदेशमा बसोबास गर्दथ्यो। कोशी क्षेत्रमा झेंडी दराईहरूले कुमालभन्दा पनि उत्कृष्ट गुणस्तरका माटोका खपराहरू बनाउने गर्दथे। यसले आफ्नो परम्परागत पेशामा असर पर्ने भयले सुनसरी क्षेत्रका कुमालहरूले झेंडी दराईहरूलाई त्यहाँबाट खेदेको किंवदन्ती पाइन्छ। अर्को ठाउँमा पुगेपछि पनि दराईहरूले माटोको भाँडा बनाउने पेशा निरन्तरता दिने आशंकाले कुमालहरू उनीहरूको पछि–पछि लाग्दै त्रिशूली र सेती करिडोरको बाटो समातेर तनहुँ आइपुगेको कथा स्थानीय स्तरमा अझै सुनिन्छ ।

यसरी पेशागत प्रतिस्पर्धाका कारण कोशी क्षेत्रका कुमाल र दराईबीच आपसी आत्मीयता विकास हुन सकेन। बसाइँसराइको क्रममा थारु समुदायसँग निकट सम्बन्ध रहेपनि पहाडी जातिसँग वैवाहिक सम्बन्ध बढ्दै जाँदा कुमाल जातिको नश्लीय पहिचान अझै जटिल बन्दै गएको देखिन्छ। यही कारण कुमाल समुदायको धर्म र भाषामा समेत स्पष्टता नदेखिएको कतिपय विद्वानहरूको तर्क छ ।

प्रकृति पूजक समाज

तराईबाट उकालो लाग्दै पहाडका खोंच, बेसी र टार क्षेत्रमा बसोबास गर्ने कुमाल समुदायलाई नजिकबाट नियाल्दा अझै पनि झाँक्री पद्धति, प्रकृति पूजा र प्राकृत धर्मप्रतिको आस्था बलियो देखिन्छ । बाजेबज्यै पूजा, वायु पूजा, नाग पूजा, सिमेभूमि पूजा, देउराली पूजा, भीमसेन पूजा, झाँक्री पूजा, कुलदेवता पूजा लगायतका परम्पराले कुमाल समाज मूलतः प्रकृति पूजक समुदाय भएको पुष्टि गर्छ। व्यवहारमा कुमालहरू आज पनि प्राकृत धर्मका अनुयायीका रूपमा देखिन्छन् ।

नेपालमा कुमाल जातिको जनसंख्या

वि.सं. २०७८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालमा कुमाल जातिको कुल जनसंख्या १,२९,७०२ जना रहेको छ । उनीहरूको बसोबास तनहुँ, गोरखा, धादिङ, कास्की, स्याङ्जा, प्यूठान, चितवनदेखि कैलालीसम्मका भित्रीमधेश तथा पहाडी भूभागहरूमा छरिएर रहेको पाइन्छ ।

कुमाल समुदायको आफ्नै भाषा, रीतिरिवाज र परम्परा भए तापनि मातृभाषाको प्रयोग क्रमशः घट्दै गएको छ। भाषिक दृष्टिले कुमाल भाषा भारोपेली परिवारअन्तर्गत पर्ने मानिन्छ। नेपाल सरकारको तथ्याङ्क अनुसार कुमाल भाषा बोल्नेको संख्या १८,४३५ मात्र रहेको छ, जुन कुल जनसंख्याको १४.२ प्रतिशत हो। खस भाषाको बढ्दो प्रभावले कुमाल भाषालाई संकटको अवस्थामा पु¥याएको यथार्थ नकार्न सकिँदैन ।

बसोबास क्षेत्र

कुमाल समुदाय तनहुँ, गोरखा, लमजुङ, सल्यान, प्यूठान, अर्घाखाँची, धादिङ, नुवाकोट, पाल्पा, गुल्मी, बाग्लुङ र कास्की जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै आएको छ। तनहुँ जिल्लाको व्यास नगरपालिका अन्तर्गत शिशाघाट, साँगेपत्यानीटार, चिन्टुटार, कुमालटारी, कलेस्तीमा कुमाल समुदायको उल्लेखनीय उपस्थिति छ । यसैगरी पुट्टार, भन्सारटार, बलिफाँट, मान्टे हटिया, रामपुरफाँट, चुंदीफाँट, अत्रौलीटार र कालिकाटारमा पनि कुमाल बस्तीहरू भेटिन्छन् । नेपालबाहेक भारतको बिहार, उत्तर प्रदेश, बंगाल, बंगलादेश, भूटान र पाकिस्तानसम्म पनि कुमाल समुदाय फैलिएको पाइन्छ ।

कुमाल थरको व्युत्पत्ति

कुमाल थर कसरी उत्पत्ति भयो भन्ने विषयमा विभिन्न किंवदन्ती र पेशागत व्याख्या पाइन्छ। एउटा कथनअनुसार बाहुन कुमार र कुमारीबाट जन्मेका सन्तानलाई ‘कुमार’ भनियो, जुन शब्द कालान्तरमा अपभ्रंश हुँदै ‘कुमाल’ बन्यो। अर्को धार्मिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्मा (प्रजापति) ले आफ्ना छोराहरूलाई पृथ्वीमा कृषि र सीप सिकाउन पठाउँदा माटोसँग निकट सम्बन्ध राख्ने कुमाललाई ‘प्रजापति’ नाम उपहारस्वरूप प्रदान गरेपछि कुमाल र प्रजापति समानार्थी रूपमा प्रयोग हुन थालेको मान्यता छ । पेशागत दृष्टिले हेर्दा माटोको घैंटो (कुम्भ) बनाउने भएकाले कुम्भकार रु कुम्हार रु कुमाल भएको तर्क बढी वैज्ञानिक देखिन्छ। यही कारण नेवार समुदायमा कुमाललाई प्रजापति भनिन्छ भने तराई र भारततर्फ पण्डित थरका कुमाल पनि पाइन्छन् ।

कुमालका थरहरू

दराई र बोटे समुदायमा जस्तै कुमाल जातिमा पनि स्थान, पेशा र पहिचानका आधारमा अनेकौं थर प्रचलनमा छन् । गण्डकी भेग र सो भन्दा पूर्वका कुमालहरु दराइ, बोटे जस्तै मासिन्या मतवाली मनिन्छन् । प्रायजसो कुमालहरुको थर स्थान विशेष भेटिन्छ भने केही थरहरुले लाक्षणिक शब्दार्थ प्रयोग गरेको अनुभूति मिल्दछ । हालसम्म कुमाल जातिमा निम्न थरहरु भेटिएका छन् । १, मोनी ओझा कुमाल, (२) मास्के कुमाल, (३) राना कुमाल, (४) मसुको कुमाल, (५) मुरला कुमाल, (६) पाठक कुमाल, (७) ढोले कुमाल, (८) सेन कुमाल, (९) मुखिया कुमाल, (१०) बगाले कुमाल, (११) प्रजापति कुमाल, (१२) प्रधान कुमाल, (१३) पोखरेल कुमाल, (१४) पूर्वेली कुमाल, (१५) भट्टराइ कुमाल, (१६) श्रेष्ठ कुमाल (१७) अर्चले कुमाल, (१८) सापकोटा कुमाल, (१९) स्यान कुमाल, (२०) हदौली कुमाल, (२१) राजपुत कुमाल, (२२) डोटेली कुमाल, (२३) रामजी कुमाल (२४) गोफिक कुमाल, (२५) गोरसेता कुमाल, (२६) गुरुङ्गे कुमाल, (२७) बोटे कुमाल, (२८) गोतामे कुमाल, (२९) मगराते कुमाल, (३०) स्याङ्गजाली कुमाल, (३१) पर्वते कुमाल, (३२) अर्घाली कुमाल, (३३) माझकोटे कुमाल, (३४) सप्लुङ्गे कुमाल, (३५) खिसुली कुमाल, (३६) पाल्पाली कुमाल, (३७) ओग्रेली कुमाल, (३८) प्यूठानी कुमाल, (३९) पोथरे कुमाल, (४०) डो¥याउने कुमाल, (४१) बडघरे कुमाल, (४२) हर्दिया कुमाल, (४३) अडमइया कुमाल, (४४) मुसके कुमाल, (४५) नयाँ चौतारे कुमाल, (४६) राङ्ग कुमाल, (४४) खत्री कुमाल, (४८) ठिनठिने खत्री कुमाल, (४९) लाहुरे खत्री कुमाल (५०)बासेखरे कुमाल, (५१) हदौली कुमाल, (५२) वरीखोर कुमाल, (५३) चप्कोटे कुमाल, (५४) गोर्सने कुमाल, (५५) मसुको कुमाल, (५६)कइर कुमाल, (५७) दुतपाउ कुमाल आदि । पश्चिम नेपालमा क्षत्री कुमालहरु पाइन्छन् । (श्रोतः सेती दिग्दर्शन)

कुमाल जातिको खानपान

कुमाल समुदायको खानपानमा मकैको जाँड, सुँगुरको मासु, माछा र दालभात प्रमुख मानिन्छ। अतिथि सत्कार र चाडपर्वमा जाँड अनिवार्य मानिन्छ ।

मासिन्या मतवाली र ऐतिहासिक विभेद

वि.सं. १९१० मा जङ्गबहादुर राणाद्वारा जारी मुलुकी ऐनले कुमाल जातिलाई मासिन्या मतवाली वर्गमा राखेको थियो। यही वर्गीकरणका कारण कुमाल समुदायले लामो समयसम्म सामाजिक विभेद र उत्पीडन सहनुप¥यो। आज पनि कतिपय स्थानमा ‘कुमाल’ शब्दलाई हेय दृष्टिले हेरिने भएकाले केहीले थरबाट ‘कु’ हटाएर ‘माल’ मात्र लेख्ने गरेको तितो यथार्थ लेखक स्वयंले प्रत्यक्ष देखेको तथ्य हो ।

पोसाक र रहनसहन

कुमाल महिलाहरू कालो फरिया, चोलो, सेतो पछ्यौरा, पहेंलो पोते, नाकमा लाहुरी फुली, कानमा ढुंग्री र कम्मरमा काठको सानो घैंटो लगाउने गर्दछन्। पुरुषहरू भादगाउँले टोपी, दौरा, भोटो, धोती र पटुका लगाउँछन्। कामकाज वा खोलामा माछा मार्न जाँदा केबल लंगौटी लगाएर हिँड्ने परम्परा पनि कतिपय स्थानमा अझै जीवित छ ।

पेशा, उद्यमशीलता र आधुनिक परिवर्तन

कृषि कुमाल समुदायको मुख्य पेशा हो। यसका अतिरिक्त माटोका भाँडाकुँडा बनाउने परम्परागत सीप उनीहरूको पहिचान हो। घैंटो, हाँडी, सुराही, भुड्का जस्ता माटोजन्य सामग्रीसँगै डोको, नाम्लो, चाल्नो, ढिकी, हलो, जुवा जस्ता घरायसी सामग्री पनि कुमालहरूले आफैं निर्माण गर्दछन् । बदलिँदो समयसँगै व्यापार, नोकरी, मजदुरी र वैदेशिक रोजगारीतर्फ पनि कुमाल समुदाय आकर्षित भएको देखिन्छ । दमौलीका आलोक कुमाल जस्ता उदाहरणहरूले कुमाल समुदायमा उद्यमशील सम्भावना प्रष्ट देखाएका छन् ।

चाडपर्व, संस्कार र प्रकृति पूजा

कुमाल समुदायका प्रमुख पर्वहरूमा माघे संक्रान्ति र दशहरा पर्दछन्। माघे संक्रान्तिलाई नयाँ वर्षका रूपमा मनाइन्छ। जन्मदेखि मृत्युसम्मका सबै संस्कारमा जाँड अनिवार्य मानिन्छ। गर्भाधान, जन्म, छैटी, नामकरण, छेवर, विवाह र मृत्यु संस्कार आफ्नै परम्पराअनुसार सम्पन्न गरिन्छ ।

बेठ प्रथा र ऐतिहासिक श्रम शोषण

इतिहासमा तनहुँसुर दरबार र आसपासका मौलाहरूमा कुमाल समुदायले बेठ बुझाउने प्रथा भोग्नुपरेको थियो। बोका, सुँगुर, कुखुरा, दूध, दही, घिउ, चामल, तोरी, उखु, माटोका हाँडी, गाग्रा, चिलिम लगायत ३२ प्रकारका जिन्सी सामग्री करस्वरूप बुझाउनुपथ्र्यो । वि.सं. २०३५ पछि मुखिया प्रथाको अन्त्यसँगै यो शोषणकारी परम्परा अन्त्य भएको मानिन्छ ।

शिक्षा, घरजग्गा र सामाजिक अवस्था

आर्थिक विपन्नताका कारण कुमाल समुदायमा उच्च शिक्षा हासिल गर्नेको संख्या न्यून छ। धेरै बालबालिका कक्षा ७–८ पछि विद्यालय छोड्न बाध्य छन्। परम्परागत रूपमा माटो, काठ र ढुंगाका घर, खरको छाना, भान्सा, गोठ र कुमालेको चक्र घर वरपर हुने गर्दछन् । जीवन निर्वाहका लागि मेलापात र मजदुरी आज पनि मुख्य आधार बनेको छ ।

अन्त्यमा

संस्कृतिमा धनी, सीपमा दक्ष तर आर्थिक रूपमा कमजोर कुमाल समुदायको उत्थानका लागि शिक्षा, भाषा संरक्षण, सीप प्रवर्द्धन र सांस्कृतिक संरक्षणमा राज्य, प्रदेश, स्थानीय तह र समाजको साझा प्रयास अपरिहार्य छ । ह्रासोन्मुख घाटु, सोरठी र कौरा जस्ता नाच संरक्षण नगर्ने हो भने कुमाल पहिचान इतिहासमै सीमित हुने खतरा बढ्दो छ । अब कुमाल समुदायलाई सहानुभूति होइन, समान अवसर र सम्मानसहितको समावेशी नीति आवश्यक छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker