आँबुखैरेनी र व्यासबाट लागुऔषध सहित दुई युवा पक्राउ

तनहुँको आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिकाबाट बिहीबार लागुऔषध सहित दुई जना युवा पक्राउ परेका छन् । मुग्लिनबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ना ६ ख २५४९ नम्बरको बस चेकजाँच गर्दा बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–३ का २१ वर्षीय अनिश विक पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीले अनिशको साथबाट डाइजेपाम २०, नुफिन २० र फेनरागम २० थान बरामद गरेको छ । निज विरुद्ध बिहीबार अदालतबाट १० दिनको म्याद थप गरिएको छ ।
यस्तै व्यास–४ भोर्लेटारचोकबाट व्यास–१० बोक्सीगैरा बस्ने १९ वर्षीय चन्द्रबहादुर कामी गाँजा सहित पक्राउ परेका छन् । कामीले पछाडी बोकेको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा १ किलो ९ सय ग्राम लागु औषध गाँजा फेला पारी बरामद भएको र निज विरुद्ध तनहुँ जिल्ला अदालतबाट दिन ७ दिनको म्याद थप अनुमती लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।










