तनहुँमा योग दिवस मनाइने

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा सप्ताहव्यापी रुपमा योग दिवस मनाइने भएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा मंगलबार बसेको बैठकले सप्ताहव्यापी रुपमा योग दिवस मनाउने निर्णय गरेको हो । बैठकले माघ १ गते दमौलीमा योग प्रवचन सहित प्रशिक्षण गरिने भएको छ । माघ २ र ३ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र पतञ्जली, ४ र ५ गते योग विज्ञान, ६ गते ओम शान्ति र ७ गते जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले दिवसको कार्यक्रम संयोजन गर्ने भएका छन् ।
योग दिवसलाई भव्य बनाउन विभिन्न संघसंस्था तथा सरकारी कार्यालयलाई निमन्त्रणा गर्ने निर्णय बैठकले गरेको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत राममणि मिश्रले जानकारी गराएका छन् ।










